• ७ मंसिर २०८१, शुक्रबार

निर्वाचनपछिको कांग्रेस रणनीति

blog

धर्मेन्द्र झा

 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले वैशाख ३० गते स्थानीय तह निर्वाचन हुने तिथि मात्र घोषणा गरेन, घोषित मितिमा सफलतापूर्वक निर्वाचन सम्पन्न पनि गरायो । एकथरी व्यक्ति⁄वर्ग यस्ता पनि थिए जो तिथि नजिकिँदै गर्दा पनि निर्वाचन हुनेमा आशावादी थिएनन् र सरकारविरुद्ध नकारात्मक धारणा फैलाउने प्रयासमा क्रियाशील रहे । अप्रत्यक्ष रूपमा निर्वाचनका विपक्षमा रहेका ती प्रयास असफल ठहरिएका छन् । निर्वाचन सम्पन्न भइसकेको छ र नेपाली लोकतन्त्रले एउटा नयाँ ‘कोर्स’ समातेको छ । 

स्थानीय स्तरबाटै नेपाली लोकतन्त्र र सङ्घीयतालाई संस्थागत गर्ने दिशामा यो निर्वाचनको कालजयी महìव छ भन्नेमा विमति हुन सक्दैन । प्रधानमन्त्री देउवालगायत निर्वाचन सम्पन्न गराउन प्रत्यक्ष वा परोक्ष रूपमा भूमिका निर्वाह गर्ने सबै धन्यवादका पात्र हुन् । यो आलेख तयार पारुञ्जेलसम्म निर्वाचनका अधिकांश परिणाम सार्वजनिक भइसकेका छन् । कांग्रेसको नेतृत्वमा बनेको सत्ता गठबन्धनले प्रतिपक्षी मोर्चालाई निकै फराकिलो मतले उछिनेको छ । हालसम्म परिणाम घोषित ७४९ पालिकामध्ये ३२७ पालिकामा नेतृत्व हात पारेर कांग्रेस पहिलो दल बनेको छ । कुल पालिका सङ्ख्याको यो ४३ प्रतिशतभन्दा बढी हो । दुई सय पाँच वटा पालिकामा प्रमुख पदमा विजय निकाल्दै नेकपा (एमाले) दोस्रो दल बनेको छ भने एक सय २१ पालिकामा नेतृत्व समाल्न पुगेको नेकपा माओवादी तेस्रो दल बनेको छ । यस्तै जनता समाजवादी पार्टीलाई ३०, नेकपा (समाजवादी) लाई २० र लोकतान्त्रिक समाजवादी पार्टीलाई १६ पालिकामा मतदाताले नेतृत्वमा पु¥याएका छन् । उदेकलाग्दो कुरा त के छ भने यस पटकको स्थानीय निर्वाचनमा मतदाताले १२ जना स्वतन्त्र उम्मेदवारलाई जिताएर माथि उल्लिखित वरियतामा सातौँ स्थानमा उकालेका छन् । 

भनिन्छ, राजनीतिमा कुनै पनि प्रकारको पूर्वानुमानले काम नगर्न सक्छ । यसै सन्दर्भमा एउटा लोकप्रिय भनाइ प्रचलित छ, राजनीतिमा कोही पनि स्थायी मित्र र शत्रु हुँदैनन् । यस पटकको स्थानीय तह निर्वाचनको सन्दर्भमा नेपाली राजनीतिको विश्लेषण गरियो भने यही कुरा चरितार्थ हुन आउँछ । विगतमा नेपालका कम्युनिस्ट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा करिबकरिब गोलबद्ध थिए । पुष्पकमल दाहाल नेतृत्वको नेकपा माओवादी एक किसिमले नेकपा एमालेमा मिसिएको थियो भने वर्तमानको नेकपा (समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनाल एमालेकै वरिष्ठ नेताको हैसियतमा हुनुहुन्थ्यो । त्यतिबेला पनि कांग्रेसका सभापति देउवाको नेतृत्वको सरकारले नै निर्वाचन गराएको थियो । सरकारमै सहभागी माओवादी कांग्रेसलाई जिल्याउँदै ओलीसँग पिङमा मच्चिन पुगेको थियो । कांग्रेसलाई एक्ल्याउँदै बनेको कम्युनिस्ट गठबन्धनले देशमा लोकतान्त्रिक शासन व्यवस्थाको सट्टा साम्यवाद स्थापनाको सपना देखेको थियो तर यो सपना देख्नेहरूको मनसायमाथि तुषारापात हुन पुग्यो । तत्कालीन प्रधानमन्त्री ओलीमाथि एकमना ढङ्गले शासन सञ्चालन गरेको आरोप लाग्यो । ओली नेतृत्वको सरकारले संविधानविरुद्ध काम गरेको र संसद्लाई छलेको भन्दै सविधानको रक्षा गर्ने नाममा ओलीविरुद्ध अर्को मोर्चा तयार भयो । कम्युनिस्ट गठबन्धन टुट्यो । प्रचण्ड, नेपाल र खनालहरू यही नयाँ मोर्चामा आबद्ध हुनुभयो र ओली सत्ताच्युत हुनुपर्ने अवस्था सिर्जना भयो । 

