• १७ वैशाख २०८२, बुधबार

देशप्रेम झल्केको अन्तरपुस्ताको कथा

blog

काठमाडौँ, वैशाख १७ गते । नेपाली भाषीको मनोभाव बोल्ने कथा हो ‘भूठान’ । अमेरिका बस्ने नेपाली भाषीको दैनिकीलाई सचित्र उतारेको छ, चलचित्रले । चलचित्रका मुख्य कलाकार विष्णुकुमार केसी (हरिवंश आचार्य) को सेरोफेरोमा कथा अघि बढ्छ । भूठानमा रहँदा त्यहाँको राष्ट्रिय फुटबल टिममा रहेर देशलाई जिताउन उनले खेलेको खेल, भूठानको माटोमा उनले बिताएको बाल्यकाल, गाउँबस्तीका बाटो र सिमलको रुख उनको आँखा वरिपरि घुमिरहन्छ । 

एक लाखभन्दा बढी नेपाली भाषीलाई भूठानबाट लेखेटिएपछि उनीहरू अमेरिका, युरोपका विभिन्न देशमा बस्दै आएका छन् । सुविधासम्पन्न सहर, चिल्ला सडक तर त्यही सम्पन्न सहरमा बस्ने नेपाली भाषीको मनमा भएको उकुसमुकुसको कथा हो ‘भूठान’ । आफ्नो थातथलो छाड्नु पर्दाको छटपटी, निराशा र वेदनालाई चलचित्रमा विष्णुकुमारले आफ्नो अभिनयमार्फत पोखेका छन् । विडम्बना भनौँ या उनको भाग्य १० औँ पटक भिसा आवेदन दिँदा पनि उनी आफ्नो जन्मथलो पुग्न पाउँदैनन् । यही कारणले गर्दा उनीभित्र हरसमय छटपटाहट भइरहन्छ । चलचित्रले विष्णुमार्फत भुटानी शरणार्थीको कथा बोल्छ, जो आफ्नै जिन्दगी र अस्तित्वको लडाइँमा हरबखत तत्पर भएर लडिरहेका हुन्छन् । 

हिन्दु सनातन परिवारमा जन्म लिए पनि मृत्यु संस्कार आफूले भने अनुकूल नहुनु चलचित्रभित्र देखाइएको एउटा प्रमुख पाटो हो । भूठान नितान्त आफ्नो अस्तित्व खोजिरहेको मान्छेको कथा हो । जो अस्तित्वसँगै आफ्नो भाषा, माटो, रीतिरिवाजसँग जोडिएको छ । कथा भुटानीको भए पनि ‘भूठान’ नेपालीको व्यथा बोकेको चलचित्र हो । चलचित्रले आप्रवासी नेपालीको पनि प्रतिनिधित्व गर्छ । चलचित्रमा भुटानीले बोल्दा उच्चारण हुने त्यो ‘टोन’ सुनिन्छ जसले भुटानीको मन मस्तिष्कले खोजिरहेको देश हो भन्ने बुझाउँछ । 

चलचित्रभित्र हरिवंशले गर्नुभएको अभिनय दर्शकको सोचबाहिर छ । हास्य क्षेत्रमा स्थापित कलाकार हरिवंशलाई गम्भीर पात्रमा उभ्याउने कोसिस गर्नुभएका निर्देशक विनोद पौडेलको काम तारिफयोग्य छ । चलचित्रमा हलिउड अभिनेता ब्रुस डर्नले पनि अभिनय गर्नुभएको छ । ८९ वर्षका ब्रुस दुई पटक ओस्कार छनोटमा परेको खारिएका कलाकार हुनुहुन्छ । चलचित्रमा छायाङ्कन र प्रोडक्सन डिजाइन अब्बल छ । कलाकारको भूमिकालाई हेर्ने हो भने हरिवंशको अभिनय जीवन्त छ । पास्टरको भूमिकामा देखिनुभएका विमल सुवेदी र गुनगुनको भूमिकामा देखिनुभएकी अदिति प्याकुरेलको अभिनयले पनि दर्शकको ध्यान तान्छ । विष्णुकुमारलाई धर्म परिवर्तन गर्न लगाउनमा पास्टर सुवेदीले ठुलै भूमिका खेलेका छन् भने नातिनी अदितिले आफ्नो हजुरबुवाको साथ उनी नमरुन्चेल दिई रहन्छिन् । जसलाई मार्मिक भावले प्रस्तुत गरिएको छ । अन्य कलाकार जोयस पाण्डे, दयाहाङ राई, पूजा चन्द, रिचा घिमिरे र अनुराधा मजुमदारको अभिनय ठिकै मान्नु पर्छ ।  

चलचित्रमा मुख्य विषय मुख्य पात्रको मृत्युपश्चात् गाड्ने कि जलाउने भन्ने संवेदनशील विषयको द्वन्द्वको कथा हो । चलचित्रका मुख्य पात्र पहिले हिन्दु भए पनि पछि क्रिस्चियन धर्ममा रूपान्तरण हुन्छन् र उनको मृत्यु हुन्छ । तत्पश्चात् उनका दुई सन्तान कर्मा (जोयस पाण्डे), निरपाङ (दयाहाङ राई) र दुई श्रीमती लक्ष्मी (पूजा चन्द), भाभो (अनुराधा मजुमदार) हरूको हिन्दु परम्परा अनुसार जलाउने कि गाड्ने भन्ने कथा वरिपरि चलचित्र घुम्छ । विवाद नटुङ्गिएपछि अन्त्यमा दर्शकले आफैँ व्याख्या गर्न मिल्ने गरी कथा सकाइएको छ । निर्देशक पौडेलको सबैभन्दा ठुलो कमजोरी यहाँ देखिन्छ । उनले दर्शकले चलचित्रलाई व्याख्या गर्न सक्छन् कि सक्दैनन् भन्ने बिर्सेर चलचित्रको अन्त्य अपूरोमै छाडेका हुन कि भन्ने पनि भान हुन्छ । 

सधैँ रोनाधोना र हास्य विधाका चलचित्र मन पराउने दर्शकले कथामा खासै ध्यान नदिए पनि हरिवंशको भूमिका हेर्न पनि एक पटक हलसम्म पुग्छन् । यदि निर्देशक पौडेलले चलचित्रको क्लाइमेक्सलाई सबैले बुझ्ने तरिकाले देखाउनुभएको भए चलचित्र अझै सशक्त बन्थ्यो कि ?