साधन र स्रोतलाई भोलिका दिनमा प्रतिफल आउने आशामा आज गरिने प्रयोग नै लगानी हो । लगानी पैसा, समय, श्रम, नाम, ट्रेड मार्क आदि हुन सक्छ । लगानीबाट प्राप्त हुने प्रतिफल लगानीकर्ताले बहन गर्ने जोखिमका आधारमा निर्भर हुन्छ । बढी प्रतिफल प्राप्त गर्ने चाहना राख्ने लगानीकर्ताले जोखिमको भार पनि बढी नै वहन गर्नु पर्छ । कम जोखिम वहन गर्दा प्रतिफल पनि कम नै प्राप्त हुने गर्छ । बजारमा विभिन्न किसिमका लगानीकर्ता रहने गर्छन् । उच्च जोखिम वहन गर्ने, मध्यम जोखिम वहन गर्ने र कम जोखिम वहन गर्ने तथा जोखिम नलिने लगानीकर्ता भनेर वर्गीकरण गरिएको हुन्छ ।
यहाँ लगानीको प्रसङ्गलाई कुनै व्यक्तिविशेषको लगानी भन्दा पनि संस्थागत लगानीमा बैङ्क तथा वित्तीय संस्थाको लगानीको प्रसङ्गलाई विषयान्तर गर्न खोजिएको छ । बचतकर्तासँग रहेको रकमलाई निक्षेपका रूपमा सङ्कलन गरी सुरक्षित लगानीका माध्यमबाट आम्दानी गरी सञ्चालन रहने वित्तीय संस्था निक्षेपलाई नासाका रूपमा ग्रहण गरेका हुन्छन्, जुन मागेका बखत फिर्ता दिन सक्नु पर्छ । वित्तीय संस्थाले गर्ने लगानी कुन क्षेत्र कहाँ र कसरी गर्ने ? त्यसको प्रभाव अर्थतन्त्रमा कुन रूपमा पर्नु पर्छ ? के भइरहेको छ ? त्यो विषय अध्ययन र छलफलकै विषय होला । सङ्कलित निक्षेप रकम थुपारेर राख्नुको सट्टा कहीँ कतै लगानी गर्न सकेमा वित्तीय संस्थाको लागत घट्ने, नाफा बढ्ने, लगानीले केही न केही वस्तु तथा सेवा आयात नै गरे पनि रोजगारी बढ्ने, उपयोग बढ्ने, माग बढ्ने, पूर्ति बढ्ने र समग्रमा अर्थतन्त्रको व्यावसायिक चक्र चलायमान हुने गर्छ ।
विश्व अर्थव्यवस्थालाई नै धक्का पुग्ने गरी आएको कोभिड–१९ को महामारीबाट थलिएको अर्थतन्त्र बिस्तारै लयमा फर्के पनि जुन गतिमा अगाडि बढ्नुपर्ने हो त्यसो हुन सकेन । त्यसको प्रत्यक्ष असर वित्तीय संस्थामा पर्छ । वित्तीय संस्थाले निक्षेपकर्ताको निक्षेप रकम ब्याज भुक्तानी गरेर सङ्कलन गरेका हुन्छन् । त्यो निक्षेपबाट आम्दानी गर्न सकोस् भनेर ब्याज दिन सक्नु पर्छ ।
वित्तीय संस्थासँग लगानीका क्षेत्र पर्याप्त रहेको अवस्थामा लगानी गर्न पनि पर्याप्त निक्षेप रकम हुनु पर्छ । जतिखेर लगानी अवसर आउँछ त्यही समयमा निक्षेप लिएर लगानी गर्छु भन्ने अवसर तिनीहरूलाई नहुन सक्छ । जसका लागि निक्षेप सङ्कलन गरेर बस्ने र लगानीका क्षेत्र पहिचान, विश्लेषण र मूल्याङ्कन गरी उचित लागेमा लगानी गर्नु पर्छ । लगानी गरेपश्चात् पनि आफ्नो लगानी सुरक्षित छ कि छैन ? के हुँदै छ भनेर अनुगमन गरिरहनु पर्छ । लगानीको विषय बाहिरबाट आवरणमा आँखाले देखेजति सहज विषय होइन ।
