• ६ जेठ २०८१, आइतबार

नगरवासीलाई तीस युनिट विद्युत् छुट

blog

वीरगञ्ज समाचारदाता

वीरगञ्ज,  जेठ १७ गते । प्रमुख व्यापारिक केन्द्रका रूपमा रहेको वीरगञ्ज महानगरपालिकाको प्रमुख पदमा नवनिर्वाचित राजेशमान सिंहले ३० युनिटसम्म विद्युत् छुट दिने निर्णय गर्नुभएको छ । प्रमुख सिंहले वीरगञ्जको घण्टाघर क्षेत्रको जीर्ण सडक मर्मत कार्यलाई पहिलो प्राथमिकतामा राख्नेसमेत बताउनुभएको छ ।

प्रमुख सिंहले महानगरभित्रका १० हजार ९२४ घरधुरीको ३० युनिटसम्मको मासिक न्यूनतम शुल्क छुट गर्ने निर्णय गर्नुभएको छ । त्यस्तै महानगरभित्र कृषि सिँचाइका लागि लिइएका ७० वटा सिँचाइ मिटरमा उठ्ने सम्पूर्ण शुल्क भुक्तानीको दायित्व साउन १ देखि महानगरपालिकाले बेहोर्ने निर्णय गरिएको छ । उहाँले अबको एक सय दिन कुनै पनि सम्मान कार्यक्रममा सहभागी नभई विकासको काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ । 

उहाँले निर्वाचनका बेला व्यक्त गरेका सबै प्रतिबद्धता पूरा गर्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले विकास निर्माणका काममा सहयोग गर्न र आफू कहीँ कतै बाटो बिराएको खण्डमा खबरदारी गर्नसमेत नगरवासीलाई आग्रह गर्नुभयो । 

उहाँले महानगरपालिकाको आन्तरिक आम्दानीको स्थिति, सङ्घ र प्रदेश सरकारबाट प्राप्त हुने अनुदानको अध्ययन गरी महानगरको प्रशासनिक खर्चसमेत कटौती गरी जनहितका कामहरू गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रमुख सिंहले महानगरपालिकाका सरसफाइ कर्मचारीसँग शुक्रबार बिहान छलफलसमेत गर्नुभएको छ । नेताको घरअगाडि, गन्यमान्य व्यक्तिको घरको आसपासमा मात्र होइन नगरका सबै क्षेत्रमा सरसफाइ गर्न प्रमुख सिंहले सफाइ कर्मचारीलाई निर्देशनसमेत दिनुभयो । उहाँले महानगरको सरसफाइको ठेक्का लिएका कम्पनीलाई समेत सडक र नाला सरसफाइमा हेलचेक्र्याइँ नगर्न निर्देशन दिनुभयो ।