• १७ असार २०८१, सोमबार

कुकुरले टोक्दा सोह्र जना बिरामी

blog

सर्लाही, जेठ १६ गते  । सर्लाहीको हरिवन नगरपालिका–८ र ११ मा छाडा कुकुरले आतङ्क मच्चाएको छ । बिहीबार र शुक्रबार ती दुई वडामा १६ जनालाई कुकुरले टोकिसकेको स्थानीयवासीले बताएका छन् । त्यसरी मानिसलाई टोक्दै हिँड्ने कुकुर बहुलाएको हुनसक्ने आशङ्का गरिएको छ । 

कुकुरले टोकेर वडा नम्बर ८ मा १० जना र वडा नम्बर ११ मा छ जना बिरामी परेको स्वास्थ्य चौकी सासापुरका इन्चार्ज श्यामविनोद कुशवाहाले जानकारी दिनुभयो । उहाँका अनुसार अढाई वर्षीय बच्चादेखि ५४ वर्षीय पुरुषसम्मलाई कुकुरले टोकेको छ । 

कुकुरले टोकेर बिरामी परेका १६ जनामध्ये घाँटीभन्दा माथिको भागमा टोकेर बिरामी भएका दुई बालकलाई थप उपचारका लागि काठमाडौँ रेफर गरिएको छ । कुकुरले घाँटीभन्दा माथिको भागमा टोक्यो भने बढी खतरा हुने नमुना अस्पताल हरिवनका डाक्टर सन्तोष यादवले बताउनुभयो ।