• २७ वैशाख २०८१, बिहिबार

निर्वाचन खर्च विवरण बुझाउन आग्रह

blog

कमल शर्मा

दैलेख, जेठ २१ गते । गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह सदस्य निर्वाचन २०७९ मा भाग लिएका उम्मेदवारलाई निर्वाचनमा भएको खर्चको विबरण बुझाउन आग्रह गरिएको छ । जिल्ला निर्वाचन कार्यालयले सूचना जारी गर्दै सबै दलका उम्मेदवारलाई खर्च बिवरण पेश गर्न आग्रह गरेको हो । 

उम्मेदवारले निर्वाचन मत परिणाम सम्पन्न भएको ३० दिनभित्र निर्वाचनमा भएको खर्च विवरण बुझाउनु पर्ने प्रावधान रहेकाले सोहीअनुसार खर्च विवरण बुझाउन आग्रह गरिएको जिल्ला निर्वाचन कार्यालय दैलेखले जनाएको छ । 

जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी मनमाया काउचाले ३० दिनभित्र निर्वाचनमा भएको खर्चको बिवरण बुझाउनु पर्ने कानुनी प्रावधानअनुसार नै विवरण माग गरिएको जानकारी दिनुभयो । तोकिएको समयभित्र नबुझाएमा निर्वाचन आयोगले कानुनअनुसार कार्वाही गर्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो “स्थानीय तहको निर्वाचनमा प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्य पदका सबै उम्मेदवारले निर्वाचन आयोगले तोकेको ढाँचामा खर्चको बिल भरपाई पेश गर्नुपर्ने हुन्छ ।” उम्मेदवारले आफू स्वयम् उपस्थित भएर अथवा प्रतिनिधिमार्फत जिल्ला निर्वाचन कार्यालयमा खर्च विवरण बुझाउन सकिने निर्वाचन कार्यालयले जनाएको छ । 

दैलेखका ११ स्थानीय तहका १ हजार ७६५ जना उम्मेदवार प्रतिष्पर्धामा थिए । जिल्लाका एक हजार ७६५ उम्मेदवारमध्ये अहिलेसम्म ७ जनाले मात्र खर्चको विवरण पेश गरेको सो कार्यालयले जनाएको छ ।