रङ्गेली समाचारदाता
विराटनगर, साउन २० गते । कोशी प्रदेशको राजधानी विराटनगरबाट ९० किलोमिटरको दुरीमा भारतको पूर्णियामा विमानस्थल सञ्चालनको तयारी छ । भारतसँग सीमा जोडिएको विराटनगरमा भने त्यहाँको हवाई सेवा सञ्चालनमा आएसँगै त्यसबाट फाइदा लिने विषयमा बहस सुरु भएको छ ।
विराटनगरका होटेल व्यवसायी तथा नेपाल पर्यटन व्यवसायी एसोसिएसनका उपाध्यक्ष राजन श्रेष्ठले विमानस्थल सञ्चालनसँगै प्रशस्त लाभ लिने अवसर सिर्जना हुने बताउनुहुन्छ । उहाँका अनुसार पहिलो लाभ ट्राभल्स एन्ड टुर एसोसिएसन अन्तर्गतको सेवा दिँदै आएका नेपाली व्यवसायीले पाउने छन् । त्यसपछि होटेलमा यसको प्रत्यक्ष लाभ हुने छ ।
तेस्रो र महत्वपूर्ण चाहिँ विराटनगर विमानस्थलबाट पर्यतीय उडानका प्याकेज सञ्चालन गर्ने बाटो निजी क्षेत्रलाई खुल्ने श्रेष्ठले बताउनुभयो ।
भारतीय सञ्चार माध्यमले विमानस्थल निर्माण अन्तिम चरणमा पुगेको उल्लेख गरेको श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार यही साउन ३० भित्र उद्घाटन हुने कुरा सार्वजनिक भएसँगै त्यसको तयारी यहाँका व्यवसायीले पनि गर्न थालिसकेका छन् ।
श्रेष्ठले झापा काँकडभिट्टाबाट २२ किलोमिटर पूर्वमा रहेको पश्चिम बङ्गालस्थित बागडोगरा विमानस्थलको लाभ काँकडभिट्टा र पूर्वका जिल्लाले लिइरहेको उदाहरण दिनुभयो । विराटनगरबाट १६५ किलोमिटर दक्षिणमा रहेको बिहारको दरभङ्गाको विमानस्थलको केही लाभ विराटनगरले पनि लिइरहेको उहाँको भनाइ छ ।
पूर्णियामा विमानस्थल सञ्चालनमा आउँदा नेपालीलाई भारत जान र भारतीयलाई नेपाल आउन अझै सहज हुने विश्वास उहाँको छ । विराटनगरका लागि बागडोगरा वा दरभङ्गाको विकल्प पूर्णियाले दिने छ, त्यति मात्रै नभई नजिकै रहेको विमानस्थलबाट भित्रिने पर्यटकलाई विराटनगरले स्वागत गर्ने पहिलो अवसर पाउने श्रेष्ठको बुझाइ छ ।
यसका कारण बताउँदै व्यवसायी श्रेष्ठले भन्नुभयो, “विराटनगरबाट बागडोगरा र दरभङ्गा पुग्न चार घण्टा लाग्छ, पूर्णिया डेढ घण्टामा पुगिन्छ ।”
पूर्णियाबाट भारतका नयाँ दिल्ली, मुम्बई, बैङ्गलुरु र हैदराबादमा उडान हुने बताइएको छ । उहाँले माउन्टेन प्याकेज दिएर भारतबाट भित्रिने पर्यटकलाई उडान सेवा प्रदान गर्नका लागि निजी क्षेत्रले भए पनि काम सुरुवात गर्न सक्ने बताउनुभयो । त्यसका लागि सरकारले विराटनगर विमानस्थल हुँदै पर्वतीय उडानको सेवाका लागि सहजीकरण गरिदिए अझै नियमित र सेड्युल उडान हुन सक्ने उहाँको बुझाइ छ ।
पर्यटन व्यवसायी मात्रै नभई यहाँका उद्योगीले समेत यसले लाभ हुने बताएका छन् । उद्योग सङ्गठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले उद्योग–व्यापारका लागि सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगी आउजाउ गर्न सहज भएको बताउनुभयो ।
यसअघि विराटनगर विमानस्थलबाट व्यावसायिक उडान गरिएको थियो । पर्यटन तथा ट्राभल्स एसोसिएसनको पहलमा भएको पर्वतीय उडान दिगो हुन सकेको थिएन । पर्यटन व्यवसायीले पूर्णिया विमानस्थलबाट पर्यटक भित्र्याउने प्याकेज भारतका सहरमा लिएर जाने बाटोसमेत खोलेकाले नयाँ पहल लिन सक्ने सम्भावना बढेको बताएका हुन् ।