काठमाडौँ, पुस १२ गते । सभामुख देवराज घिमिरेले एनएसएसएफ १३औँ किन्डर ओलम्पिकको उद्घाटन गर्नुभएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङगशालामा शनिबार भएको कार्यक्रममा सभामुख घिमिरेले ओलम्पियन कमलबहादुर अधिकारीलाई किन्डर ओलम्पिकको टर्च हस्तान्तरण गरी उद्घाटन गर्नुभएको हो ।
कमलसँगै ओलम्पियन एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, तेक्वान्दोकी आयशा शाक्य र कबड्डीकी मानमति विष्टले टर्चलाई दशरथ रङ्गशालाको ट्रयाकमा परिक्रमा गराउनुभएको थियो ।
पहिलो चरणको किन्डर ओलम्पिकमा उपत्यकाका विभिन्न ३४ विद्यालयका १५ सय ४० विद्यार्थीको सहभागिता रहेको आयोजक नेपाल विद्यालय खेलकुद महासङ्घ (एनएसएसएफ) का महासचिव राजकुमार कार्कीले जानकारी दिनुभयो ।
विद्यार्थीले मार्च पास्ट गर्नुका साथै विभिन्न खेलको प्रतिस्पर्धा पनि भएको थियो । दशरथ रङ्गशालामै पुस १५ गते हुने दोस्रो चरणको कार्यक्रममा ६७ विद्यालयका करिब १६ सय विद्यार्थी सहभागी हुने पनि आयोजकले जनाएको छ ।
एनएसएसएफकाअध्यक्ष विनोद श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहतालगायतको उपस्थिति रहेको थियो । सानै उमेरदेखि बालवालिकालाई खेलकुद प्रति आकर्षित गर्ने उद्देश्यले किन्डर ओलम्पिक आयोजना गरिएको आयोजकले जनाएको छ ।
यसअघि पुस ४ गते शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेले किन्डर ओलम्पिकको मस्कट अनावरण गर्नुका साथै अध्यक्ष श्रेष्ठलाई टर्च हस्तान्तरण गर्नुभएको थियो ।