नेपालको राष्ट्रिय झन्डा विश्वमा अनुपम छ । अरू देशका अथवा सङ्घ संस्थाका जस्ता चारपाटे होइन, सिम्रिक रङको भुइँ र गाढा निलो रङको किनाराभित्र माथि र तल रहेका त्रिभुजमा सेतो रङका क्रमशः सोह्रमध्ये आठ कला देखिने शुक्लपक्षको अर्धचन्द्र र बाह्रै कोणयुक्त सूर्य रहेको उज्यालो झन्डा देख्ने जो कोहीको मन लोभ्याउँछ । अनि त सयौँ देशका झन्डाहरू फहराएको लहरमा पनि हाम्रो आँखा नेपालकै झन्डामा टक्क अडिन्छ ।
संवैधानिक झन्डाको रूपमा २०१९ सालमा प्रवेश पाए पनि यस झन्डाका ‘रि–डिजाइनर’ शङ्करनाथ रिमालको मतमा छ–सात हजार वर्ष र प्राध्यापक जगमान गुरुङको मतमा कम्तीमा मानदेवको पालादेखि प्रचलनमा रहेको १६०० वर्षाधिक पुरानो नेपाली झन्डा हाल प्रचलनमा रहेकामध्ये विश्वकै जेठो हुन सक्छ । नेपाली जाति र देशको प्रतिनिधित्व गर्ने यस्तो ऐतिहासिक झन्डाप्रति हाम्रो गर्व, सान र अपनत्व हुनु स्वाभाविकै हो । दुई विशाल छिमेकीका बिचमा अप्ठ्यारो भूराजनीतिक परिवेशको सामना गर्दै देशलाई अक्षुण्ण सार्वभौम र स्वतन्त्र राख्न हाम्रा पुर्खाले सामना गर्न परेका ज्ञातअज्ञात युद्ध, वार्ताकौशल र त्यागको कल्पनासम्म गर्दा पनि हामी गौरवान्वित महसुस गर्छौं । नेपाली जातिले भोगेको आरोहअवरोह र तय गरेको ऐतिहासिक पदचापको प्रतीक राष्ट्रिय झन्डाप्रति हाम्रो सम्मान र विश्वास अटल हुन्छ ।
राष्ट्रिय झन्डा त्यस देशसँग जोडिएका सबै नागरिकको साझा ध्वजापताका हो । यस्तो ध्वजापताका देशको स्वाथ्र्य प्रतिनिधित्व गर्न, इज्जत देखाउन, अरूबाट आफूलाई भिन्न रूपमा चित्रण गर्न र बाह्य शक्तिसँग प्रतिस्पर्धा पर्दा आत्मशक्ति वृद्धिको लागि प्रयोग गरिन्छ । अहिले जस्तो सञ्चार जगत्को राम्रो विकास नभइसकेको प्राचीनकालदेखि नै आफ्ना शक्तिलाई एकत्रित गर्न सजिलो बनाउने उद्देश्यले राष्ट्रिय झन्डा प्रयोग गरिन्थे । समयक्रममा पानीजहाज तथा व्यापारिक डुङ्गामा पनि त्यस्ता झन्डाले प्रवेश पाए । देशका बिचका युद्धमा राष्ट्रिय झन्डा र खास गरी सैनिक झन्डाको व्यापक प्रयोग भएका छन् । तोकिएका ठाउँलाई सैनिक क्षेत्र हो भन्ने जानकारी आमनागरिकलाई दिन मुख्यतः सैनिक झन्डा प्रयोग गरिन्छ । जमिन र पानी जस्ता विवादित क्षेत्रमा आफ्नो दाबी देखाउन पनि देशले ती ठाउँमा राष्ट्रिय झन्डा फहराउने गर्छन् । विदेशीलाई त्यस्तो ठाउँमा प्रवेश गरेमा सैनिक कारबाही हुने चेतावनी दिनका लागि त्यहाँ तत्काल प्रभुत्व कायम राख्न सफल पक्षले आफ्नो देशको राष्ट्रिय झन्डाको साथै सैनिक झन्डासमेत फहराउने चलन छ ।
