• २२ चैत २०८२, आइतबार

तस्करी नियन्त्रण प्राथमिकतामा

blog

हरिप्रसाद कोइराला 

उर्लाबारी, चैत २२ गते  । फागुन २१ गते भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा मोरङ निर्वाचन क्षेत्र नम्बर–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट आशा झा निर्वाचित हुनुभएको हो । 

नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी र जनता समाजवादी नेपालले आलोपालो चुनाव जित्दै आएको मोरङ–५ मा झाले पहिलो पटकमा नै जितको नतिजा निकाल्नुभयो । ३० हजार ४३४ मत प्राप्त गरी विजयी भएका झाले नेपाली कांग्रेसका उम्मेदवार फूलकुमार लालवानीलाई २१ हजार १९ मतान्तरले हराउनुभयो । स्थानीय पालिकाका अधिकांश वडामा जित निकालेको नेपाली कांग्रेसका उम्मेदवार लालवानीले नौ हजार ४१५ मत पाउनुभयो । २०४० साल भदौ १५ गते मोरङको विराटनगर महानगरपालिका–१३ मा जन्मिएका झाले शिक्षाशास्त्रमा स्नातक तह उत्तीर्ण गर्नुभएको छ । झा लामो समयदेखि सामाजिक क्षेत्रमा सव्रिmय रहँदै आउनुभएको छ । पहिलो पटक नै विजय हासिल गरेपछि उहाँले आफ्नो क्षेत्रका विकास र सुशासनलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । विशेष गरी लामो समयदेखि अधुरो रहेको विराटनगर–कटहरी सडकखण्डको निर्माण सम्पन्न गराउने उहाँको प्रमुख एजेन्डा रहेको छ । त्यस्तै विकासनिर्माणका काम आवश्यकता र प्राथमिकताका आधारमा अघि बढाउने, प्रशासनिक सेवा सुधारका लागि नीतिगत निर्णय गर्ने तथा नागरिकलाई सहज र प्रभावकारी सेवा उपलब्ध गराउनेतर्फ आफू लाग्ने उहाँले बताउनुभयो । 

मोरङको निर्वाचन क्षेत्र नंं. ५ को भूगोल भारतसँग सीमा जोडिएको छ । सीमाक्षेत्रबाट  हुने तस्करीलाई नियन्त्रण गरी राजस्वमा वृद्धि गर्न नीतिगत सुधार गर्ने उहाँको भनाइ छ ।  सीमावर्ती क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न सके राजस्व वृद्धि सम्भव छ । त्यसका लागि स्थानीय बासिन्दा, सुरक्षाकर्मी, स्थानीय जनप्रतिनिधिसँग समन्वय गर्ने उहाँको योजना रहेको छ ।

सामाजिक क्षेत्रमा उहाँको योगदान उल्लेखनीय रहेको छ । झाले १६ वर्षसम्म महिला स्वास्थ्य स्वयंसेविकाका रूपमा सेवा गर्नुभयो । सो अवधिमा उहाँले समुदायस्तरमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्न महìवपूर्ण भूमिका निर्वाह गर्नुभयो । साथै उहाँले महिला नागरिक समाज गठन गरी समुदायका महिलाको नेतृत्व विकास, अधिकार सचेतना र सशक्तीकरणका क्षेत्रमा सव्रिmय भूमिका निर्वाह गर्नुभयो । 

सांसद झा आफू मधेश मूलकी पहिलो महिला निर्माण व्यवसायी भएको बताउनुहुन्छ ।  निर्माण क्षेत्रमा महिलाको सहभागिता न्यून रहेको अवस्थामा उहाँले महिलाले पनि यो क्षेत्रमा काम गर्न सक्छन् भन्ने उदाहरण प्रस्तुत गर्नुभयो । पछिल्लो १८ वर्षदेखि स्वास्थ्य स्वयंसेवा, निर्माण व्यवसाय, गायत्री परिवार तथा हरित विराटनगर अभियानमा सव्रिmय रहँदै आएकी झा समाजसेवाबाटै राजनीतिमा प्रवेश गरेको बताउनुहुन्छ । 

सांसद झाले पार्टीको वाचापत्र अनुसार विकासनिर्माणका काम अघि बढ्ने बताउँदै निर्वाचन क्षेत्रभित्र तत्काल गर्नुपर्ने काम मतदाता र स्थानीयको आवश्यकता र प्राथमिकताका आधारमा गर्दै जाने बताउनुभयो ।