रमेश पौडेल
सिचुवान(छेन्दु), चैत ७ गते । पोखरा र चीनको सिचुवान प्रान्तको छेन्दु सहरका पर्यटन व्यवसायीबीच व्यावसायिक साझेदारी बिटुबी (बिजनेस टु बिजनेस) एवम् सेल्स मिसन सम्पन्न भएको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो व्यावसायिक चाटर्ड उडानमार्फत यही मंगलबार छेन्दु पुगेका पर्यटन व्यवसायी र छेन्दुका पर्यटन व्यवसायीबीच बिटुबी एवम् सेल्स मिसन कार्यक्रमको आयोजना नेपाल पर्यटन बोर्डले गरेको हो ।
पोखरा पर्यटन परिषद् र छेन्दुस्थित महावाणिज्यदूतावाससँगको सहकार्यमा गरिएको कार्यक्रममा दुबै देशका पर्यटन व्यवसायीले सिचुवान एयरलायन्सको उडान नियमित हुनुपर्नेमा जोड दिँदै पर्यटकीय साझेदारीका लागि आफूहरु तयार भएको बताएका थिए । छेन्दुका पर्यटन व्यवसायीले पोखराको प्राकृतिक सुन्दरताको प्रशंसा व्यक्त गर्दै चिनियाँ पर्यटक लक्षित पूर्वाधार आदिमा जोड दिन आग्रह गरेका थिए ।
कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नेपालको पर्यटन राजधानी पोखराबाट मित्र राष्ट्र चीनको छेन्दुुसम्म पहिलो व्यावसायिक चाटर्ड उडान सुरु भएकोमा आफूहरू उत्साहित बनेको बताउनु भयो । उहाँले उडान नियमित भएमा दुवै पक्षलाई हित हुने भन्दै चिनियाँ पक्षसँग पाँच लाखका हाराहारीमा पर्यटक नेपाल पठाउन आग्रहसमेत गर्नुभयो । नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध सदियौँदेखि हिमाल जत्तिकै उच्च रहेको बताउँदै उहाँले भृकुटी, स्रङचङ्ग गम्पो र अरनिकोको योगदानलाई स्मरणसमेत गर्नुभयो । नेपाल र चीनबीचको मैत्री सम्बन्ध कायम भएको ७० औं वर्षगाँठ मनाइरहँदा महानगर प्रमुख आचार्यले पोखरा महानगरपालिकाले यस वर्षलाई पोखरा भ्रमण वर्ष मनाइरहँदा दुई देशीय यस सम्बन्धले भ्रमण वर्ष २०२५ अझ विशेष बन्ने बताउनुभयो ।
सिचुवान प्रदेश विश्वप्रसिद्ध चिया, जाइन्ट पाण्डा र बुद्धको ऐतिहासिक धरोहरहरूले विश्वभरका पर्यटकमाझ आकर्षणको केन्द्र बनेको बताउँदै प्रमुख आचार्यले नेपाली पर्यटकहरू यहाँको समृद्ध संस्कृति र प्राकृतिक सुन्दरता अनुभव गर्न लालयित भएको बताउनुभयो । यस उडानले नेपाली पर्यटक सिचुवान आउन र त्यहाँका आकर्षणहरू अनुभव गर्न सहज र सजिलो बनाउने उहाँको भनाइ थियो । प्रकृति, संस्कृति र साहसिक पर्यटनको गन्तव्य पोखरामा पोखरा भ्रमण वर्षका अवसरमा विभिन्न पर्यटकीय प्याकेजमा विशेष छुटका योजना पनि सार्वजनिक गरिएको उहाँले बताउनुभयो ।
त्यस्तै, सिचुवान प्रान्तको परराष्ट्र विभागका उपमहानिर्देशक लिउ मिनले सिचुवान एयरलायन्सले सुरु गरेको व्यावसायिक चाटर्ड उडान नियमित हुने विश्वास व्यक्त गर्नुभयो । दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई आगामी दिनमा थप प्रगाढ बनाउनका लागि उडानको निरन्तरतासँगै दुई देशका पर्यटन व्यवसायीबीचको साझेदारी महत्वपूर्ण बन्ने उहाँको भनाइ थियो ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पोखरा छेन्दु उडानले दुई देशबीचको पर्यटकीय साझेदारीलाई बढाउने बताउनुभयो । यो उडानलाई नियमित गराउने कुरामा आफूहरू निरन्तर लाग्ने बताउँदै यसमा छेन्दुका पर्यटन व्यवसायीको पनि सकारात्मक साथ र सहयोग हुने विश्वास व्यक्त गर्नुुभयो । छेन्दुुमा गरिएको बिटुबी एवम् सेल्स मिसनबाट दुुबै देशका पर्यटन व्यवसायीबीच आपसी मित्रतालाई अझै बलियो बनाउने विश्वास दिइएको उहाँको भनाइ छ ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले प्रकृति, संस्कृति र साहसिक पर्यटनको गन्तव्य पोखरा चिनियाँ पर्यटकले पनि रुचाइएको गन्तव्य भएको बताउनुुभयो । पोखरामा धेरै चिनियाँ पर्यटक भित्राउन लागि पोखरा–छेन्दु उडानको निरन्तरता आवश्यक भएको उहाँको भनाइ छ । प्राकृतिक सुन्दरतासँगै साहसिक पर्यटनका विभिन्न गतिविधि पोखरामा पाइने उहाँले बताउनुुभयो ।
छेन्दुुस्थित नेपाली महावाणिज्य दूतावासका महावाणिज्यदूूत सुरेश राउतले पोखरा काठमाडौं पछिको दोस्रो ठूलो शहर भएको बताउँदै यो नेपालकै महत्वपूर्ण पर्यटकीय गन्तव्य भएको बताउनुभयो । पोखरा–छेन्दु उडानलाई नियमित बनाउनका लागि महावाणिज्य दूतावासका तर्फबाट गर्न सकिने सहयोगका लागि आफूहरू तयार रहेको उहाँको भनाइ छ । पोखरा पर्यटन परिषद्का महासचिव जीवनराज सापकोटाले पोखरामा चिनीया पर्यटक लक्षित पूर्वाधारहरू विस्तार हुने क्रम पनि बढिरहेको बताउँदै आगामी दिनमा चिनिया पर्यटकको आगमन बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
सिचुुवान प्रान्तको परराष्ट्र विभागका उपमहानिर्देशक लिउ मिनले सिचुवान एयरलायन्सले सुरु गरेको व्यावसायिक चाटर्ड उडान नियमित हुने विश्वास व्यक्त गर्नुभयो । दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई आगामी दिनमा थप प्रगाढ बनाउनका लागि लागि उडानको निरन्तरतासँगै दुई देशका पर्यटन व्यवसायीबीचको साझेदारी महत्वपूर्ण बन्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।