ललितपुर, चैत ७ गते । चक्रपथ सडक अन्तर्गत ललितपुरको ग्वार्को चोकमा निर्माणाधीन ‘ओभरपास’ मा ठेक्कादेखि निर्माण कार्यसम्म गम्भीर प्राविधिक त्रुटि भेटिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले अदूरदर्शी र दीर्घकालीन रूपमा समस्या सिर्जना गर्ने ओभरपास निर्माणको जिम्मा लगाएको हो ।
विशेष गरी विकसित सहरहरूमा दीर्घकालीन प्रभाव पार्ने संरचना निर्माण गर्दा सहरको सौन्दर्यीकरणलाई कायम राखेर बहुउपयोगी बनाइन्छ तर ग्वार्कोमा ओभरपास निर्माण गर्दा बहुउपयोगिता र जमिनमा खाली ठाउँ राख्न सकिने विषयलाई ध्यानै दिइएन । इन्जिनियरहरूका अनुसार ग्वार्कोमा निर्माणाधीन ओभरपास पुलको आकारमा निर्माण गर्नुपर्ने थियो तर निर्माणको ठेक्का पाएको कम्पनी एम/एस आशिष समानान्तर जेबीले दुईतर्फ पर्खाल बनाएर त्यसमा माटो भरेर संरचना निर्माण गरिरहेको छ । २०७८ साउन १८ गते गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले गरेको निर्माणपूर्वको प्रस्तावमा फ्लाइओभर बनाउने निर्णय गरेको छ । केन्द्रका तत्कालीन निर्देशक विजय जैसीका अनुसार फ्लाइओभर भनिए पनि ओभरपास बनाउने निर्णय भएको थियो ।
उहाँले भन्नुभयो, “फ्लाइओभर ब्रिज बनाउन महँगो पर्ने भएकाले इपिसी पर्खाल बनाएर बालकुमारीबाट सातदोबाटो जोड्ने गरी ओभरपास बनाउने निर्णय भएको हो । यसमा धेरै अध्ययन भएको छ । यो राम्रै हुन्छ ।”
नयाँ कम्पनीलाई ठेक्का दिँदा त्रुटि
हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने भनाइलाई पुष्टि गर्ने गरी ओभरपास निर्माण गर्दा प्राविधिक त्रुटि भएको छ । केन्द्रका इन्जिनियर विक्रम पौडेलले सहरी क्षेत्रमा फ्लाइओभर ब्रिज (पुल) नै निर्माण गर्न उपयुक्त हुने भए पनि पहिल्यै ठेक्का लागेकाले अब केही गर्न नसकिने बताउनुभयो ।
उहाँले भन्नुभयो, “सहरी क्षेत्रमा फ्लाइओभर निर्माण गर्दा राम्रो हुन्छ । पुलमुनिको खाली ठाउँलाई काममा लगाउन सकिन्छ तर केन्द्रमा म आएको धेरै भएको छैन । निर्णय पहिल्यै भएकाले केही भन्ने अवस्था छैन ।”
केन्द्रका पूर्वनिर्देशक जैसीले पनि ओभरपासको माटो झिकेर फेरि भर्ने काम लापरबाहीको परिणाम भएको स्वीकार गर्नुभयो । उहाँले भन्नुभयो, “नयाँ कम्पनीलाई ठेक्का दिएकाले यस्तो समस्या भएको हो । ओभरपास पनि राम्रैसँग बन्न सक्छ । नेपालमै पनि अरू केही स्थानमा यस्तो संरचना बनाइएको छ । यहाँ गल्ती भएकै हो ।”
‘ओभरपास बनाउनै मिल्दैन’
विज्ञहरूले सहरी क्षेत्रको सौन्दर्यलाई दृष्टिगत गरी ओभरपासभन्दा फ्लाइओभर ब्रिज बनाउन सुझाव दिएका छन् । सडक सुरक्षाविज्ञ एवं नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक केशव अधिकारी र यातायातविज्ञ आशिष गजुरेलले ग्वार्कोमा निर्माणाधीन ओभरपास तत्काल रोकेर फ्लाइओभर पुल नै निर्माण गर्न सरकारलाई आग्रह गर्नुभएको छ ।
सडक सुरक्षाविज्ञ अधिकारीले भन्नुभयो, “समथर जमिनमा यत्रो भारी संरचना निर्माण गर्नु आफैँमा गलत छ । छरितो संरचना निर्माण गरेर सडक र सहरलाई पनि सुन्दर बनाउनु पर्छ । ग्वार्कोको ओभरपास निर्माणमा सरकारले हस्तक्षेप गर्नै पर्छ । नभए पछि पछुताउनुपर्ने अवस्था बन्छ ।”
यातायातविज्ञ गजुरेलले परियोजनामा फ्लाइओभर लेखेर माटोले पुरेर ओभरपास निर्माण कार्य गम्भीर त्रुटिपूर्ण भएको बताउनुभयो । उहाँले राज्यको १७ करोड रुपियाँ खर्चेर बन्ने संरचनामा बजेटको दुरुपयोग मात्रै भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सहरमा जमिनको सानो हिस्सालाई पनि बहुउपयोगी अवधारणाले सदुपयोग गर्नु पर्छ तर ग्वार्को ओभरपासको काम जसरी अघि बढाइएको छ, यसले सही परिणाम दिँदैन । सरकारले तत्कालै निर्णय लिनु पर्छ ।”
केन्द्रले ४५५ मिटर र पाँच दशमलव पाँच मिटर उचाइ हुने गरी निर्माणको ठेक्का दिइएको छ । सम्झौतामा २०८० फागुन ११ गतेभित्र ओभरपास निर्माण सम्पन्न गर्ने भनिए पनि २०८१ पुस ८ गतेसम्मलाई म्याद थपिएको थियो तर ओभरपास निर्माणमा त्रुटि भेटिएको बताउँदै निर्माण कम्पनीले माटो भरेको ठाउँबाट माटो निकालेर फेरि पुर्ने काम गरिरहेको छ ।