काठमाडौँ, माघ १९ गते । ‘पिकनिक स्पट’ लाई आकर्षक बनाउन खनिएको पोखरीमा भएको पानीले बस्ती पस्न लागेको अनियन्त्रित डढेलो निभाउन सक्छ त ? आममानिसले त्यसबारे सोचेकै हुँदैनन् तर एउटा पोखरीले पर्यावरणको सन्तुलन र प्राकृतिक विपत्तिमा कस्तो सहयोग गर्न सक्छ भन्ने उदाहरण काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोकमा आगलागी नियन्त्रणमा खेलेको भूमिकाले प्रस्ट पारेको छ ।
ठुलो पहाड र चट्टानेभिरसँगै अत्यधिक हावा चल्ने काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिका र खानीखोला गाउँपालिकाको सिमाना थामलेक महाभारत पर्वत शृङ्खलाको सामुदायिक वनमा फैलिएको आगो एक सातापछि सानो पोखरीको सहयोगले नियन्त्रणमा आएको छ ।
कम्तीमा २० किलोमिटर जङ्गलमा क्षतिपछि सो डढेलो नियन्त्रणका लागि हेलिकोप्टरको प्रयोग भएको गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले जानकारी दिनुभयो । आगो नियन्त्रणमा सबै सुरक्षा निकाय, स्थानीय बासिन्दा, सरकारी निकायको समन्वय भएको थियो ।
अमेरिकाको लस एन्जलसमा आगलागीबाट विध्वंस भइरहेकै बेला काभ्रेपलाञ्चोकको उच्च भागको सामुदायिक वनमा आगोको लपेटा फैलिएपछि ठुलो चुनौती देखिएको थियो । एक सातासम्म नियन्त्रणमा आउन नसकेको सो डढेलो नियन्त्रणमा नयाँ प्रविधिको प्रयोगले सम्भव भएको जस्तो देखिए पनि त्यसमा गाउँपालिका वडा नं. २ मा खनिएको पोखरीले सबैभन्दा ठुलो काम गरेको स्थानीय बद्रीप्रसाद तिमल्सिनाले बताउनुभयो ।
आगो निभाउन गरिएका सबै प्रयासले भन्दा नजिकै पानीको स्रोत हुनुले राम्रो काम गरेको उहाँको अनुभव छ । हेलिकोप्टरले लगातार छोटो समयमै २४ हजार लिटर पानी खन्याएपछि आगो नियन्त्रणमा सहज बनेको उहाँले उल्लेख गर्नुभयो । त्यहाँ नजिकको विकल्प भनेको १५ किलोमिटर टाढाको खोपासीको पोखरी मात्रै थियो ।
बस्तीमा आउन लागेको डढेलोलाई नियन्त्रण गर्न सो पानीले निकै ठुलो काम गरेको अध्यक्ष अधिकारीले बताउनुभयो । उहाँले यो डढेलोले आफूलाई ठुलो पाठ पढाएको र कम्तीमा एउटा वडामा तीन वटा पोखरी आवश्यक देखिएको बताउनुभयो । उहाँले पुर्खाहरूले पोखरी बनाउनुको महŒव जानेको बताउनुभयो ।