• २० साउन २०८२, मङ्गलबार

पूर्वराष्ट्रपति बोल्सोनारोलाई अदालतको आदेश उल्लङ्घन गरेको आरोपमा नजरबन्दको आदेश

blog

पूर्वराष्ट्रपति जायर बोल्सोनारो ।

ब्रासिलिया, साउन २० गते । ब्राजिलको सर्वोच्च अदालतका न्यायाधीशले पूर्वराष्ट्रपति जायर बोल्सोनारोलाई सामाजिक सञ्जालमा कुनै पनि बयान दिन प्रतिबन्ध लगाएको अघिल्लो न्यायिक आदेश उल्लङ्घन गरेपछि नजरबन्दमा राख्न आदेश दिएका छन् ।

यो आदेश चलिरहेको कानुनी कारबाहीको एक भागका रूपमा आएको छ जसमा बोल्सोनारोमाथि सन् २०२२ को राष्ट्रपति चुनावको नतिजा उल्ट्याउने षड्यन्त्र गरेको आरोप लगाइएको छ । अदालतको कागजातअनुसार न्यायाधीश अलेक्जान्ड्रे डे मोरेसले न्यायिक प्रतिबन्धहरूको पालना गर्न बारम्बार र जानाजानी असफलता भएको निर्णयको कारण बताउनुभयो । 

उहाँले बोल्सोनारोले आइतबार राष्ट्रव्यापी विरोध प्रदर्शनका क्रममा आफ्ना समर्थकहरूले पुनः पोस्ट गरेको सामग्रीमार्फत फेरि आफ्नो प्रतिबन्धको सर्तहरू उल्लङ्घन गर्नुभएको बताउनुभयो । ७० वर्षीय पूर्वराष्ट्रपति पहिले नै इलेक्ट्रोनिक एङ्कल ब्रेसलेट लगाउन, रात र सप्ताहन्तमा घरमै बस्न र सामाजिक मिडिया प्लेटफर्महरू प्रयोग गर्न वा कुराकानी गर्न पूर्ण प्रतिबन्धसहित कडा सर्तहरूमा हुनुहुन्छ ।

बोल्सोनारोले आफ्नो चुनावी पराजयपछि राष्ट्रपति लुइज इनासिओ लुला दा सिल्भाको शपथ ग्रहण समारोह अवरुद्ध गर्ने प्रयाससँग सम्बन्धित आरोपहरूको सामना गरिरहनुभएको छ । यी आरोपले लामो जेल सजाय दिन सक्छ । उहाँको मुद्दा आगामी हप्ताहरूमा समाप्त हुने अपेक्षा गरिएको छ ।

यसैबिच, बोल्सोनारोका हजारौँ समर्थक दुई दिनअघि सन् २०२३ जनवरी ८ मा सरकारी भवनहरूमा भएको आक्रमणको अभियोग खेपिरहेकालाई माफी दिन माग गर्दै साओ पाउलो र रियो डि जेनेरियोमा भेला भएका थिए । रासस/क्युएनए