काठमाडौं, चैत २ गते ।
मरे पनि केही छैन, त्यसपछि पनि सपना देख्न पाउँ
सगरमाथा, लुम्बिनी, मेची, महाकाली
हाम्रा लह–लह खेतबारी, झपक्क कान्ला र आली
सपनामा भए पनि देख्न पाउ
प्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको उक्त कविता ‘मरे पनि केही छैन, सपना देख्न पाउ..’ को भावमा नाटक मञ्चनसहित हिमवत्खण्ड सांस्कृतिक उत्सवको सुरुवात निकै रोचक देखिन्थ्यो । प्रधानमन्त्री ओलीले उक्त कविता २०७५ असार ३१ गते चन्द्रागिरीको डाँडामा लेख्नुभएको थियो ।
यी पङ्तिमा वीरेन्द्र हमालसहित चार कलाकारले प्रस्तुत गरेको नाटकमा देशप्रेम, साहस, आशा, परिवर्तन र उत्साह भाव व्यक्त गरिएको प्रष्टै बुझ्न सकिन्थ्यो । छिमेकी मुलुक भारतका विभिन्न स्थानहरु आसाम, दार्जलिङ्ग, मेघालय, म्यानमार, सिक्किम लगायत विभिन्न क्षेत्रमा रहनुभएका नेपाली तथा नेपालीभाषीको सांस्कृतिक तथा गायन प्रस्तुति हिमवत्खण्ड सांस्कृतिक उत्सवको मुख्य आकर्षण थियो ।
मदन भण्डारी कला–साहित्य प्रतिष्ठानका अध्यक्ष एवम् हिमवत्खण्ड कला–साहित्य–संस्कृति सम्मिलन–२०८१ का संयोजक डा. विजय सुब्बाले नेपाल र नेपाल बाहिर रहेका नेपाली भाषा र संस्कृतिमा समानता रहेको बताउनुभयो । उहाँले गोरखापत्र अनलाइनसँग कुरा गर्नुहुँदै नेपालभन्दा बाहिर रहेका नेपाली र नेपालीभाषीको लोकगीत संगीत तथा संस्कृति प्रदर्शनका लागि सांस्कृतिक उत्सव आयोजना गरिएको धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो, “हामीले कार्यक्रममा नेपाल र नेपाल बाहिर रहनुभएका सबैको सांस्कृतिक प्रस्तुति राख्यौं । अरुभन्दा पनि नेपाल बाहिर के गर्नुहुन्छ भन्ने हाम्रो चासोको विषय थियो । उहाँहरुको पनि हाम्रो नेपालमा जस्तो छ त्यस्तै नै रहेको पाइयो ।”
उहाँले विभिन्न देशमा रहनुभएका नेपालीबिच निकटता विकास गर्ने योजनासाथ हिमवत्खण्ड कला–साहित्य–सांस्कृतिक सम्मिलन आयोजना गरिएको बताउनुभयो ।
आसाममा कलाकारले ‘परदेशबाट फर्किआयौं आफ्नै प्यारो माटो सम्झेर..’, म्यानमारमै सिर्जना गरिएको गीत तथा नृत्य ‘देउराली डाँडालाई काटेर गएपनि..’, सिक्किमको च्याब्रुङ नाच, मेघालयको कौडा नृत्य प्रस्तुत हुँदा दर्शकको तालीले हल गुञ्जायमान भइरह्यो । यसैगरी, मिथिला, नेवार सभ्यताका नृत्य, तामाङ सेलो, देउडा, गन्धर्व धुनले सांस्कृतिक उत्सवलाई झनै आकर्षक बनायो ।
अध्यक्ष सुब्बाले कलाकारको प्रस्तुतिको प्रशंसा गर्नुहुँदै यस विषयमा राज्यको उचित ध्यान पुग्न नसकेको भनाइ राख्नुभयो । खासगरी, नेपालका प्राज्ञिक समुदायले यस विषयमा ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।
कार्यक्रममा एमाले उपाध्यक्ष गुरु बराल, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेस डिसी, कलाकार कुन्ति मोक्तान लगायत प्राज्ञ एवम् बौद्धिक व्यक्तिहरु सहभागी हुनुभएको थियो ।उक्त सम्मिलन चैत ३ गते आइतबार समापन गर्ने कार्यतालिका रहेको छ ।