• २० साउन २०८२, मङ्गलबार

३१औँ विश्व आदिवासी दिवस

भाषणले मात्रै आदिवासीको खाद्य सुरक्षा हुदैन : अध्यक्ष शेर्पा

blog

आदिवासीको आत्मनिर्णयको अधिकार : खाद्य सुरक्षा र सार्वभौमको बाटो विषयक प्यानल छलफल कार्यक्रममा सहभागि ।

काठमाडौँ, साउन २० गते । राष्ट्रिय आदिवासी जनजाति महिला महासङ्घका अध्यक्ष ङिमी शेर्पाले आदिवासीको खाद्य सुरक्षा सम्बन्धी ज्ञानको सुरक्षा हुनुपर्ने बताउनुभएको छ । 

३१औँ विश्व आदिवासी दिवसको अवसरमा महासङ्घले मङ्गलबार आयोजना गरेको ‘आदिवासीको आत्मनिर्णयको अधिकार : खाद्य सुरक्षा र सार्वभौमको बाटो विषयक प्यानल छलफल कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । 

विशेषगरी, आदिवासी महिलासँग यो ज्ञान रहेकोले यसको संरक्षणमा महिलाको भूमिका महत्वपूर्ण हुने उहाँको भनाइ छ । उहाँले भाषण गरेर मात्रै खाद्य सुरक्षा नहुने विषयमा जोड दिनुभयो । 

उहाँले भन्नुभयो, “भाषण मात्रै खाद्य सुरक्षा हुँदैन । माटोमा हातै नलाने यसो गर्नुहुँदैन । आफ्नो खाद्यन्नका लागि आफैं बोट, विरुवा रोप्नुपर्छ ।” खाद्यन्नमा परनिर्भर हुन नहुने उहाँको भनाइ छ । 

उहाँले महिलाको आत्मनिर्णयको अधिकार भन्नाले आफू कसरी बाँच्ने भन्ने निर्णय गर्नसक्ने अधिकार भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “आत्म निर्णयको अधिकार भनेको कसरी बाँच्ने ? कोसँग विवाह गर्ने ? बच्चा कति जन्माउने भन्ने अधिकार हो । यो आफूले घरभित्र लागू गर्न सकेन भने बाहिर समाजमा अरु अधिकार लागू गर्न सकिँदैन ।

कार्यक्रममा महासङ्घका संस्थापक सदस्य यशो कान्ति भट्टचनले अन्तर्राष्ट्रिय कानुन तथा नेपालको संविधानमा उल्लेख भएका आदिवासी जनजातिको जल, जङ्गल, जमिन लगायत प्राकृतिक स्रोतसम्बनधी कानुन कार्यान्वयन हुन नसकेका कारण आदिवासी जनजाति समुदाय आक्रोशित हुने गरेको बताउनुभयो । उहाँले सामूहिक रुपमा कार्यमूलक ढङ्गले अघि बढ्नुपर्नेमा जोड दिनुभयो । 

भट्टचनले भन्नुभयो, “अन्तिम परिणाम भनेको एक्सनमा जानु नै हो । कार्यमूलक तरिकाले संविधान कसरी संशोधन गर्ने । सरकार हाम्रो अभिभावक हो । दबाब दिएर हुन्छ कि, कसरी हुन्छ मिलेर अघि बढ्नुपर्छ । हाम्रो अधिकारको लागि लड्नुपर्‍यो ।” उहाँले आदिवासीको अर्थ मूल्य, मान्यता, प्रचलित काुनन, परम्परागत ज्ञान, जल, जमिनसँग गाँसिएको बताउनुभयो । 

नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्ष गेल्जे लामा शेर्पाले आदिवासी खाद्यन्नसम्बन्धी ज्ञान महिलामा रहेको भन्नुहुँदै यसको पुस्तान्तरणका लागि समेत महिलाको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

उहाँले आदिवासीको भूमि अधिकार उनीहरुसँग नै नरहेको भन्नुहुँदै यसका लागि हक, अधिकारको माग गर्नुका साथै यसको कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो ।

महासङ्घका संस्थापक अध्यक्ष स्टेला तामाङले आदिवासी आन्दोलनमा युवा वर्गको अर्थपूर्ण सहभागीता बढ्दै जान् सकारात्मक विषय रहेको बताउनुभयो ।

कतिपय आदिवासी परम्परागत ज्ञानलाई गलत अर्थमा परिभाषित गरिरहेकाले यसप्रति सचेत रहनुपर्ने उहाँको भनाइ छ । कार्यक्रममा नेपाल आदिवासी जनजाति महासङ्घका पूर्व अध्यक्ष जगत बराम,  प्रा. डा. चुन्दा बज्राचार्य लगायतले मन्तव्य राख्नुभयो । 

यसैगरी, फोकस फर इन्डिजिनिअस् गल्र्समन संस्थापक अध्यक्ष सब्नम लामा, युथ फेडेरेसन अफ इन्डिजिनिअस् नेसनलिटिज्का सचिव पेमा लामा, किरात याक्थुम् चुम्लुङ नेपालका महासचिव निरन्ती तुम्बापो र नेसनल इन्डिजिनिअस् डीस्याबल एसोसियसनका आदिवासी अभियन्ता युवराज लामाबिच प्यानल छलफल तथा अन्तरक्रिया भएको छ । 

सो छलफलको सहजकर्ता सुशीला कुमारी थापामगरले भएको थियो । 

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।