• १२ पुस २०८२, शनिबार

तेक्वान्दो टोली चीन जाँदै

blog

काठमाडौँ, पुस १२ गते । चीनको नान्जिङमा हुने एसियाली तेक्वान्दो आमन्त्रण प्रतियोगिता तथा १०औँ मान सान तेक्वान्दो खुला च्याम्पियनसिपमा लिटिल बड स्कुलका पाँच खेलाडी र गोंगबु तेक्वान्दो डोजाङका आठ गरी १३ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

लिटिल बडबाट यु–६ महिला एकल पुम्सेमा इनाया महर्जन, यु–८ एकल पुम्सेको पुरुषमा अभेन थापा र महिलामा आरभी ज्ञवाली तथा यु–१० एकल पुम्सेको पुरुषमा आयाम पौडेल र महिलामा यात्ना तिमिल्सिनाले कौशल प्रदर्शन गर्नुहुनेछ । 

गोंगबुबाट पुरुष २६ केजीमा सोहन पाठक, महिला ३० केजीमा हृदियानी बस्नेत र महिला ३६ केजीमा जोलिना बस्नेत खेल्नुहुनेछ । यु–८ महिला एकल पुम्सेमा माइरा कार्की, यु–१२ पुरुष एकल पुम्सेमा श्रेयान कार्की र सक्षम श्रेष्ठ, यु–१४ महिला एकल पुम्सेमा आश्रिया उपाध्याय तथा यु–१८ पुरुष एकल पुम्सेमा युजेन तामाङले प्रतिस्पर्धा गर्नुहुनेछ । 

लिटिल बड र गोंगबु दुवैका प्रशिक्षक सरोज तामाङ हुनुहुन्छ । सरोजसँगै प्रशिक्षक विकेश विडारी र अन्तर्राष्ट्रिय रेफ्री अस्मिता खड्काले प्रतियोगतामा निर्णायकको भूमिका निभाउन चीन जानुहुनेछ । 

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य कुमार लामा घिसिङ, नेपाल तेक्वान्दो सङ्घका सदस्य कविराज नेगी लामा, काठमाडौँ जिल्ला तेक्वान्दो सङ्घका अध्यक्ष विक्रम खड्गीले शनिबार एक कार्यक्रमबीच बिदाइ गर्नुभयो । 

सो अवसरमा राखेप सदस्यमा नियुक्त भएकोमा घिसिङलाई गोंगबु र गोलढुंगा तेक्वान्दो डोजाङले सम्मान गरेको थियो । डिसेम्बर ३१ देखि जनवरी ३ तारिखसम्म हुने प्रतियोगितामा सहभागी हुन टोली मङ्गलबार चीन जाने  छ ।