चन्द्रकिशोर
आज गणतन्त्र घोषणा भएको दिन । यो गणतन्त्र त्यसै आएको होइन । लामो सङ्घर्षको प्रतिफल हो । यो अचानक प्रकट भएको पनि होइन । नेपालीजनको वर्षौंको स्वप्न थियो । २०६२/०६३ को आन्दोलनको अन्तिम दिन नेपालको प्रमुख ऐतिहासिक सहर वीरगन्जका आन्दोलनकारीहरूले सडकबाटै राष्ट्रपति घोषणा गरेका थिए । यो घटनाले दर्शाउँछ गणतन्त्र नेपालको सपना नेपाली मानसमा पुरानो हो । हाम्रो गणतन्त्र आयातित होइन । यो त नेपाली समाजको स्वाभाविक विकासक्रमको उपज हो । हामीले लोकतान्त्रिक गणतन्त्र ल्याएका छौँ । कतै गणतन्त्र पद्धति भएर पनि लोकतन्त्र नहुन सक्छ ।
हामीले लोकतान्त्रिक व्यवस्था आत्मसात् गर्ने क्रममा एकात्मक शासनलाई हटायौँ । केन्द्रीय वर्चस्वशाली पद्धतिलाई समाप्त ग-यौँ । आधुनिक नेपालमा भएका सबै क्रान्तिले जनतालाई बलियो बनाउँदै आएको छ । प्रत्येक आन्दोलन अर्को आन्दोलनको पूरक हो वा यसो भनौँ प्रत्येक आन्दोलनले परिवर्तनलाई गति दिएको छ । गणतन्त्र नेपालको आकाङ्क्षा ००७ सालदेखि नै रहे पनि त्यो ०६३ को आन्दोलनपछि मात्र सम्भव भयो । गणतन्त्र र सङ्घीयता एकअर्कालाई पोषण दिन्छ । हामीले गणतन्त्रसँगै प्रादेशिक संरचनामा जाने सङ्कल्प राख्यौँ ।
गणतान्त्रिक व्यवस्थाको सोझो अर्थ जनता सार्वभौम हुनु हो । आफ्नो मुलुकको भाग्यविधाता जनता स्वयं हो । राष्ट्रियताको प्रतीक वा पहरेदार स्वयं जनता हुनु हो । राष्ट्रियताको संरक्षण कुनै अमूक वंश वा अमूक व्यक्ति विशेषले गर्ने होइन । विविधतायुक्त यो मुलुकका प्रत्येक जनताले गर्ने हो । गणतन्त्रमा कुनै समुदाय वा क्षेत्रका बासिन्दालाई ‘राष्ट्रवादी’ वा ‘राष्ट्रघाती’ भनेर विभाजन कोरिँदैन । राज्यमा सबैको समान हिस्सेदारी हुन्छ । बहुलता, विविधता र सार्वभौम नागरिक नै राष्ट्रियताका आधार हुन् । गणतन्त्रमा कुनै एक भाषा, भेष, धर्म वा जाति श्रेष्ठ हुँदैन । नेपालका सबै भाषा, भेष, जाति वा धर्म बराबरका हुन् । गणतन्त्र र सङ्घीयताका कारण नेपालको राष्ट्रियताका आयाम र अवयवहरूलाई भावनात्मक रूपमा एकीकृत बनायो । संविधानभन्दा ठूलो कोही छैन । मुखबाट जे ‘बक्स’ भयो त्यो कानुन बन्दैन । कानुन– नियमहरू जनताका निर्वाचित प्रतिनिधिहरू बनाउँछन् । प्रादेशिक अभ्यासले राष्ट्रिय एकताको जग थप बलियो भएको छ ।
‘गणतन्त्रले मुलुकको एकतालाई जोगाउन सक्दैन, सङ्घीयताले गर्दा देश टुक्रिन्छ, राष्ट्रलाई एउटा अभिभावक चाहिन्छ’ भन्ने आशङ्का वा सङ्कथनहरूलाई हाम्रा स्वयंका सचेत अभ्यासले तिरोहित गरिदिएको छ । शासक बन्न कुनै रानीको गर्भबाट जन्मिनु पर्दैन । कुनै पनि नेपाली सन्तति नेपालको सर्वोच्च पदमा पुग्न सक्छ । नेपालको प्रथम राष्ट्रपति डाक्टर रामवरण यादव मधेशी समुदायबाट थिए । मधेशीहरू यो देश आफ्नो भए पनि राज्य आफ्नो नभएको गुनासो राख्थे । राज्य असमावेशी भयो भनेर आन्दोलन गर्दै थिए तर त्यही पछाडि पारिएको समुदायबाट मुलुकको राष्ट्राध्यक्ष छनोट हुन पुग्नु र सबैले सहज स्वीकार गर्नु, यो गणतन्त्रमै सम्भव भएको हो । यो नेपाली समाजको सामथ्र्य र गणतन्त्रको सौन्दर्य हो ।
