• १६ असार २०८१, आइतबार

निर्वाचनमा लाभ, हानिको बहस

blog

निर्वाचनमा मतदातालाई प्रभाव पार्न उम्मेदवारले जे कुरा  बोलेका हुन्छन्, त्यसको सार्वजनिक सत्यताको परीक्षण जनताले गरिरहेका हुन्छन् । प्लेटोकालीन युनानी राज्यव्यवस्थादेखि नै मानिसमा सत्य जान्ने जिज्ञासा प्रबल रूपमा थियो । आफ्नो अडानमा अटल भई बस्दा शुकरातले हेमलक विषपान लिन तयार भए तर वचन फेर्न तयार भएनन् । मानिसको विकास राज्यबाट बाहिर रहेर सम्भव नहुने भएकोले नै दलहरूले मानवोचित गुणहरूको विकासका लागि प्रतिस्पर्धाको राजनीति गरिरहेको यथार्थ हो ।

दलको विकल्प दलबाहेक पनि हालै नेपालमा स्थानीय तहको निर्वाचनमा मतदाताले जनतासँग गरेको वाचा कसको सत्य रहेछ भनी कसी लगाउँदा दलको ट्याग नलाएका धरान, काठमाडौँ र धनगढीका पालिका प्रमुखलाई स्वतन्त्रको रूपमा विजयी बनाउनुमा उम्मेदवारले जनतासंँग बोलेको सत्य वचनलाई जनताको आवाजमा घात गर्दैनन् सत्य र निष्ठापूर्वक पूरा गर्छन् भन्ने ठानिरहेका छन् । जनताले फैसला गर्दा दूधको दूध र पानीको पानी छुट्याइ सत्य निष्ठापूर्वक निर्णय गर्न सके भने नेपाललाई कसैले पनि सतिले सरापेको देश भनेर गुनासो गरिरहन नपर्ने देखिन्छ । ३२९ पालिकाको नेतृत्वमा नेपाली कांग्रेसले मतदाताको विश्वास जित्न सफल भयो । यो विजयसँगै माओवादी नेता प्रचण्डलाई कांग्रेस अहङ्कारी बन्ला भन्ने चिन्ताले सताइसकेको छ । प्रभावशाली दलहरू कहिल्यै आफूलाई कमजोर देखिएको सहन गर्न सक्दैनन् । खेलको नियमभित्र रहेर हरेकलाई विजय बन्ने चाहना हुनु स्वाभाविक हो तर रिङबाहिर शक्ति प्रदर्शन देखियो भने त्यो खेल होइन झेल हो ।

माओवादी नेता प्रचण्डको अभिव्यक्ति तत्काल चुनावी परिणामको प्रतिक्रिया पनि हुन सक्छ । आफ्ना कार्यकर्ताहरूलाई आगामी चुनावतर्फ सतर्क हुन सङ्केत गरिएको हुन सक्दछ । होइन भने यी कुरा सर्वदलीय बैठकमा नउठने तर आआफ्नो पार्टीपङ्क्तिमा मात्र देखिनुलाई वाम लोकतान्त्रिक गठबन्धन अझै अगाडि लैजान विकल्प सोचिएको छैन भन्ने पुष्टि हुन्छ । लागत र नाफा हेर्नेमध्येका एकीकृत समाजवादीले पाँचदलीय गठबन्धनबाट आफूलाई फाइदा नभएको बताउँदै आए पनि वाम लोकतान्त्रिक दलका नेताहरू यो गठबन्धनको विकल्प छैन भन्न पुगेका छन् । यही कारण बजेट सेसनको बीचमा सरकारलाई अल्पमतमा पार्ने हिसाबले मन्त्रिमण्डलमा ल्याउन खोजिएको परिवर्तनलाई रोकियो । १२१ पालिकामा जितेको माओवादीलाई आगामी प्रतिनिधि सभातर्फ लक्षित गरेर भइरहेको वाम लोकतान्त्रिक गठबन्धनको उत्तिकै आवश्यकता बनेको छ । 

