• ३ असार २०८१, सोमबार

कर्णालीले खसभाषा संरक्षण गर्नुपर्छ : अध्यक्ष अवस्थी

blog

नेत्र शाही 

जुम्ला, जेठ १६ गते । भाषा आयोगका अध्यक्ष लवदेव अवस्थीले मातृभाषाको संरक्षणमा जोड दिनुपर्ने बताउनुभएको छ । भाषा आयोगले जुम्लामा बहुभाषिक शिक्षा नमूना, विकास प्रशिक्षण कार्यक्रममा अध्यक्ष अवस्थीले भाषाको विरासत र इतिहास बोकेको कर्णालीले मातृभाषा खसभाषाको संरक्षण आवश्यक रहेको बताउनुभयो । 

भाषा आयोगका केन्द्रीय अध्यक्ष डा. अवस्थी, भाषाका जानकार प्रा.डा जीवेन्द्रदेव गिरी, आयोगका सदस्य उषा हमालसहितको टोली जुम्लामा पुगेर खसभाषाको अवस्था र व्यवहार प्रयोगका विषयमा स्थानीय र सरोकारवालासँग सुझाव सङ्कलन तथा अन्तरक्रिया गरेको छ । 

आयोगले जुम्ला बहुमुखी क्याम्पसमा गरेको बहुभाषिक शिक्षा नमुना विकास प्रशिक्षण विषयक अन्तरक्रियामा विद्यालयस्तरबाटै खसभाषाको संरक्षण गर्न आवश्यक रहेको वक्ताहरुले जोड दिनुभयो । आयोगका अध्यक्ष अवस्थीले संविधानमै मातृभाषा शिक्षाको संरक्षण हुनुपर्ने भएकाले खस भाषालाई नबिर्सन तथा प्रयोगमा ल्याउन खसभाषीलाई अनुरोध गर्नुभयो । 

बालबालिकाले घरमा आमाले बोल्ने भाषामा स्थानीय तहले स्थानीय पाठ्यक्रम निर्माण गरेर अगाडि बढ्न सुझाव दिनुभयो । अध्यक्ष अवस्थीले घरमा बोलिने भाषा विद्यालयमा पढाइ नहुँदा मातृभाषा बिर्सिदै जाँदा प्रभावकारी हुन नसकेको बताउनुभयो । मातृभाषाको संरक्षण हुनुपर्नेमा अबको पुस्ताको आवश्यक रहेको उहाँले चर्चा गर्नुभयो । मातृभाषा बोल्न हीनताबाेध नगर्न  उहाँले अनुरोध गर्नुभयो ।  

चन्दननाथ नगरपालिका जुम्लाका नगरप्रमुख राजुसिहं कठायतले विद्यालयस्तरमा मातृभाषा शिक्षण प्रभावकारी बनाउन प्रतिबद्ध रहेको बताउनुभयो । उहाँका अनुसार खसभाषा संरक्षणका लागि शिक्षा समन्वय एकाइ र आवश्यक सल्लाहकारको सल्लाहमा अगाडि बढ्ने बताउनुभयो । 

स्थानीय खस भाषाका जानकार रमानन्द आचार्यले खसभाषाबाट नै नेपाली भाषा जन्मिएकाले खसभाषा संरक्षणमा अबको आवश्यकता रहेको बताउनुभयो । उहाँले नेपाली भाषाको उद्गमस्थल सिञ्जामा जतिवेलादेखि नागराजले खस राज्यको स्थापना गर्नुभयो त्यतिवेला खसभाषाको स्थापना भएकाले बदलिँदै नेपाली भाषामा परिणत भएको बताउनुभयो ।   

आयोगले विभिन्न भाषाका वर्ण निर्धारण, शब्द सङ्कलन, इतिहास लेखन, व्याकरण निर्माणलगायतका काम गरेको जानकारी गराएको छ । जुम्ला बहुमुखी क्याम्पसका प्रमुख डा. ओमप्रकाश आचार्यले आयोगले खसभाषाको वर्ण निर्धारण, शब्द सङ्कलन र इतिहास लेखन शुरुवात गरेको राम्रो काम भएको बताउनुभयो । अन्तरक्रियामा चन्दननाथ नगरपालिकामा १० वडाकै वडाध्यक्ष, विद्यालय व्यवस्थापन समिति र शिक्षासँग सरोकार राख्ने महानुभावहरुको उपस्थिति थियो ।