• १३ साउन २०८१, आइतबार
blog

रमेश पौडेल
पोखरा, जेठ १५ गते ।
झण्डै चार घण्टादेखि सम्पर्कविहीन रहेको तारा एयरको टुइनअटर नाइन एनएइटी जहाजको खोजी तीव्र पारिएको छ ।

पोखराबाट स्थानीय समयअनुसार बिहान ९ः५५ बजे जोमसोमका लागि १९ यात्रु र तीन चालक दलका सदस्यसहित उडेको उक्त जहाज अन्तिम पटक जोमसोम टावरसँग १०ः७ बजे घोडेपानी भन्ने स्थानमा सम्पर्कमा आएको थियो । त्यस पश्चात् उक्त जहाज सम्पर्कविहीन भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।


यता, सम्पर्कविहीन विमानमा सवार आफन्तका परिवार पोखरा विमानस्थलमा जम्मा भएका छन् । नेपाली सेनाको हेलिकोप्टर खोजी तथा उद्धारका लागि जोमसोमतर्फ प्रस्थान गरिसकेको छ ।

यसअघि जहाजको अवस्थाका बारेमा खोजतलासका लागि जोमसोम विमानस्थलबाट फिस्टेल एयरको हेलिकप्टरलाई त्यसतर्फ पठाइएकामा प्रतिकूल मौसमका कारण उक्त हेलिकोप्टर पुनः जोमसोम नै फर्किएको थियो ।


स्थानीयवासीहरुका अनुसार लेते भन्ने क्षेत्रमा सो जहाज ठोक्किएको हुन सक्ने जनाइएको छ ।

स्थलमार्गबाट खोजीकार्य गर्न नेपाली सेना र नेपाल प्रहरी त्यसतर्फ प्रस्थान गरिसकेको केन्द्रले जनाएको छ ।