गठबन्धन नगर्दा पार्टीले घाटा व्यहोर्नु परेको सङ्केत लोसपाका अध्यक्ष महन्थ ठाकुरले दिएका छन् । आगामी संसदीय निर्वाचनमा यो पार्टीले आफ्नो विचार मिल्ने दलहरूसँग गठबन्धन गर्ने सङ्केत देखाएकोले अबका दिनमा नेपालको राजनीति पूरै ध्रुवीकृत हुने सङ्केत प्रष्ट छ । तर तत्काललाई अहिलेको परिस्थितिमा नयाँ ध्रुवीकरण बनिहाल्ने स्थिति देखिँदैन तर यता केही समयमा जसपा र एकीकृत समाजवादीमा देखिएको आन्तरिक राजनीतिक टकरावले अर्को मधेशवादी दल लोसपालाई सरकारमा ल्याउन वाम गठबन्धन लागिरहेको छ । यो गठबन्धन निर्वाचन केन्द्रित भएकोले आगामी कात्तिक मङ्सिरसम्मको संसदीय निर्वाचनलाई आधार मानेर गरिने भएको छ । यसले आगामी संसदीय दलको निर्वाचनसम्म राजनीतिले ध्रुवीकरणको बाटो समात्ने र पार्टीहरूमा अहिले देखिएको संरचनामा व्यापक परिवर्तन नआउला भन्न सकिन्न । 

वामपन्थी एकताको आवाज नेपथ्यमा विस्तारै उठ्दै आएको र पाँच पार्टीको वाम लोकतान्त्रिक गठबन्धनको सरकारले स्थानीय तहको निर्वाचन देशैभर एकै पटक शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न जसरी यो गठबन्धन स्थानीय तहमा सफल भयो त्यसलाई आगामी संसदीय र प्रदेश निर्वाचनसम्म लैजान खोजिएको छ । 

निर्वाचन परिणामलाई लिएर कसैले पनि संशय गर्न नसकेकोले यो गठबन्धनप्रति आगामी संसदीय निर्वाचनमा ऐक्यबद्ध हुन अरू साना दल आकर्षण हुन सकेमा राजनीतिले स्थिरता लिन सक्ने देखिन्छ । यही स्थितिमा दलहरू आउने संसदीय चुनावको सामना गर्न केही वामपन्थी र लोकतन्त्रवादी सत्ता गठबन्धनमा जोड्न खोज्नुलाई कुनै नौलो मानिन्न । यो वाम लोकतान्त्रिक गठबन्धन अबका दिनमा पहिलेको स्थितिमा देखिने छैनन् । झन् बलियो र शक्तिशाली बन्दै जाने देखिनेछ ।

स्थानीय तहको निर्वाचनमा नेकाले जसरी राजनीतिको मूल जरोमा टिक्ने अवसर पायो त्यो सजिलै प्राप्त भएको होइन । जनतालाई अग्र मोर्चामा राखिसँगै लानुपर्नेे आवश्यकता संसदीयभन्दा पर प्रदेश निर्वाचनसम्म देखियो । कांग्रेस सभापति देउवाले आफ्ना विरोधीहरू कसैलाई पनि पार्टीभित्र कारबाहीको डण्डा चलाउनुभएन । गठबन्धनको विरोधमा देखिएको असहमतिका स्वरलाई समेत स्वतन्त्र विचार राख्ने अवसर दिनुभयो । जबकी केपी शर्मा ओलीको भत्तिगान नगर्नेहरूलाई एमालेमा कारबाहीको डण्डा बर्सियो । सहमति र सहकार्यबाट मात्र निकास निक्लन सक्दछ भन्ने गठबन्धनको ठम्याइ छ ।

आफ्नै दलभित्रको अन्तरकलहले हरेक पार्टी चर्चामा त आए तर तिनले जनआन्दोलन अघिको छवि बनाउन भने सकेका छैनन् । ठूला नेताले निर्णय सुनाउने र कार्यकर्ताहरूले ताली पड्काउने परम्पराले गर्दा पद्धतीय अन्तरविरोध हरेक दलभित्र चलिरहेको छ । सत्यको मार्गमा लाग्ने भन्दा मेकियाभेली शैलीको छलकपटको राजनीति अबको २१औँ शताब्दीको नेपालमा दोहो¥याउन खोजियो भने जनता पटक पटक झुक्किइ रहलान् भन्न सकिँदैन । हालका दिनमा मतदाताहरू कमिटेड बन्न छोडेका छन् । 

