• ८ मंसिर २०८१, शनिबार

बिग्रँदो वातावरणप्रति चिन्ता

blog

काठमाडौँ, जेठ २२ गते । भौतिक पूर्वाधारको विकास मात्र गर्ने महत्त्वाकाङ्क्षी अभियान सञ्चालन हुँदा नेपालमा दिनप्रतिदिन वातावरण बिग्रँदै गएकोप्रति विज्ञहरूले चिन्ता व्यक्त गर्नुभएको छ । वातावरणीय पक्षलाई आर्थिक, सामाजिक विकासको एक अभिन्न अङ्ग भएको स्वीकार गर्न नसक्दा नेपालमा दिगो विकास हुन नसकेको उहाँहरूको धारणा छ । जलवायु तथा वातावरणविद् राजु पण्डित क्षेत्रीका अनुसार पृथ्वीको प्राकृतिक वातावरण बिगारेर गरिएको विकासले मानव जातिलाई दीर्घकालसम्म फाइदा नदिनेतर्फ सबै सचेत हुनुपर्ने देखिएको छ । 

उहाँले भन्नुुभयो, “वातावरणमैत्री विकास नभएको कुरा दिगो  हुँदैन भन्ने पाठ विकसित देशले अनुभव गरेर अहिले पश्चाताप गरिरहेका छन् । नेपाल त भर्खर विकासको चरणमा छ । हामीले पछि पश्चाताप गर्नुुभन्दा अहिले नै वातावरण र विकासको विषयमा सचेत हुनु बुद्धिमानी हुनेछ ।”

मानव जीवनका लागि चाहिने स्वच्छ हावा र शुद्ध पानी प्रकृतिका उपहार हुन् । यिनलाई मास्ने काम गर्दा प्रकृतिमा भन्दा मानव जातिमा बढी सङ्कट आइपर्ने भएकाले वातावरणीय पक्षलाई केन्द्रमा राखेर विकासका गतिविधि सञ्चालन गर्नुपर्ने वन तथा वातावरणविद् पशुपतिनाथ कोइरालाले बताउनुभयो । 

उहाँले भन्नुुभयो, “हामी अहिले सङ्घीयतामा गएका छौँ । वातावरण स्वच्छताको विषयमा तीन तहका सरकारको संयुक्त रूपमा काम गर्नुपर्ने हो तर त्यसो हुन सकेको छैन । यसको असर भोलिका दिनमा पर्छ ।”

सहरी प्रदूषण हरेक पल बढ्दै गइरहेको बेला सुविधासम्पन्न ठाउँका मानिस प्रदूषित वातावरणमा कष्टकर जीवन जिउन बाध्य भएको बताउँदै उहाँले भन्नुुभयो, “स्वच्छ वातावरणको विषय कुनै जाति, वर्ग, पेसाका लागि होइन । गरिबदेखि धनी र किसानदेखि मुलुकको शासन चलाउने कार्यकारी प्रमुखसँग जोडिएको विषय हो । प्रदूषित वातावरणले सबैलाई हानि नोक्सानी गर्छ ।”

स्वच्छ वातावरण निर्माणका लागि हाल नेपालमा नीतिगत कुरामा कमी नभएको उहाँको तर्क छ तर विद्यमान नीति प्रभावकारी रूपमा कार्यान्वयन हुन नसक्दा वातावरणीय मुद्दा झन् गम्भीर र जटिल बन्दै गएको उहाँले बताउनुुभयो । 

वन तथा वातावरण मन्त्रालयका सहसचिव डा. बुुद्धिसागर पौडेलको भनाइमा पनि वातावरण मुद्दा सबैको साझा र चिन्ताको विषय बन्नुपर्नेमा त्यसो हुन सकेको छैन ।  उहाँले भन्नुभयो, “वातावरण स्वच्छताको विषय बहुसरोकारवाला विषय हो । यसमा सरकारले मात्र एक्लै केही गर्न सक्दैन । वायु प्रदूषण, ध्वनि प्रदूषण, नदी प्रदूषण नियन्त्रण गर्न निजी क्षेत्रको पनि उत्तिकै सहयोग आवश्यक हुन्छ ।” 

डा. पौडेलका अनुसार नेपालमा सवारीसाधनबाट हुने प्रदूषणको मात्रा बढी देखिएकोले विद्युतीय सवारीसाधन प्रयोगमा प्रवद्र्धन गर्न सके सहरी क्षेत्रको वायु प्रदूषण कम हुने विभिन्न अध्ययनले देखाएको छ ।