झापा, पुस १४ गते । काँकडभिट्टास्थित मेची भन्सार कार्यालयमा परीक्षणका रूपमा अनलाइन मूल्याङ्कन सफ्टवेयर प्रणाली लागु भएको छ । सन्दर्भ मूल्यसूचीको साटो कारोबार मूल्यलाई नै आधार मानेर व्यापारिक वस्तुको यथार्थ भन्सार मूल्याङ्कन हुने भएको हुँदा यस प्रणालीले भन्सार प्रणालीलाई पारदर्शी र छरितो तुल्याउने मेची भन्सार कार्यालयका प्रमुख कर अधिकृत शिवलाल न्यौपानेले जानकारी दिनुभयो ।
मेची भन्सारसहित मुलुकका आठ वटा भन्सारका परीक्षणका रूपमा यो प्रणाली लागु गरिएको छ । झापाको मेची भन्सार र भद्रपुर भन्सार कार्यालयमा पुसको दोस्रो सातादेखि यो प्रणाली लागु गरिएको हो । वैध व्यापारलाई प्रोत्साहन गरिने भएकाले प्रणालीबाट राजस्व चुहावटमा कमी आउने प्रमुख कर अधिकृत न्यौपानेले बताउनुभयो । विश्व व्यापार सङ्गठनले अनलाइन मूल्याङ्कन प्रणाली लागु गर्न आफ्ना सदस्य मुलुकलाई आग्रह गर्दै आएको थियो । प्रणाली शुभारम्भ गर्न आउनुभएका अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीले यस प्रणालीबाट भन्सारमा हुने विभिन्न किसिमका अनियमितता र अनौपचारिक कारोबारमा कमी आउने बताउनुभयो । उहाँले सरकारले भन्सारमा सुशासन र करदातामैत्री व्यवस्थालाई प्रोत्साहित गरिरहेको जनाउँदै प्रणाली कार्यान्वयनमा निजी क्षेत्रले सहजीकरण गर्नुपर्ने बताउनुभयो ।
मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा रु. १८ अर्ब ८७ करोड ७४ लाख ८३ हजार राजस्व सङ्कलनको वार्षिक लक्ष्य लिएको छ । जसमध्ये चालु आवको साउनदेखि मङ्सिरसम्मको पाँच महिनामा रु. छ अर्ब ८२ करोड दुई लाख ७२ हजार राजस्व सङ्कलन गरिसकेको कार्यालयले जनाएको छ ।