कुनै पनि दलले मेरो यो क्षेत्रमा यति मत आउँछ भनेर गणित नदेखे हुन्छ । स्वतन्त्र मतदाताहरूको भावनालाई सम्बोधन नगरेसम्म अबका दिनमा ठूला दलहरूले कुनै परिणाम हात लाउन नसक्ने देखिन्छ । स्थानीय तहको निर्वाचनमा काठमाडाँै, धरान र धनगढीको मेयर पदमा स्वतन्त्र उम्मेदवारले पाएको सफलताले लोकतन्त्रको भाष्यमा विस्तारै दलहरू आफ्नो गतिविधिमाथि पुनरवलोकन गर्नुुपर्ने अवस्थामा पुगेका छन् । लोकतन्त्रको सुन्दर पक्ष हो आवधिक निर्वाचन हो तर निर्वाचनको परिणामलाई लिएर यो दल र उ दलले बखेडा गरेको स्थानीय तहको निर्वाचनमा छिटपुटबाहेक देखिएन । यो एउटा सुन्दर पक्ष हो ।

यसले गर्दा अब विस्तारै नेपालमा राजनीतिक मूल्य र मान्यताको संस्कार विकास हुन थालेको छ । कमिटेड अर्थात् कुनै दलप्रति प्रतिबद्ध मतदाताहरू फ्रि भोटर्स अर्थात् स्वतन्त्र मतदाताको रूपमा आकर्षित हुनु लोकतन्त्रको सुन्दर पक्ष हो । लोकतन्त्रको पक्षमा केही प्रचारमुखी र क्षणिक लोकप्रियताको शिखरमा लागेका नेताले उच्च नैतिक स्तर देखाउन खोज्दैछन् । हार नै हुन्न जसरी पनि जित्नुपर्छ भन्ने मनसाय बोकेर बसेका दलहरूले अब फरक तरिकाले सोच्नुपर्छ । चुनावको नाममा असमान राजनीतिक विचारधारा दर्शन र कार्यक्रम भएकाहरूसँग गठजोड गर्न पुग्दा कहिलेकाहीँ दुर्घटना हुन सक्नेतर्फ पनि सचेत हुनु आवश्यक देखिन्छ ।

राजनीतिमा विकृति रहेसम्म अन्य पक्ष सुधार हुन चाहेर पनि सक्दैन भन्ने कुरा सबैले मनन गर्न सक्नुपर्दछ । आफ्नै दलभित्र मिलेर जान नसके सत्ता प्राप्तिपछि पनि फेरी वैरभाव उत्पन्न हुन्छ । फेरी यो समय अर्को दलको उन्नतिमा रमाउने प्रतिपक्ष छैन । खेदो मात्र होइन संसद् नै चल्न नदिएर गतिरोधको अवस्थामा मुलुक ठप्प पार्दिन सक्ने सशक्त प्रतिपक्ष रहेको छ । विरोधका लागि विरोध गरिरहने प्रवृत्तिकै कारण जनता दलहरूलाई सत्यको मार्गमा लाग्न आह्वान गर्दैछन् । उनीहरूलाई थाहा छ लोकतन्त्रको विकल्प छैन । 

लोकतन्त्रको विकल्प भनेको उन्नत र परिस्कृत लोकतन्त्र हो । नेपालको लोकतन्त्र परिपक्व अवस्थामा बढ्दै गएको वर्तमान अवस्थामा राजनीति चिन्ताजनक छैन तर चुनौतीपूर्ण छ । सत्य जान्ने जिज्ञासा मतदातासंँग निरन्तर रहन्छ दलहरूले पनि गठबन्धनको नाममा गरेका कार्यहरू जनतालाई केन्द्रबिन्दु बनेको छ कि सत्ताको केन्द्रमा छ हेर्नु पर्दछ । त्यसैले दलहरूले आफूलाई सत्ता केन्द्रितभन्दा मानवोचित गुणहरूमा पनि लगाउन सक्नुपर्दछ । किनकी यो समय जनताले परिवर्तन खोजिरहेको छ दलहरूले जनताको यो भावनालाई बुझेर अगाडि बढ्न सक्नुपर्दछ । 

Author

डा.पुरुषोत्तम मरहठ्ठा