राष्ट्रिय झन्डाले सधैँभरि आफ्नो देशको स्वामित्व दाबी नगर्न सक्छ । कहिलेकाहीँ देशविदेशमा रहेका कानुनले रोक नलगाएका हिमचुचुरा, अन्टार्टिकालगायत उत्तरी तथा दक्षिणी ध्रुवीय क्षेत्र, चीनको ग्रेटवाल, मिश्रको पिरामिड जस्ता मानव निर्मित विशाल संरचना र सांस्कृतिक सम्पदाहरूमा त्यहाँ पुगेका यात्रीले आफ्नो देशको राष्ट्रिय झन्डा अस्थायी रूपमा फहराउने गर्छन् । आफ्नो शानको रूपमा लिँदै अन्तरिक्ष यात्रीहरूले चन्द्रमा र मङ्गल ग्रह जस्ता ठाउँमा आफ्नो देशका झन्डा फहराउँछन् ।
कतिपय देशले आफ्ना ठुला ठुला परियोजनामा, विमानमा, पानीजहाजमा, संरचना, सेवा र उत्पादनमा राष्ट्रिय झन्डाको सङ्केत राख्ने गर्छन् । कानुनले नरोक्ने हदसम्म कतिपय उद्योग र व्यक्तिले राष्ट्रिय झन्डालाई आफ्नो सांस्कृतिक गर्वका रूपमा उपयोग गर्छन् । नेपालमा जोडी खुकुरीमाथि राष्ट्रिय झन्डा राखिएको भादगाउँले टोपी लगाउने चलन छ । कुनै व्यक्तिले देशलाई ठुलो योगदान दिएको लागेमा मृत्युपछि निजको शवमाथि राष्ट्रिय झन्डा ओढाउने गरिन्छ । कुनै पनि देशको राष्ट्रिय झन्डा अपमान हुने गरी प्रयोग गर्न पाइँदैन ।
कहिले कहिले, कहाँ कहाँ र कसरी कसरी राष्ट्रिय झन्डा प्रयोग गर्नैपर्ने वा गर्नै नहुने भनेर तोकिएको अवस्थाबाहेक अन्य परिस्थितिमा राष्ट्रिय झन्डाको प्रयोग सम्बन्धित देशको प्रचलन र संस्कृतिद्वारा निर्देशित हुन्छ । नियम कानुनले तोकेको अवस्थाबाहेक नेपालको हकमा सामूहिक हितमा हुने गरी र व्यक्तिगत फाइदा उठाउने मनसाय नराखी े राष्ट्रिय झन्डा प्रयोगलाई उपयुक्त सम्झिन सकिने देखिन्छ । आर्थिक फाइदा सम्बन्धित कम्पनी वा व्यक्तिलाई हुने भए पनि देशवासीबिचको सामन्जस्यतामा खलल नपुर्याउने गरी आर्थिक विकास, प्रविधि र ख्यातिको हिसाबले देशको इज्जत बढ्ने खालका इतिहास रचना गर्ने उद्योग व्यवसाय, सेवा, आविष्कार आदिमा हुने राष्ट्रिय झन्डा प्रयोगलाई नेपाली समाजले स्वीकार गरेको पाइन्छ । घरेलु प्रतिस्पर्धामा राष्ट्रिय झन्डामार्फत आफ्नो दुनो सोझ्याउने प्रयासलाई नेपालीले मान्यता दिएको देखिँदैन ।
थप नियमन र आचारसंहिता आवश्यक
