• २२ चैत २०८२, आइतबार

हुम्लाका तीन परीक्षा केन्द्रमा उत्तरपुस्तिका परीक्षण सम्पन्न

blog

मानसरोवर मावि केन्द्रमा दृष्टिविहीन परीक्षार्थी अर्कोको सहयोगमा परीक्षामा सहभागिता जनाउँदै । तस्बिर : राजन राजत

राजन राजत
हुम्ला, चैत २२ गते ।
हिमाली जिल्ला हुम्लाका तीन वटा एसइई परीक्षा केन्द्रका उत्तरपुस्तिका परीक्षण कार्य सम्पन्न भएको छ । एक सयभन्दा कम परीक्षार्थी रहेका ती परीक्षा केन्द्रमा उत्तरपुस्तिका परीक्षण सम्पन्न गरिएको हो ।

शनिबारसम्म उत्तरपुस्तिका परीक्षण सम्पन्न भएका परीक्षा केन्द्रहरूमा खार्पुनाथ गाउँपालिकाको सीता मावि केन्द्र, सर्केगार्ड गाउँपालिकाको कोट मावि केन्द्र, रोडिकोट र अदानचुली गाउँपालिकाको सूर्योदय मावि, श्रीनगर रहेका शिक्षा विकास तथा समन्वय इकाइका निमित्त प्रमुख खड्कबहादुर हमालले बताउनुभयो ।

ती परीक्षा केन्द्रमध्ये सीता र कोट मावि परीक्षा केन्द्रमा १०६ जना परीक्षार्थी रहेका छन् भने सूर्योदय माविमा १७६ जना परीक्षार्थी रहेका छन् । तीनवटै केन्द्रमा हालसम्म सम्पन्न भएका अनिवार्य अङ्ग्रेजी र नेपाली विषयका उत्तरपुस्तिका परीक्षण कार्य सम्पन्न भएको हो । अब चार वटा परीक्षा केन्द्रमा भने परीक्षण कार्य जारी रहेको छ ।

उत्तरपुस्तिका परीक्षण सुरु भएर कार्य जारी रहेका परीक्षा केन्द्रहरूमा सर्केगार्ड गाउँपालिकाको हिमज्योति मावि, सर्केगार्ड, सिमकोट गाउँपालिकाको मानसरोवर मावि केन्द्र, बालमन्दिर मावि केन्द्र, र ताँजाकोट गाउँपालिकाको मदानादेव मावि केन्द्र रहेका छन् ।

ती परीक्षा केन्द्रमा दुई सयभन्दा बढी परीक्षार्थी रहेका कारण परीक्षण कार्य ढिलो भइरहेको उहाँले बताउनुभयो । यसका लागि परीक्षा केन्द्रकै विषयविज्ञ शिक्षकबाट परीक्षण गराउने व्यवस्था गरिएको छ । एक जनाबाट मात्र परीक्षण भइरहेकोले समय लागेको बालमन्दिर मावि केन्द्रका केन्द्राध्यक्ष कैलाश रोकायाले बताउनुभयो ।

यस वर्ष एक हजार तीन सय परीक्षार्थीले एसइई परीक्षामा सहभागिता जनाएका छन् । उत्तरपुस्तिका परीक्षणका लागि गोप्य कोठा तथा सुरक्षा व्यवस्था कडा पारिएको छ । परीक्षकलाई मोबाइलसमेत बोक्न दिइएको छैन । गाउँपालिकाको सहयोगमा परीक्षण स्थल बाहिर सिसिटिभी क्यामेरा समेत जडान गरिएको छ ।