• ९ फागुन २०८१, शुक्रबार

यौन मनोविज्ञानको ‘दुःखी आत्मा’

blog

काठमाडौँ, फागुन ६ गते । नेपाली समाज यौनको विषयमा खुलेर बोल्न चाहँदैनन् । यौनको कुरा गर्दा मुख छोप्नेको सङ्ख्या अझ पनि यहाँ धेरै छ । अझ नेपाली चलचित्र इतिहासलाई हेर्ने हो भने यौन मनोविज्ञानको विषयमा निर्माण भएको चलचित्र निकै कम छन् । ‘भ्यालेनटाइन डे’ बाट प्रदर्शनमा आएको चलचित्र ‘दुःखी आत्मा’ अहिले युवापुस्ताको रोजाइको चलचित्र बन्न सक्छ । सधैँ नयाँ तथा सन्देशमूलक कथा पस्किन सिपालु निर्देशक दीपेन्द्र लामाले यस पटक श्रवण मुकारुङका कविता र यौन मनोविज्ञानका कुरालाई चलचित्रमार्फत लट्ठित बनाउन खोज्नुभएको छ । 

नेपालका प्रायः चलचित्रमा यौन शिक्षाका विषयले स्थान पाएको देखिँदैन र समाजमा बसेकाहरू अझै पनि यसबारे खुलेर बोल्न सक्दैनन् । यिनै कुरालाई चिर्न चलचित्र ‘दुःखी आत्मा’ ले विषयवस्तुलाई उठान गरेको छ । अहिलेको अस्तव्यस्त जीवनशैली, मानसिक तनाव र शरीरमा देखिने अनेकन प्रकारका रोगका कारणले गर्दा पुरुषमा यौनको समस्या धेरै देखिन्छन् । आखिर पुरुष आफ्नो यौनका समस्यालाई किन सधैँ दबाएर राख्छ ? ऊ समाज र परिवारसँग यौनको समस्याबारे किन खुलेर बोल्न सक्दैन ? चलचित्र यिनै प्रश्नभित्र घेरिएको छ । 

यौन दुर्बलताको समस्याले प्रेमिकालाई सुख दिन नसकेका छेवाङ लामा (दयाहाङ राई) ले लेखेको कविता सुन्न जो कोही लालयित छ तर छेवाङभित्र देखिएको यौन दुर्बलताको समस्या बुझ्ने कोही छैन । पहिलो प्रेमिकाले आफूमाथि नामर्द भन्ने शब्द प्रहार गरेपछि छेवाङलाई झन् आफ्नो जिन्दगी धिक्कार लाग्छ । उनी आफ्नो समस्या कसैलाई सुनाउन सक्दैनन् । उनीभित्र यस्तो समस्या छ भन्ने थाहा हुनेहरूले पनि उनको मजाक बनाइरहेका हुन्छन् । मिल्ने साथी जग्गु (अनुपविक्रम शाही) उनको जलेको घाउँमाथि मलम त लगाउन खोज्छन् तर उनी आफैँ पनि छेवाङ जस्तै पीडित हुन्छन् । छेवाङको घैँटामा घाम तब लाग्छ जब उनको भेट अनामिका (आँचल शर्मा) सँग हुन्छ । दुवै प्रेममा पर्छन् तर यसमा छेवाङ असफल हुन्छन् खान्छन् तर हार भने मान्दैनन् । छेवाङको समस्या थाहा पाएपछि अनामिकाले नै उनको उपचारलाई अगाडि बढाउने काम गर्छिन् । छेवाङको उपचार गर्न चिकित्सक पनि महिला नै पर्छिन् । अब पुरुषको यौनको समस्या महिलाको हातमा पुगेर सपारिन्छ त ? 

चलचित्र छेवाङको यौन मनोविज्ञानको कुराभित्र मात्र सीमित छैन । चलचित्रमा पैसा दिएर कविता लेख्न लगाउने तथाकथित लेखक, नेता र व्यापारीमाथि पेचिलो ढङ्गबाट प्रहार पनि गरिएको छ । पैसाको दुःखले कृति अर्कैको नाममा छपाउन विवस छेवाङमा जति दुःखपीडा आइलागे पनि सधैँ कवितामा नै रमाइरहन्छन् । अर्कोतिर अरूको कविता आफ्नो नाममा छपाउन लालयित नेता चन्द्र मोक्तान (बुद्धि तामाङलाई आफ्नो श्रीमती र काम गर्ने मजदुरलाई देखाउनका निम्ति पनि एउटा किताब आफ्नो नाममा छपाउन तम्सिएका हुन्छन् । 

‘माथि माथि शैलुङ्गेमा’, ‘तिमी तारेभिर’ लगायत चर्चित गीतका रचनाकार मुकारुङका कविताले चलचित्रलाई उच्च कोटीमा पु¥याउने काम गरेको छ । मुकारुङका अधिकांश कविता ‘दुःखी आत्मा’ का मुख्य कलाकार राईमाथि प्रस्तुत गरिएको छ । पात्रको कतिपय भाव र सोचाइलाई संवाद वा दृश्यमार्फत प्रस्तुत गर्न गाह्रो हुनेहुनाले निर्देशक लामाले संवादको भाव कवितामार्फत प्रकट गराउन खोजेका हुन् कि भन्ने भान पनि हुन्छ । चलचित्र पुरुषमा हुने इरेक्टाइल डिस्फक्सन अर्थात् लिङ्ग उत्तेजित नहुने समस्याको बारेमा केन्द्रित छ । 

निर्देशक लामाले यौन दुर्बलता जस्तो संवेदनशील विषयलाई रमाइलो र सहज ढङ्गले चलचित्रको कथामा पस्किएर आफ्नो निर्देशकीय क्षमतालाई उच्च बनाएका छन् । चलचित्रमा बोलिएको दुईअर्थी संवादले दर्शकलाई पेट मिची मिची हाँस्न बाध्य बनाउँछ भने कवि मुकारुङका १३ कविताले चलचित्रको संवाद र दृश्यमा सुनमा सुगन्ध भर्ने काम गरेको छ । सधैँ एकै ढर्रामा देखिने कलाकार दयाहाङको अभिनयले अवश्य नै दर्शकको मन जित्छ । आँचलका केही भड्किला दृश्यले दर्शकमा अनेकन कौतुहलता पैदा गराउन सक्छ । अन्य कलाकार अनुपविक्रम, बुद्धि तामाङ, रेअर राई, पुष्कर गुरुङ, कविता आले, लोकेन्द्र लेखक, दीया मास्के, आशान्त शर्मा, लुनिभा तुलाधर, शिशिर वाङ्देलको अभिनयलाई ठिकठाक भन्नु पर्छ । समग्रमा चलचित्र जुनार झैँ रसिलो र स्वादिलो बनेको छ ।