• ८ मंसिर २०८१, शनिबार

हिमाल चढ्नेको तथ्याङ्क नै छैन

blog

काठमाडौँ, जेठ १५ गते । यस वर्ष हिमाल आरोहण गर्नेको तथ्याङ्क यकिन हुन सकेको छैन । सगरमाथालगायत विभिन्न २७ वटा हिमाल आरोहणका लागि ९८६ जनाले अनुमति लिएका थिए । अनुमति लिएकामध्ये कतिपय त आरोहणपछि आफ्नो मुलुकमा समेत फर्किइसकेका छन् तर पनि तिनको यकिन सङ्ख्या आएको छैन ।

पर्यटन विभागले आरोहणलाई मर्यादित बनाउन यस वर्ष १०५ जना सम्पर्क अधिकृतलाई खटाएको थियो तर कुन हिमालमा कति जनाले आरोहण गरे, तोकिएको समयमा सम्बन्धित हिमालमा सम्पर्क अधिकृत पुगे नपुगेकोसमेत अनुगमन नहुँदा यकिन आरोहीबारे विभाग अनभिज्ञ छ ।

आरोहण क्षेत्रमा फितलो अनुगमनकै कारण अघिल्ला वर्षमा पर्वतारोहण दलसाथ खटाइएको स्थानमा आरोहीसँग नगई राजधानीमै बसेर भत्ता पचाउने गरेको पाइएको थियो । यस वर्ष पनि खटाइएको स्थानमा उनीहरू पुगे नपुगेकाबारे अनुगमन भएको छैन ।  

आरोहण दललाई निगरानी गर्न, कानुनी झमेला फुकाइदिन, पर्यटकलाई गलत काम गर्न नदिन, फोहोरमैला व्यवस्थापन गर्न तथा सम्बन्धित हिमालको आरोहण गरे नगरेकाबारे आधिकारिक जानकारी दिने जिम्मेवारी सम्पर्क अधिकृतको हुन्छ । आरोहण सुरक्षित राख्न अधिवक्ता, सम्पर्क अधिकृत, सगरमाथा आरोही सङ्घका सदस्य, सुरक्षाकर्मी, चिकित्सकलगायत आधार शिविरमा सक्रिय रहनुपर्ने नियम छ । 

यसअघिका वर्षमा आरोहणबारे दैनिक रूपमा विवरण सार्वजनिक गरिन्थ्यो । यस वर्ष आरोहण सकेर पुराना डोरी निकाल्ने समय भइसक्दा पनि पर्यटन विभागले तथ्याङ्क सार्वजनिक गर्न सकेको छैन ।

पर्यटन विभागबाट सन् २०१९ को वसन्त ऋतुमा सगरमाथा आरोहणको अनुमति लिएका विदेशीमध्ये पाँच जना आरोही सगरमाथा शिखरमा नपुगी झुटा कागजात तयार पारी प्रमाणपत्र लिएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छानबिन गरेको थियो । 

पर्यटन विभागको आरोहण शाखाका निर्देशक सूर्यप्रसाद उपाध्यायले यस वर्ष सबै हिमाल गरेर छ सयभन्दा बढीले आरोहण गरेको जानकारी दिनुभयो तर सगरमाथा आरोहणका लागि खुम्बुमा खटिनुभएका पर्वतारोहण अनुगमन  तथा सहजीकरण समिति (खुम्बु)का सदस्यसचिव खेमलाल गौतमले सगरमाथामा मात्रै छ सयभन्दा बढीले आरोहण गरेको बताउनुभयो । जबकि यस वर्ष सगरमाथा आरोहणका लागि मात्रै ३२५ जनाले आरोहण अनुमति लिएका थिए ।विभागका निर्देशक उपाध्यायले सगरमाथामा आरोहणका लागि अनुमति लिएका ८० प्रतिशतले आरोहण गरिसकेको बताउँदै यकिन तथ्याङ्क जेठ अन्तिमसम्ममा सार्वजनिक हुने बताउनुभयो ।

त्यस्तै एक आरोहीले मे ८ मा सार्वजनिक गर्नुभएको तस्बिरमा आरोहणको क्रममा ट्राफिक जाम भएको देख्न सकिन्छ । उक्त विषयमा समेत पर्यटन विभागले कुनै चासो नदेखाएको विभाग निकट स्रोतको भनाइ छ । विगतमा सगरमाथा चढ्ने आरोहीको सङ्ख्या उच्च रहँदा सगरमाथामै लामो लाइन देखिने गरेको थियो ।

यस पटक पनि हिलारी स्टेप र साउथ समिटबाट एक सय मिटरको दूरीमा रहेको सगरमाथाको चुचुरोसम्म मे महिनाको ११ र १२ मा धेरैले हिमाल चढेका कारण झन्डै ४५ मिनेट जति आरोही रोकिनु परेको भए पनि विभागले भने त्यसलाई सामान्य अवस्था भन्दै ट्राफिक समस्या नभएको दाबी गरेको छ ।

त्यस्तै आरोहणका क्रममा पर्वतारोहणसँग प्रत्यक्ष सम्बन्ध रहेको वस्तुबाहेकका सामान लैजान प्रतिबन्ध गरे पनि यस वर्ष आरोहीले झन्डा, भलिबललगायतका सामग्री सगरमाथाको चुचुरोमा पु-याएका छन् । विभागबाट अनुमति नलिई चुचुरोमा पु-याइएका वस्तुबारे समेत विभाग तथा मन्त्रालय अनभिज्ञ रहेको देखिएको छ । पर्वतारोहणमा पछिल्लो समय आफूखुसी कीर्तिमानीको दाबी गर्नेको समेत सङ्ख्या बढ्दै गएको छ ।

विभागका अनुसार शनिबारसम्म यस वर्ष आरोहण सम्पन्न गरेर फर्किएका एक सय आरोहीले आरोहण गरेको प्रमाणपत्र पाएका छन् । सरकारले यस वर्ष आरोहण अनुमति दिएबापत ४९ करोड ३७ लाख रुपियाँ हिमाली दस्तुर उठाएको छ ।

Author

मीनराज भण्डारी