विष्णुप्रसाद पोखरेल
दमक, चैत २ गते। झापाको मेचीनगर नगरपालिका वडा नं. ४ बाहुनडाँगीमा एकसाता यता चितुवा आतङ्कका कारण स्थानीयको आतङ्कित भएका छन्। चितुवाले गाईबस्तु तथा बाख्रा मार्न थालेपछि स्थानीय आतङ्कित भएका हुन्।
दैनिक चितुवा देखिन थालेको र यसले क्षति पुर्याउदा स्थानीय त्रसित भएको वडा नम्बर ४ का वडाध्यक्ष अर्जुन कार्कीले बताउनु भएको छ। उहाँका अनुसार चितुवा आतङ्कको विषयमा डिभिजन वन कार्यालय झापा र सरोकारवाला निकायमा जानकारी गराइएको छ।
वन डिभिजन कार्यालय झापाले चितुवा नियन्त्रणका लागि आवश्यक खोर बनाएर टोली पठाउने जानकारी पाएको कार्कीले बताउनुभयो। हात्तीको रेखदेख र सूचना दिँदै आएको स्थानीय र्यापिट रेस्पाेन्स टिमले चितुवाको विषयमा जानकारी लिएर स्थानीयलाई जानकारी गराउँदै आएको उहाँको भनाइ छ।
एक साता अघिदेखि स्थानीय बिमला काफ्लेका अनुसार घरबाहिर निस्कन समेत त्रास पैदा भएको छ। हात्तीको कारण समस्या भोग्दै आएकोमा पछिल्लो समयमा चितुवाको पनि समस्या झेल्नु परेको उहाँले बताउनुभयो। चितुवालाई समयमा नै नियन्त्रण गरेर संरक्षित क्षेत्रमा लैजान उहाँको आग्रह छ।
काफ्लेका अनुसार विमल दाहाल, पुरण दाहाल, गणेश खड्का, प्रशान्त पाण्डे लगायतका किसानको बाख्रा चितुवाको आक्रमणमा मरेर मरेको छ। खोरमा रहेका बाख्रा चितुवाबाट जोगाउन ज्यानको बाजी लगाएर स्थानीय बाख्राको खोर र गाईबस्तुको गोठमा रुघ्नु पर्ने बाध्यता सिर्जना भएको उहाँले बताउनुभयो।
वन्यजन्तु संरक्षणकर्मी शंकर लुइटेलका अनुसार समयमा नै सम्बन्धित पक्षले चितुवा नियन्त्रणमा लिएर संरक्षित क्षेत्रमा लैजान प्रयास गर्नुपर्ने अवस्था देखिएको छ। चितुवाले मानवीय क्षति समेत पुर्याउन सक्ने भएकाले यस विषयमा ध्यान दिन आग्रह गरिएको उहाँले बताउनुभयो।