• ५ असोज २०८१, शनिबार

रसुवामा चोरीका घटना बढ्दै

blog

नमराज सुबेदी

नुवाकोट, जेठ १६ गते । रसुवामा शृङ्खलाबद्ध रुपमा चोरीका घटना भएका छन् । गत वैशाख पहिलो हप्तादेखि चोरीको घटनामा बढोत्तरी भएको देखिएको छ । जिल्लामा करिब दुई दर्जनभन्दा बढी घर, सहकारी, वडा कार्यालय, स्वास्थ्य संस्था लगायतमा चोरी भएको छ ।

केही संस्था तोडफोड मात्र गरिएको भए पनि घरहरूमा नगद तथा गरगहना र प्रायजसो सहकारीबाट नगद चोरी भएको प्रहरीको भनाइ छ । अहिलेसम्म प्रहरीले चोरीमा संलग्न व्यक्ति र गिरोह भने पत्ता लगाउन सकेको छैन । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार जिल्लाको कालीका र उत्तरगया गाउँपालिकामा चोरीका घटना भएको छ । 

कालिका बहुउद्देश्य सहकारी संस्थाबाट ७३ हजार ४ सय ४५ चोरी भएको सहकारीका व्यवस्थापक गोविन्द घिमिरेले बताउनुभयो । त्यस्तै उत्तरगया गाउँपालिका–४ कर्मीडाँडामा रहेको लहरेपौवा स्वास्थ्य चौकी र स्थानीयको घरमा पनि चोरी भएको छ । बिहीबार चोरी गर्ने व्यक्तिले जनजागरण वचत तथा ऋण सहकारी संस्थाको कार्यालय तोडफोड गरेको संस्थाका अध्यक्ष ओम आचार्यले बताउनुभयो । 

दर्जनौं घर, सहकारी तथा सरकारी भवनबाट चोरी भए पनि अहिलेसम्म चोरीमा संलग्न व्यक्ति वा समूह पक्राउ परेका छैनन् । कालिका गाउँपालिकामा विभिन्न स्थानमा सातवटा निजी घर तथा बेतिनीमा रहेको सामुदायिक स्वास्थ्य एकाइ साथै सहकारी संस्था र उत्तरगया गाउँपालिका –५ वडा कार्यालय र  निजीघर समेत तोडफोड भएको भन्दै प्रहरीमा उजुरी परेको छ ।

जिल्ला प्रहरी कार्यालयले अहिलेसम्म चोरीमा संलग्नलाई पक्राउ गरी कारबाही गर्न नसकेको बताएको छ । प्रहरी नायब उपरीक्षक कुलदीप चन्दकाअनुसार चोरीमा संलग्नको खोजी कार्य भइरहेको छ ।