राजु लामिछाने
रुकुमपश्चिम, चैत २२ गते । रुकुमपश्चिमस्थित नेपाली सेनाको चण्डीदल गणमा भूतपूर्व सैनिक सम्मेलन २०८२ सम्पन्न भएको छ । आइतबार गणको कार्य क्षेत्र रहेको रुकुमपश्चिम र रुकुमपूर्वका भूतपूर्व सैनिकहरुको सहभागितामा सम्मेलन सम्पन्न भएको हो ।
श्री नम्वर १९ बाहिनीका सहायक बाहिनिपति अनिल उपाध्यायको प्रमुख उपस्थितिमा सम्पन्न सम्मेलनको अवसरमा भूतपूर्व सैनिक परिवारका अशक्त व्यक्तिहरुलाई सहायक सामग्रीहरु उपलब्ध गराएको छ । सो अवसरमा चार जना भूतपूर्व सैनिक परिवारका सदस्यलाई सहायक सामग्री प्रदान गरिएको हो ।
सहायक बहिनिपति उपाध्यायले सैनिक परिवारमा फरक क्षमता भएका सदस्यलाई सहायक सामग्रीहरु हस्तान्तरण गर्नुभयो । चण्डीदल गणका अनुसार सामग्री पाउनेहरुमा रुकुमपश्चिमको मुसीकोट नगरपालिका –३ निवासी नेपाली सेनाका भूतपूर्व सैनिक हरिबहादुर पुन, रुकुमपूर्वको सिस्ने गाउँपालिका –५ निवासी भूतपूर्व सैनिक तिलकबहादुर शाहका छोरा महेन्द्र शाह, सोही स्थान निवासी भूतपूर्व सैनिक मानबहादुर बोहरा र पुथा उत्तरगंगा गाउँपालिका –१२ निवासी भूतपूर्व सैनिक चंखबहादुर बुढा मगरका छोरा मोनिकर्ण बुढा मगर रहनुभएको छ ।
पुनलाई एल्भो क्रचेज, शाहलाई ह्विल चियर, बोहरालाई बैशाखी र बुढा मगरलाई सेतो छडि हस्तान्तरण गरिएको छ । सम्मेलनमा रुकुमपूर्व र रुकुमपश्चिम जिल्ला निवासी नेपाली सेनाका १०३ जना भूतपूर्व सैनिकहरुको सहभागीता रहेको थियो ।
सम्मेलनमा रुकुमपश्चिमका ७९ र रुकुमपूर्वका २४ जना भूतपूर्व सैनिकहरुको सहभागिता रहेको थियो । सम्मेलनमा सहभागीलाई उपहार स्वरुप टोपी, मखलर, झोला र मण्डी उपलब्ध गराइएको थियो । सम्मेलनमा पेन्सन बुझिरहेका नेपाली सेनाका भूतपूर्व सैनिक तथा पारिवारिक निबृत्तिभरणमा रहेका व्यक्तिहरुको सहभागिता रहेको थियो । उहाँहरुलाई भ्रमण भत्तासहित सम्मेलनबाट बिदाइ गरिएको छ ।
सम्मेलनमा सहायक वाहिनिपति अनिल उपाध्याय, चण्डीदल गणका गणपति प्रमुख सेनानी बिनिश श्रेष्ठ र भूतपूर्व सैनिकहरु बिचमा अन्तरक्रिया गरिएको छ । अन्तरक्रिया कार्यक्रममा सहायक बाहिनीपति उपाध्यायले नेपाली सेनाको गौरव, विगत, वर्तमान र भूतपूर्व सैनिकहरुको योगदानको बारेमा चर्चा गर्नुभएको थियो ।