लेखनाथ, पुस १४ गते । कविशिरोमणि लेखनाथ पौड्यालको स्मृतिमा स्थापित र सञ्चालित तीन पुरस्कार पाउने प्रतिभा चयन गरिएको छ । यस वर्षको लेखनाथ साहित्य पुरस्कार साहित्यकार घनश्याम कँडेललाई प्रदान गरिने भएको छ ।
एक लाख रुपियाँ सम्मान पत्र र दोसल्लासहितको साहित्यकार कँडेललाई सम्मान गर्न लागिएको लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पद्यराज ढकालले जानकारी दिनुभयो । विसं २०७३ मा खण्डकाव्य धृतराष्ट्रका लागि मदन पुरस्कार पाउनुभएका कँडेलका दर्जनभन्दा बढी कृति प्रकाशित छन् ।
यस वर्षको कुन्तिदेवी साहित्य पुरस्कार साहित्यकार गंगा कर्माचार्य पौडेल र लेखनाथ सांस्कृतिक पुरस्कार साहित्यकार नवराज अधिकारीलाई प्रदान गरिने भएको छ । कवि शिरोमणि पौड्यालको १४२ औं जन्मजयन्ती समारोह यी सबै पुरस्कार प्रदान गरिने अध्यक्ष ढकालले जानकारी दिनुभयो ।
लेखनाथ साहित्य पुरस्कार र कुन्तिदेवी साहित्य पुरस्कार कविशिरोमणिकी कान्छि छोरी कुन्तिदेवी भट्टराइका परिवारजनले स्थापना गरेका हुन् । कुन्तिदेवी र लेखनाथ सांस्कृतिक पुरस्कारको राशि समान नगद २५ हजार र सम्मानपत्र छ ।
संस्कृतिक पुरस्कार लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष ढकालले स्थापना गर्नुभएको हो । यो पुरस्कार साविक लेखनाथ नगरपालिकाका स्रष्टा तथा संस्थालाई प्रदान गर्ने गरिएको छ । सोही समारोहमा मधुमाया ढकाल शिक्षा पुरस्कारबाट स्नेहा खड्कालाई प्रदान गरिनेछ ।
कविशिरोमणिको जन्म जयन्तीमा आइतबारबाट त्रिदिवसीय कार्यक्रम सुरु भएका छन् । आइतबार लेखनाथ काव्य परिचर्चा, खुला कविता प्रतियोगिता तथा विद्यालयस्तरीय स्थलगत कविता लेखन तथा वाचन प्रतियोगिता आयोजना गरियो ।
कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रतिष्ठानका पूर्वकुलपति सरुभक्तले लेखनाथको काव्यहरु नेपाली भाषा र साहित्यका अमूल्य निधि भएको उल्लेख गरे ।
सोमबार कविशिरोमणि जन्मस्थल सरसफाइ र मङ्गलबार अर्चलेमा मूल समारोह हुने छन् । राष्ट्रव्यापी खुला कविता प्रतियोगितामा छन्दतर्फ रामलाल कुमाल प्रथम, प्रेमनारायण ढकाल द्वितीय, श्रीधर पाण्डेय र कृष्णप्रसाद पौडेलले तृतीय ठहरिनुभयो । कविताको गद्यतर्फ केनिका गिरी प्रथम, उमाकान्त पोखरेल द्वितीय र सुदिना पौडेलले तृतीय स्थान प्राप्त गर्नुभयो ।