लगानी सुरक्षित राख्दै लगानीबाट प्राप्त प्रतिफललाई अधिकतम बनाउन लगानीमा विविधीकरण सिद्धान्त प्रयोग गरिन्छ ताकि एउटै टोकरीमा सबै अन्डा राख्नुको सट्टा भिन्न भिन्न टोकरीमा थोरै थोरै राख्दा एउटामा नोक्सानी भए पनि अर्कोमा नोक्सानी नहुन सक्छ । लगानी सुरक्षित राख्दै उचित प्रतिफल प्राप्त सक्ने गरी गरिने लगानीको वातावरण नभएकै हो त ? लामो समयदेखि वित्तीय संस्थामा जम्मा भएको तरलता र कर्जा वृद्धिको अवस्था हेर्दा त्यस्तै प्रश्न उब्जिएकै हो । वित्तीय संस्थामा तरलता वृद्धि भइरहनु, नेपाल राष्ट्र बैङ्कले तरलता खिच्नु, वृद्धिदर न्यून रहनु, रेमिटेन्स नियमित आइरहेको अवस्था, आयातको वृद्धिदर पनि उत्साहजनक रूपमा नरहनु, युवा जनशक्ति दिनहुँ बाहिरिने क्रमले उपभोग्य वस्तुको खपत न्यून रहनु, नयाँ उद्यम सिर्जना नहुनु, भएका उद्यम पनि जसरी सञ्चालन हुनुपर्ने हो, सोही गतिमा नभई रहँदा लगानी आकर्षित हुन सकिरहेको छैन । यो अर्थतन्त्र सुस्त अवस्थामा रहेको बेला वित्तीय संस्थाले निक्षेप परिचालन गर्ने नाममा अन्य वित्तीय संस्थामा समस्यामा रहेका ऋणीलाई विभिन्न शीर्षकमा ऋण रकम थप गरी लगानी बढाउनु भनेको वर्षाको भेलमा पौडिएर खोला तर्छु भनेर हेलिनु जस्तै हो । आजको यो अवस्था आफ्ना ऋणीहरूलाई संरक्षण गरी सबल बनाई उचित समयको पर्खाइमा रहनु हो । सस्तो ब्याजदर भएका संस्थाले लगानी गर्न ऋण खोज्ने होइन बजारमा भएका गुणस्तरयुक्त ऋणीलाई रोज्ने समय हो ।
निक्षेप र लगानी वृद्धिदरलाई विगत १४ वर्षको तथ्याङ्क हेर्ने हो भने करिब ११ वर्ष २०६९ सालदेखि २०७९ सम्म दोहोरो अङ्कमा वृद्धि भएको देखिन्छ । २०७९ सालपछि निक्षेपमा दोहोरो अङ्क करिब १२ देखि १३ प्रतिशतको वृद्धि रहेकोमा कर्जामा भने सोही अवधिमा एकल अङ्कमा खुम्चिन पुगेको देखिन्छ । विप्रेषण वृद्धिले निक्षेपको अवस्था हेर्दा असार महिनामा अस्वाभाविक रूपमा बढेको र लगानी बिस्तारै बढ्न खोजेको छ । लगानी सुरक्षित तथा गुणस्तरयुक्त लगानीको संरक्षण गर्दै सङ्कलन भएको निक्षेपलाई छोटो समयको सरकारी ऋणपत्रमा लगाएर पर्ख र हेरको अवस्थामा रहने वित्तीय संस्थाको बुद्धिमत्ता रहने अनुमान गर्न सकिन्छ । यतिबेला बैङ्क तथा वित्तीय संस्थाले पुरानो उखान आत्मसात् गर्ने समय आएको छ भनिन्छ । जहाँ अनिकालमा बिउ जोगाउनु, हुलमुलमा जिउ जोगाउनु भन्छन् यो बाटो रोज्नु उपयुक्त हुने छ ।