गणतन्त्रले आफूसँगै समावेशीको कार्यसूची ल्यायो । अर्थात् गणतन्त्र आउनु भनेको शासनको सर्वोच्च शिखरमा कुनै जनताको सन्तान पुग्नु मात्र होइन, शासनको स्वरूपलाई एकात्मकताबाट फेर्नु हो र शासनमा सबैको पहुँच र प्रतिनिधित्वलाई सुनिश्चित गर्नु हो । त्यसैले गणतन्त्र आज सम्पूर्ण नेपाली मत–मनको प्रतीक बन्न पुगेको छ । अहिले नेपाली समाजको हरेक क्षेत्रमा गणतन्त्र पद्धतिको व्यापक उपस्थिति छ । हाम्रो सामान्य बोलीचालीमा समेत घुसेको गणतन्त्र भन्ने पदावलीले लामो दूरी तय गरेको छ । यसले एउटा शक्तिशाली विम्ब बोक्छ । अहिले विचारको विविधता छ ।
गणतन्त्रको सौन्दर्य यो हो कि कोही यसप्रति आलोचनाको मत राख्न सक्छ । यसले गर्दा भर्खरै जन्मँदै र फैलिने क्रममा रहेको राष्ट्रपति संस्था खुम्चिँदैन । राज्यसँग सम्झौता गरेर बाँच्ने अथवा राज्य–पक्षीय विचार प्रवद्र्धन गरेर मात्र बाँच्नु पर्दैन । नागरिकको पक्षमा राज्यको निगरानी गर्ने सोच बाक्लिँदैछ । असङ्गत व्यवहारको तुरुन्त आलोचना गरिन्छ । भुइँमान्छेमा बढ्दो चेतनाले गर्दा अब शासनका बेथितिलाई नै बलियो बनाउने र सत्ता सञ्चालकहरूको स्वार्थलाई पोस्ने काम हुँदैन । गणतन्त्रमा कोही भयभीत छैनन् । कोही बोलेकै कारण थुनिने, ज्यान मारिने त्रासमा छैनन् । विगतमा जुन राजालाई कथित रूपमा उदार एवं सुशिक्षित भनियो तिनकै पालामा न्यायप्रेमी जनताको गैरन्यायिक हत्या बढी भएको तथ्य छ । नेपालमा संविधान प्रदत्त हक भएकाले आपसमा सङ्गठित भएर निश्चित उद्देश्य पूर्तिका लागि अघि बढ्न केहीले रोक्ने भएन । वाक् स्वतन्त्रता, प्रकाशन स्वतन्त्रता, तथा सङ्गठन स्वतन्त्रताजस्ता नागरिक अधिकारहरू संवैधानिक रूपमै प्रत्याभूत गरिएकाले नागरिकले चाहेका सङ्घ संस्था खुल्न सक्ने भए । नागरिकहरूले सार्वजनिक सरोकारका मुद्दाबारे खुलेर बहस–विमर्श गर्ने मञ्च वा स्थललाई सार्वजनिक वृत्त भनिएको छ ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्र एउटा समाज सञ्चालनको प्रक्रिया हो जुन नेपाली समाजमा शासनको अभ्यासमा केही वर्ष बिते तर यसै कालखण्डमा जनताकी छोरी नेपालको दोस्रो राष्ट्रपति चुनिनु भयो । यो परम्परागत नेपाली समाजका लागि फड्को साबित भयो । गणतन्त्र छोटो अवधिमै भिन्न स्वरूपमा क्रमिक परिष्कार हुँदै आएको पाइन्छ । त्यसैले गणतन्त्रको परिभाषालाई निश्चित गर्न सकिँदैन । यो कसरी अभ्यासमा छ ? राष्ट्रपति पदमा को पुगे ? राष्ट्रपति संस्थाको चाल, चरित्र र चेहरा कस्तो छ ? यसबाट गणतन्त्रको परिभाषा समयानुकूल परिष्कृत स्वरूपमा व्यक्त हुँदै जान्छ । पहिलो संविधान सभाले नेपाललाई विधिवत् ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र’मा रूपान्तरण गरेको हो । अहिलेसम्म राष्ट्रपतिमा डा. रामवरण यादवपछि