• २१ असार २०८१, शुक्रबार

रोजगार मेलाको तयारीमा सरकार

blog

सन्तोष सुवेदी

कास्की, जेठ २० गते । गण्डकी प्रदेश सरकारले दक्ष युवालाई लक्षित गरी रोजगार मेलाको तयारी गरेको छ । शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्रालयले सो मेलाको आयोजना गर्न लागेको हो । 

सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले दक्ष, योग्य र शिक्षित युवालाई स्वदेशमै रोजगारी दिने योजनाअनुरूप मेला आयोजना गर्न लागेको बताउनुभयो । “यो त सुरुवात मात्रै हो, प्रदेश सरकारले श्रम नीति ल्याएको छ । सोही नीतिलाई टेकेर असङ्गठित मजदुरलाई सङ्गठित गर्ने, राज्यको दायरामा ल्याउने र उनीहरूको सीप तथा समस्याको पहिचान गरी काम मिलाउने योजना छ,” उहाँले भन्नुभयो । 

उहाँले प्रदेश सरकार प्रदेशभित्र व्यवसाय सञ्चालन गर्न प्रोत्साहन गर्ने तथा व्यवसाय सञ्चालनका लागि चाहिने कामदार उत्पादनमा लागिपरेको बताउनुभयो । यस विषयमा सरोकारवालासँग छलफल गरी मेलालाई अर्थपूर्ण बनाउन गृहकार्य भइरहेको जानकारी पनि उहाँले दिनुभयो । “हाम्रा उद्यमी व्यसायीले आफूलाई चाहिने जनशक्ति भेट्नुभएको छैन, जागिर खोज्नेले उद्योगधन्दामा पहुँच पाएका छैनन् । दुवै थरीको भेट एकै ठाउँमा हुनेगरी रोजगार मेला आयोजना हँुदै छ,” मन्त्री श्रेष्ठले  थप्नुभयो । 

मन्त्रीको श्रेष्ठको संयोजकत्वमा स्टेरिङ कमिटी र सचिवको संयोजकत्वमा कार्यान्वयन समिति बनेको छ । रोजगार मेलाले दुई सयभन्दा बढीलाई रोजगार दिने अपेक्षा लिइएको छ । करिब एक हजारभन्दा बढीले मेला अवलोकन गर्ने र दुई सयले रोजगारको अवसर प्राप्त गर्ने अपेक्षा गरिएको छ । मन्त्रालयका सचिव देवेन्द्र लामिछाने रोजगार मेला सीप र क्षमता भएकाका लागि रोजगारीको सुनौलो अवसर र जानकारी प्राप्त गर्ने माध्यम बन्ने विश्वास व्यक्त गर्नुभयो । 

व्यवसायी विश्वप्रसाद कर्माचार्यले पहिलो पटक हुन लागेको रोजगार मेला स्वागतयोग्य छ भन्नुभयो । बजारमा भएको दक्ष जनशक्ति र दक्षता भएर पनि बेरोजगार युवाबीच अन्तक्र्रिया गर्न मेला सहयोगी हुने विश्वास उहाँको छ ।