• १३ असोज २०८१, आइतबार

बेपत्ता विमान खोजीमा पोखराबाट सेनाको हेलिकोप्टर जाँदै

blog

काठमाडौं, जेठ १५ गते । पोखराबाट मुस्ताङको जोमसोम विमानस्थलका लागि उडेको तारा एयरको (९एन एइटी)  कल साइनको ट्विनअटर विमान मुस्ताङको लेते भन्ने स्थानमा ठोक्किएको आशङ्का गरिएको छ । यसको औपचारिक पुष्टि भने हुनसकेको छैन । स्थानीय नरसिंह शेरचनले लेते र घासा क्षेत्रको बीचबाट आवाज एको जानकारी दिनुभयो । 

हाम्रा गण्डकी प्रदेश संयोजक रमेश पौडेलका अनुसार, खोजी कार्यका लागि जोमसोम विमानस्थलबाट लेते र घासा क्षेत्रतर्फ गएको फिस्टेल एयरको हेलिकोप्टर बीचबाटै फर्केको छ । मौसम खराब भएकाले खोजी गर्न नसकेपछि पुनः जोमसोम विमानस्थलमै फर्केको प्रदेश कार्यालय पोखराका प्रहरी सहायक निरीक्षक जीबलाल सुवेदीले जानकारी दिनुभयो । 

यसैबीच, खोजी गर्न काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टर पोखरामा अवतरण गरेर त्यहाँबाट सेनाका प्रमुख बाबुराम श्रेष्ठको नेतृत्वको टोली लेतेतर्फ प्रस्थान गरेको छ । मुस्ताङका अधिकांश स्थानमा छिटो छिटो मौसम परिवर्तन हुने गर्दछ । 

आइतबार विहान ९:५५ बजे उडेको जहाज सम्पर्कविहीन भएको विमान मुस्ताङको लेतेमा ठोक्किएको हुनसक्ने जानकारी प्राप्त भएको छ । पोखरा विमानस्थलका अनुसार घोरेपानी भन्ने ठाउँसम्म पुग्दा सम्पर्क कायमै थियो । त्यसपछि सम्पर्कविहीन बनेको थियो । 

यात्रु १९ र चालक दलका सदस्य तीनसहित जम्मा २२ जना सो जहाजमा रहेको जानकारी प्राप्त भएको छ । जसमा छ विदेशी, १३ जना नेपाली र तीन जना चालकदलका सदस्यसहित  २२ जना लिएर उडेको थियो । पोखरा विमानस्थलबाट तारा एयर र समिट एयरका जहाज सँगसँगै उडेका थिए ।

तारा एयरको जहाज जोमसोम विमानस्थल नै नपुगी फर्केको स्थानीयबासीको भनाइ  छ । विमानमा खराब भएर वा मौसमका कारण जहाज अवतरण हुन नसकेको भन्ने बारे केही पनि खुल्न सकेको छैन । 

आहिलेसम्म सम्पर्कविहीन जहाजको खोजीकार्य सुरु गरिएको तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिनुभयो । आइतबार विहानैदेखि मौसम बदली हुँदा देशैभर वर्षा  भएको थियो ।