विद्यादेवी भण्डारी बहालमा हुनुहुन्छ । ०६२/०६३ को आन्दोलनपछि गणतन्त्रको ढोका खुल्यो तर दुर्गानन्द झा, डा. लक्ष्मीनारायण झा, रामराजाप्रसाद सिंहहरूको सपना, सङ्कल्प र सङ्घर्षले गर्दा ०६३ को आन्दोलनका बेला सम्भव भयो । गणतन्त्र प्राप्तिका लागि व्यक्तिगत रूपमा र सानो सानो समूह बनाएर समूहगत रूपमा पनि पटक पटक आन्दोलन हुँदै थिए । लामो समयसम्म राजा र जनताको द्वन्द्व, राजाहरूले विभिन्न घुम्तीमा लोकतन्त्रको हत्या गर्ने गरेको प्रवृत्ति तथा राष्ट्रिय मुक्तिको मुख्य अवरोधकका रूपमा राजसंस्था रह्यो । तसर्थ नेपाली गणतन्त्र नेपालीजनको स्वतन्त्र जागृत चेतनाको सामूहिक गान हो ।
राष्ट्रपति–उपराष्ट्रपति संस्था संस्थागत हुँदै आएको छ । यसका अतिरिक्त अनेकौँ सीमा र सङ्कट देखापरेको छ । गणतन्त्रमा राज्यमाथि नागरिक नियन्त्रण हुनुप-यो । भुइँ तहका द्वन्द्वहरूको व्यवस्थापन गर्ने संरचनात्मक व्यवस्था हुनुप-यो । उदीयमान तनाव र घर्षणहरू ठम्याउने र सम्याउने विधि हुनुप-यो । जनता नै सर्वोपरि हुन् भन्ने व्यवहारमै प्रष्टिनु प-यो । तन्त्रभन्दा माथि जनता छ भन्ने नैतिक भावको सामाजिकीकरण हुनुप-यो । तन्त्रले जनतालाई कठपुतली बनाएको देखिनु भएन । भुइँ तहमा नागरिकको सेवकका रूपमा राज्य देखिनु प-योे । राष्ट्रपति र उपराष्ट्रपतिको पद भनेको गणतन्त्रको प्रतीक हो । उहाँहरूले आफू सामान्य जनताको प्रतिनिधि हूँ भन्ने बुझ्नु प-यो । ‘सवारी’ वा ‘सम्बोधन’ सम्भ्रान्त शब्दहरूको लिगेसीबाट गणतन्त्र सङ्क्रमित हुनुभएन ।
मर्यादित तर आममान्छेको भाषाको प्रचलन चलाइनुपर्छ । आमनागरिकमा गणतान्त्रिक सोचको वृद्धि र संस्कारको विस्तार हुँदै आएको छ । समाजको पिँधमा रहेका मान्छेले गणतन्त्रको अनुभूति गर्न सक्नुपर्छ । गणतन्त्र केवल राजनीतिक व्यवस्था मात्र होइन, यो एक प्रकारको सांस्कृतिक मानस हो । यो परिवर्तित अर्थ व्यवस्थालाई स्वरूप दिने प्रक्रिया हो, त्यो भनेको राज्यको प्रत्येक नीतिले भुइँमान्छेको चुलोमा कस्तो र कसरी बदलाव ल्याउनु हो । गणतन्त्रले आमनागरिकका जीवनका हरेक क्षेत्रलाई सकारात्मक असर दिन सक्नुपर्छ । वर्चस्वशाली समूहको चिन्तन, व्यवहार र प्रवृत्तिबाट राष्ट्रपति संस्था सङ्क्रमित हुनुभएन । कल्पना गरौँ, हाम्रा राष्ट्रपति शीतल निवासबाट पैदल हिँड्दै टुँडिखेलमा प्रातः भ्रमणमा आए वा दिउँसो कुनै पुस्तकालय छिरेर आमपाठक जस्तै देखिए भन्ने त्यसले कत्तिको शक्तिशाली सन्देश दिन्छ । आखिर पदावधि सकिएपछि पुनः सामान्य नागरिकमै फर्किने हो ।
हो नदी बाङ्गोटिङ्गो हिँडे पनि बग्ने अगाडि नै हो । गणतन्त्र आमनेपालीको जीवनको अभिन्न हिस्सा बन्दै आएको छ । यो यात्रा आफैँ परिष्कृत हुँदै जान्छ । गुणात्मक सुधार गर्दै जान्छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र आफैँले आफूसँग सिक्दै, सच्चिँदै जाने हो । यसको स्वीकार्यता विस्तार हुँदै जाने हो । गणतन्त्र जिन्दावाद !