• ५ जेठ २०८१, शनिबार

सुदूरपश्चिम प्रदेश सभाको १० औं अधिवेशन सुरु

blog

अविनाश चौधरी

धनगढी, जेठ १६ गते । सुदूरपश्चिम प्रदेश सभाको १० औं अधिवेशन सोमबारदेखि सुरु भएको छ । प्रदेश प्रमुख देवराज जोशीको आह्वानमा अधिवेशन सुरु गरिएको हो । यो अधिवेशनलाई बजेट अधिवेशनको रुपमा लिने गरिन्छ । 

१० औं अधिवेशनको पहिलो बैठकमा सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री प्रकाश रावलले आर्थिक वर्ष २०७९÷८० को विनियोजन विधेयकमा समावेश हुने बजेट तथा कार्यक्रमको सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीतिहरु प्रस्तुत गर्नुभयो । उत्पादन एवम् उत्पादकत्व वृद्धि, पूर्वाधार निर्माण, सामाजिक विकासलाई आत्मनिर्भर र समृद्ध सुदूरपश्चिम प्रदेशको निर्माणको आधार मानेर बजेटको सिद्धान्त र प्राथमिकता निर्धारण गरेको बताउनुभयो । 

यसैगरी, विभिन्न दलबाट प्रतिनिधित्व गर्नुहुने प्रदेश सभा सदस्यहरुले शुभकामना मन्तव्य राख्नुहुँदै अधिवेशन सफलताको कामना गर्नुभएको छ । नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक दुर्गाकुमारी कामीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट जनताको जीवनस्तर उकास्नेगरी आउनु पर्ने बताउनुभयो । ‘नीति तथा कार्यक्रमले बोलेको कुरा बजेटमा सम्बोधन हुनुपर्दछ’, उहाँले भन्नुभयो । 

यसैगरी, नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक अक्कलबहादुर रावलले सत्तापक्ष र प्रतिपक्ष दुवै एक ढिक्का भएर काम गरेमा मात्रै प्रदेश बनाउन सकिने बताउनुभयो । उहाँले सङ्घीयतामा विशेष अधिकारका कुराहरु, केन्द्रबाट प्राप्त गर्नुपर्ने क्षतिपूर्तिका विषयलाई कार्यान्वयन गर्न सबैले एक ढिक्का भएर कुरा उठाउनु पर्ने चर्चा गर्नुभयो । 

नेपाली काङ्ग्रेसबाट प्रतिनिधित्व गर्नुहुने अम्बिकुमारी थापाले सबैको मर्म, भावनालाई मध्यनजर गरेर सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याउनु पर्ने बताउनुभयो ।  अहिलेको अधिवेशन हिजोकोभन्दा फरक र महत्वपूर्ण रहेकाले प्रदेशको कुना, कन्दराका जनताको मर्म नीति तथा कार्यक्रम र बजेटमा समेटिनु पर्ने बताउनुभयो ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) बाट प्रतिनिधित्व गर्नुहुने प्रदेश सभा सदस्य पठानसिंह बोहराले यो अधिवेशन प्रदेश सरकारलाई मार्गनिर्देशन गर्ने अधिवेशन बनोस भनेर कामना गर्नुभयो । उहाँले प्रदेशमा हत्या, हिंसा, बलात्कारजस्ता अपराधका घटना घटिरहेको भन्दै नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । नीति तथा कार्यक्रम र बजेट एक अर्काको परिपूरक हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।  

यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीका कृष्ण चौधरीले प्रदेश सभा र सरकारले काम गरेर एउटा जग बसालेको उल्लेख गर्नुहुँदै भन्नुभयो– ‘यो आफैमा राम्रो हो । यसको मूल्याङ्कन जनताले अवश्य गर्नेछन् ।’

यसैगरी, जनता समाजवादी पार्टीबाट प्रतिनिधित्व गर्नुहुने मालामति रानाले दलको कार्यालयमा कार्यालय सहयोगीसमेत नपाएको गुनासो गर्नुभयो । सबै जनमसुदायले अनुभूति गर्नेखालको नीति तथा कार्यक्रम आउनु पर्ने उहाँले बताउनुभयो ।