राधा लुइटेल
फिदिम, फागुन २४ गते । पाँचौँ संस्करणको पाँचथर गोल्डकपको पहिलो खेलमा आयोजक पाँचथर क्लब मोरङको इन्ट्रा पथरी फुटबल क्लबसँग स्तब्ध बनेको छ ।
फिदिममा शनिबारदेखि सुरु भएको उद्घाटन खेलमा पथरीले पाँचथरलाई २–० गोलले हरायो । पथरीको जितमा सनम धिमाल र अङ्कित लिम्बूले गोल गर्नुभयो ।
पथरीका गोलरक्षक समिर क्षेत्री प्लेयर अफ दि म्याच बन्नुभयो । विदेशी खेलाडीसहित उत्रिएको पथरीले खेलको सुरुवातदेखिनै आयोजकलाई दबाबमा राखेको थियो ।
प्रतियोगितामा नेपाल र भारतका ‘ए’ डिभिजन र विभागीय गरी आठ टिमको सहभागिता रहेको छ । आइतबार चर्च ब्वाइज क्लब र हिल्स एकेडेमी भारतबिच प्रतिस्पर्धा हुनेछ ।
यसअघि फिदिम नगरपालिकामा प्रमुख मित्रप्रसाद काफ्लेले प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो । प्रतियोगिताको विजेताले ११ लाख एक हजार एक सय ११ रुपियाँ र उपविजे ताले पाँच लाख ५५ हजार पाँच सय ५५ रुपियाँ पुरस्कार पाउने छन् ।