काठमाडौँ, असोज २३ गते । नवपुस्ता (जेनजी) समूहले जेनजी विद्रोहले उठाएका मुद्दा र स्थापित गरेका मानक, मर्म र मनोविज्ञानविरुद्ध एकपछि अर्को प्रहार भइरहेको भन्दै गुनासो गरेको छ ।
‘जेनजी इन्डिजिनियस् : युथ फर सोसियल जस्टिस् एन्ड इन्क्लुसिभ डेमोक्रेसी’ का संयोजक सङ्ग्रामसिंह किरातीले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा नेपाली ‘जेनजी’ चेतनाले गरेको ऐतिहासिक विद्रोह भएको बताउँदै परिवर्तनको मुद्दामा प्रहार नगर्न आग्रह गर्नुभएको छ । जेनजी आन्दोलनको एक महिना पुगेको तथा सहादत प्राप्त परिवारका सदस्यलाई सरकारी लगायत विविध क्षेत्रमा संस्थागत संरक्षण, सुविधा र सहयोगका लागि माग गर्नुभएको छ ।
उनीहरुले संविधान र व्यवस्था, नेपालको स्वतन्त्रता, सार्वभौमिकता, राष्ट्रिय एकता, स्वाभिमानविरुद्ध बोल्नेहरु असली जेनजी प्रतिनिधि नभएका समेत बताउनुभएको छ । जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘‘हाम्रो विद्रोहले उठाएका एजेन्डा र स्थापित गरेका मानक, मर्म र मनोविज्ञानविरुद्ध एकपछि अर्को प्रहार भइरहेको छ। ‘जेनजी’ विद्रोहमा लागेका युवाहरूलाई आतङ्ककारी भनेर अपमानित गर्ने हर्कत भइरहेको छ । यसले हामीलाई स्तब्ध बनाएको छ ।”
भदौ २३ र २४ गतेको विद्रोह रोमञ्चकारी र चुनौतीपूर्ण रहेको बताउँदै उक्त समूहले विद्रोहले उठान गरेका मुद्दाहरुको सम्बोधन कसरी हुन्छ भनेर सचेततापूर्वक नियालिरहेको उल्लेख गर्नुभएको छ ।