• ३ असार २०८१, सोमबार

सर्लाहीको बलरामा थप चारमा मलेरिया पुष्टि

blog

जनार्जन खत्री

सर्लाही, जेठ १६ गते । सर्लाहीको बलरा नगरपालिकामा मलेरियाका थप चार जना बिरामी भेटिएका छन् । गाउँमा स्वास्थ्यकर्मी खटाएर रगत परीक्षण गर्दा चार जना बिरामी थपिएको जिल्ला स्वास्थ्य कार्यालय मलङ्गवाले जनाएको छ । 

बलरा नगरपालिकाको वडा २ हथियौल र वडा ९ नरहरगञ्जमा यसअघि २२ जनामा मलेरिया अर्थात् औलो देखापरेको थियो । ठूलो सङ्ख्यामा मलेरियाका बिरामी भेटिएपछि सदरमुकाम मलङ्गवाबाट किट र औषधिसहित चिकित्सकको टोली गाउँमा खटाएर रगत परीक्षण गर्दा थप चार जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मलङ्गवाका प्रमुख डा. नवलकिशोर झाले जानकारी दिनुभयो । उहाँका अनुसार बिरामीको अवस्था सामान्य छ । 

एनोफिलिज जातको सङ्क्रमित पोथी लामखुट्टेको टोकाइबाट मलेरिया सर्छ । मलेरियाका बिरामीहरु भेटिएपछि स्वास्थ्य कार्यालय मलङ्गवाले बलरामा केही दिन अघिदेखि लामखुट्टे मार्न घर–घरमा कर्मचारी खटाएर औषधि छिट्ने काम गरिरहेको छ । 

सरकारले सन् २०२२ भित्र मलेरियाको ‘केस’ शुन्य पार्ने र सन् २०२५ भित्र यो रोगलाई उन्मुलन पार्ने लक्ष्य लिएको छ । जिल्लाको दक्षिण–पश्चिम भेगस्थित भारतीय सीमावर्ती क्षेत्रमा पर्ने बलरा नगरपालिकामा २६ जनामा यसको सङ्क्रमण देखापरेको हो । सरकारको लक्ष्यमा नै असर पर्नेगरी मलेरियाका बिरामी भेटिएपछि स्वास्थ्य सेवा विभाग र प्रदेश स्वास्थ्य निर्देशनालयले बलरामा चिकित्सकसहितको टोली खटाएर वस्तुस्थितबारे जानकारी लिइसकेको छ । 

ती दुई गाउँबाट अत्यधिक ज्वरो आएका बिरामीहरु प्रादेशिक अस्पताल मलङ्गवामा उपचार गर्न आएपछि स्वास्थ्य परीक्षण गर्दा उहाँहरुमा मलेरिया सङ्क्रमण रहेको पुष्टि भएको हो ।