साहारा लिम्बू
फुङलिङ, चैत २२ गते । ताप्लेजुङमा सम्पन्न भएको विशेष महाशिवरात्रि फुटबल प्रतियोगिताको उपाधि तेह्रथुमले चुमेको छ । मैवाखोला गाउँपालिका–३ साँघुमा शनिबार सम्पन्न भएको प्रतियोगितामा धनकुटालाई पराजित गर्दै तेह्रथुमले उपाधि चुमेका हो ।
फाइनल खेलमा धनकुटाको साँगुरीगढीलाई ३–२ गोल अन्तरले पराजित गर्दै तेह्रथुमको म्याङ्लुङ स्पोर्टिङ क्लबले उपाधि हात पारेको आयोजक संस्था जलजले क्लबले जनाएको छ । जितका लागि तेह्रथुमका समीर राईले पहिलो गोल गर्दा धीरज लिम्बुले दोस्रो तथा डिम्पल भण्डारीले निर्णायक गोल गर्नु भएको थियो ।
विजेता बनेसँगै तेह्रथुमले नगद दुई लाख ६१ हजार १११ रुपियाँसहित ट्रफी प्राप्त गर्दा उपविजेता धनकुटाले नगद एक लाख ३१ हजार १११ रुपियाँमा चित्त बुझाएको छ । गत चैत १७ गतेबाट सुरु भएको प्रतियोगितामा ताप्लेजुङ, सङ्खुवासभा, धनकुटा र तेह्रथुमका आठ टिमको सहभागिता रहेको थियो ।