राष्ट्रिय झन्डा र राष्ट्रिय गानको प्रयोगसम्बन्धी कार्यविधि २०६९ र त्यसपछिको पहिलो संशोधन २०७६ को दफा ११ ले खास खास अवस्थामा राष्ट्रिय झन्डाको प्रयोगमा निषेध लगाएको छ । झन्डाको अपमान हुने किसिमले कुनै कार्य गर्न वा गराउन र व्यापारिक प्रयोजनका लागि विज्ञापनको उद्देश्यले राष्ट्रिय झन्डाको दुरुपयोग गर्न निषेध गरिएको छ । आफ्नो व्यापार वृद्धि गर्ने उद्देश्यले कुनै कम्पनी वा व्यक्ति राष्ट्रिय झन्डाको ओत खोज्छ भने त्यसबाट कालान्तरमा राष्ट्रिय झन्डाको गरिमामा आँच आउन सक्छ । त्यस्तै घरेलु समूहबिच हुने प्रतिस्पर्धामा आफ्नो प्रचारका लागि कुनै व्यक्ति वा समूहले राष्ट्रिय झन्डाको सहारा लिन्छ त्यसबाट पनि राष्ट्रिय झन्डा अनावश्यक विवादमा पर्न सक्छ । आफू जस्तै देशभित्रका कुनै व्यक्ति वा समूहसितको प्रतिस्पर्धामा विजय हात पार्न राष्ट्रिय झन्डाको सहाराले सहानुभूति खोज्नु देशवासीमा रहेको राष्ट्रप्रेमी भावनामाथि खेल्नु हो । यस्तो खेलले प्रतिस्पर्धीप्रतिको रिस उसले बोकेको झन्डामाथि समेत पोखिन सक्ने सम्भावनाको ढोका खोल्छ ।
कुनै उम्मेदवार देशप्रतिको आफ्नो अटल आस्था र समर्पण भाव व्यक्त गर्न चाहन्छ भने ऊ राष्ट्रिय पोसाकमा सजिन सक्छ, स्तरीय राष्ट्रिय भाषा बोल्न सक्छ । सबै देशवासीप्रति शिष्ट व्यवहार गर्न सक्छ र निर्वाचनको क्रममा आफ्नै देशको उत्पादन प्रयोग गरेर जनताको अगाडि रोल मोडेल प्रस्तुत गर्न सक्छ । सोझा नेपालीको मत तान्ने उद्देश्यले राष्ट्रिय झन्डालाई दोसल्लाको रूपमा ओढेर, रक्सी र मासु भोजमा राष्ट्रिय गान घन्काएर, राष्ट्रिय जनावर र पन्छीलाई चुनाव चिह्न बनाएर देखाइने राष्ट्रियता असली राष्ट्रियता नहुन पनि सक्छ । एउटा दुईटा निर्वाचनमा यस्ता प्रदर्शनीबाट मतदाता झुक्किन सक्लान् तर समय बित्दै जाँदा त्यस्ता प्रदर्शनी निष्प्रभावी त हुन्छन् नै राष्ट्रियताका प्रतीकप्रति समेत देशवासीमा नकारात्मक भावना उब्जिन सक्छ ।
विगतका निर्वाचनमा देखिएका प्रवृत्तिबाट पाठ सिक्दै सरकार, निर्वाचन आयोग र सम्पूर्ण सम्बन्धित निकायले आउँदा निर्वाचनमा राष्ट्रिय झन्डाको दुरुपयोग नहोस् भन्ने उद्देश्यले विद्यमान नियम कानुनलाई थप स्पष्ट पार्न आवश्यक छ । निर्वाचनमा सहभागी हुने सबै राजनीतिक दल तथा उम्मेदवारले आफ्नो दलीय अथवा व्यक्तिगत स्वार्थभन्दा देशको हितलाई माथि राखी यस्ता नियम र आचारसंहिता निर्माण तथा कार्यान्वयन गर्न आआफ्नो ठाउँबाट सक्दो सहयोगी भूमिका खेल्न पर्छ । जसले जिते पनि देशभित्रकै दल र उम्मेदवारले जित्ने चुनावमा जनताको राष्ट्रिय भावनामाथि खेल्न उचित हुँदैन ।
आशा गरौँ हामी सबैले विवेक पु¥याउने छौँ, आगामी चुनावमा राष्ट्रिय झन्डालगायतका राष्ट्रिय एकताका प्रतीकलाई चुनाव प्रचारको माध्यम बनाउने छैनौँ र तिनलाई एकताको प्रतीक तथा राष्ट्रिय सानकै रूपमा रहन दिने छौँ ।