• २० साउन २०८२, मङ्गलबार

भारतको उत्तरकाशीमा भीषण बाढी, चारको ज्यान गयो, कैयौँ बेपत्ता

blog

एक्कासि आएको बाढी बस्तीमा प्रवेश गरेपछिको दृश्य । तस्बिर : टाइम्स अफ इन्डिया/हिन्दुस्थान टाइम्स

देहरादुन (भारत), साउन २० गते। भारतको उत्तराखण्ड राज्यमा भएको लगातार भारी वर्षापछि पहिरो र बाढीको कारण कम्तीमा चार जनाको मृत्यु भएको छ भने कैयौँ बेपत्ता भएका छन्। प्रभावित क्षेत्रहरूमा जनजीवन अस्तव्यस्त बनेको छ।

देहरादुन जिल्लामा आएको वर्षापछिको पहिरोले धेरै स्थानमा सडक तथा घरहरूमा क्षति पुर्‍याएको छ। उता उत्तरकाशी जिल्लाको धाराली गाउँमा आएको आकस्मिक बाढीले स्थानीय बस्तीहरूमा ठुलो क्षति पुर्‍याएको छ।

बाढीले बगाएर घरहरू ध्वस्त भएका छन् भने खेतबारी तथा पुलहरूसमेत डुबानमा परेका छन्। भारतीय सञ्चार माध्यमका अनुसार धाराली क्षेत्रमा धेरै मानिस सम्पर्कविहीन भएका छन्। उद्धारकर्मीहरूलाई स्थानान्तरण तथा राहत कार्यमा खटाइएको छ।

मौसम विभागले अझै केही दिन भारी वर्षा हुने सम्भावना औंल्याएको छ। स्थानीय प्रशासनले उच्च सतर्कता जारी राखेको छ र जोखिमयुक्त स्थानमा बसोवास गरिरहेका नागरिकलाई सुरक्षित स्थानमा सार्न आग्रह गरेको छ।