बजारमा लगानीका नयाँ क्षेत्रको आगमन नभइरहेको, उद्यमशीलताको वातावरण पनि नदेखिएको अवस्था, व्यवसायमा शिथिलता रहेको, अस्थिर राजनीतिले राजस्व सङ्कलन गर्ने नाममा नीतिमा हुने परिवर्तनकै कारण वित्तीय संस्थामा ब्याजदर सस्तो छ । यस्तो अवस्था रहकैले सस्तो ब्याजदर रहँदा पनि बैङ्कबाट ऋण लिएर लगानी गर्ने हिम्मत लगानीकर्तामा नदेखिएका कारण वित्तीय संस्थामा निक्षेप जम्मा हुँदै गएको छ । सिडी रेसियो ६० देखि ७० को बिचमा रहेको अवस्थाले गर्दा वित्तीय संस्थाहरूको नाफामा गिरावट आएको छ, निष्क्रिय कर्जाको दर बढ्दो छ ।
नियामक निकायले वार्षिक खाताबन्दीको विवरण असार १५ गतेसम्म प्रकाशित गर्नुपर्नेमा साउन मसान्तसम्म समय सारेका कारण वित्तीय संस्थाले केही कर्जामा रङरोगन गर्न पर्याप्त समय भएकाले केही सम्पत्ति असुली भएको भनी केही सकारात्मक तथ्याङ्क सार्वजनिक भएको भन्ने विश्लेषक बताउँछन् । बैङ्क तथा वित्तीय संस्थाको अवस्था के हो भन्ने विषय इन्टरनेसनल अडिट, जुन नेपाल राष्ट्र बैङ्कले अन्तर्राष्ट्रिय मुद्राकोषको एक्सटेन्डेड क्रेडिट फ्यासिलिटी (इसिएफ) अन्तर्गत १० ठुला वाणिज्य बैङ्कको ऋण पोर्टफोलियोको मूल्याङ्कन गर्न बङ्लादेशमा आधारित अडिट कम्पनीलाई पाँच महिने सम्झौता गरी नियुक्त गरेको हो । जसको म्याद २०२५ को अन्तिम मानिएको छ । यस अडिटको उद्देश्य बैङ्कको ऋण र सम्पत्ति गुणस्तरको पारदर्शिता सुनिश्चित गरी प्रणालीगत जोखिमको मूल्याङ्कन गर्नु हो । उक्त कार्यमा चयन भएका अडिट फर्महरू श्रीलङ्का, भारत, बङ्गलादेश र नेपालका रहेका छन् ।
२०२५ को मध्यतिरबाट सुरु भएको अडिट २०२५ को अन्त्यसम्ममा सम्पन्न हुने अनुमान गरिएको छ । उक्त अडिटको प्रतिवेदनले बैङ्कको अवस्था कस्तो रहेको छ स्पष्ट देखाउने छ भने आआफ्नो अवस्था अरूले देखाउने भन्दा पनि आफैँले मनन गरेर नियामकका नियम पालन भएका छन् छैनन् ? विधि र प्रक्रिया कस्तो छ ? के गराउनु पर्छ भनी त्यसको मूल्याङ्कन गरी सुधारको बाटोमा लागि सुरक्षित हुनुपर्ने आजको अवस्था हो । वित्तीय संस्थाले तरलता बढी ब्याजदर कम भएको अवस्थामा बजारमा ऋणी खोजेर होइन रोजेर लगानी गर्ने अवसर प्राप्त भएको छ । एकातिर विदेशी संस्थाले वित्तीय संस्थाको लगानीको अवस्था माथि आशङ्का देखाएको परिस्थितिमा सजग भएर भएका लगानी संरक्षण गर्नु त छँदै छ अहिले भएको तरलतालाई जथाभाबी लगानीका नाममा छर्ने काम गर्नु हुँदैन । सहज वातावरणमा लगानी गर्ने समयको पर्खाइमा रहनु र अहिलेको प्रतिकूल समय चिन्न सक्नु आजका वित्तीय संस्थाको काम हो । जसले गर्दा स्वस्थ प्रतिस्पर्धालाई बढावा दिन्छ र बजारमा जोखिममा आधारित मूल्य निर्धारण कायम गर्न सहज हुन्छ । जसले गर्दा सबल वित्तीय प्रणालीको विकास भई अर्थतन्त्रमा स्थायित्वको आधार बन्न सहयोग पुग्छ ।