• २९ फागुन २०८१, बिहिबार

चर्च ब्वाइजलाई हराउँदै नमोबुद्ध फाइनलमा

blog

नारायण तुम्बापो 

फिदिम, फागुन २९ गते । नमोबुद्ध युथ क्लब सप्तरी पाँचौँ पाँचथर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । फिदिममा बिहीबार भएको सेमिफाइनल खेलमा नमेबुद्धले काठमाडौँको चर्च ब्वाइज क्लबलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले हरायो । 

निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेलको नतिजा टाइब्रेकरमा पुगेर सकिएको थियो । ३३औं मिनेटमा नमोबुद्धका जेनिस प्रजापतिले ‘वान भर्सेस वान’अवस्थामा गोल गर्दै टिमलाई अग्रता दिलाउनुभयो ।

चर्च ब्वाइजले जवाफी आक्रमण गरेपनि पहिलो हाफको इन्जुरी समयमा मात्र बुद्धिमान राईले गोल गर्दै खेल बराबरीमा ल्याउनुभयो । ६१औँ मिनेटमा जेनिस प्रजापतिले व्यक्तिगत दोस्रो गोल गर्दै नमोबुद्धको अग्रता दोब्बर बनाउनुभयो ।

तर, ८५औँ मिनेटमा चर्च व्वाइजका राज भुसालले हेडमार्फत उत्कृष्ट गोल गर्दै खेललाई पुनः बराबरीमा ल्याउनुभएको थियो ।  त्यसपछि पेनाल्टीमा नमोबुद्धका विवेक गुरूङ, आयुष रानामगर, अनिल मगर र विवेक राईले गोल गर्नुभयो ।

चर्च ब्वाइजकातर्फबाट फ्र्याङ्किङ क्विटेटाला र सागर तिरूवाले मात्र गोल गर्न सक्नुभयो । अभिषेक महतो र फोफोना इब्राहिमको प्रहार नमोबुद्धका गोलरक्षक जिहारत शेखले विफल बनाउनुभयो । उहाँ म्यान अफ दी म्याच बन्नुभयो ।