राजनीतिमा कुनै पनि कुरा असम्भव हुन्न भनेजस्तै माओवादी पुनः कांग्रेससँग नजिकिन आइपुग्यो । यस पटक पुनः निर्वाचनको जिम्मेवारी प्रधानमन्त्री देउवाको काँधमाथि थपियो । भन्नैपर्छ, देउवाको सरकारले यो जिम्मेवारी सफलतापूर्वक निर्वाह ग¥यो । देउवा नेतृत्वको सरकारले यो जिम्मेवारी निर्वाह गर्दा प्रचण्ड, नेपाल र खनाललाई निश्चय पनि लाभ पुग्यो । स्मरणीय छ, उहाँहरू सबै विगतमा कांग्रेसविरुद्ध गोलबद्ध हुनुहुन्थ्यो । यो अलग कुरा हो कि कांग्रेसलाई पनि गठबन्धनको लाभ मिलेको जस्तो देखिएको छ । कांग्रेस सबैभन्दा ठूलो दलका रूपमा स्थापित हुन पुगेको छ तर सत्य यति मात्र होइन । विश्लेषकका अनुसार तुलनात्मक रूपमा यो गठबन्धनको सर्वाधिक लाभ माओवादी र समाजवादीलाई हुन पुगेको छ । माओवादी तेस्रो शक्ति बन्न पुगेको छ भने स्थानीय स्तरमा साङ्गठनिक विस्तारमा भर्खरै जुट्दै गरेको समाजवादी पाँचौँ दलका रूपमा उदाएको छ । जानकारहरूका अनुसार गठबन्धन बिना नै अर्थात् सबै दल एक्लाएक्लै निर्वाचनमा होमिनुपरेको भए कांग्रेसलाई धेरै बढी फरक पर्ने थिएन तर माओवादी र समाजवादी आजको अवस्थामा पुग्न निश्चय पनि समस्या हुन सक्थ्यो । 

निर्वाचनका सन्दर्भमा देउवा र कांग्रेसका सन्दर्भमा निकै टीकाटिप्पणी भए । कांग्रेस पार्टीभित्रै पनि विविध मत सतहमा आए र अघोषित विवादको जस्तो अवस्था पनि सिर्जना भएको सञ्चारमाध्यममा आएका हुन् । निर्वाचनमा यो विवादको केही तुस अनुभूत गरियो र कांग्रेसको पक्षमा परिणाममा केही गिरावट आएको सम्बद्ध पक्षबाटै स्वीकार पनि गरियो । दुईमत छैन, कांगे्रस एकमत भएर निर्वाचनमा जान नसक्दाको अप्रिय परिणाम केही पालिकामा देखाप¥यो । कांग्रेस साँच्चै एकढिक्का भएर निर्वाचनमा होमिन सकेको भए सम्भव छ परिणाम अहिलेभन्दा पृथक् आउन सक्थ्यो । कम्तीमा २५–३० वटा पालिकामा आपसी विवादकै कारण कांगे्रसले नेतृत्वको अवसर गुमाउन पुग्यो भन्दा असत्य ठहर्दैन । आन्तरिक असमझदारी र विवादका कारण कांग्रेसका किल्ला भनेर विगतमा स्थापित कतिपय पालिकामा कांग्रेसले नेतृत्व गुमाउन बाध्य हुनुप¥यो । यी सबैका लागि कांग्रेसभित्रको गुटबन्दी जिम्मेबार छ भनियो भने गलत हुने छैन। गुटबन्दीकै कारण कतिपय ठाउँमा उम्मेदवार चयनमा समस्या र चयन भएका उम्मेदवारलाई एकढिक्का भएर सघाउने समस्याका कारण कांग्रेसले धेरै पालिकामा अपेक्षित परिणाम प्राप्त गर्न सकेन । 

कतिपय ठाउँमा कांग्रेसले गठबन्धनका नाममा पनि आफ्नो सङ्गठनलाई महìव दिन सकेन र उम्मेदवारी नै दिएन । धेरै ठाउँमा यसविरुद्ध प्रतिक्रिया पनि व्यक्त भयो । सम्भवतः जनकपुरमा कांग्रेसका वागीले स्वतन्त्र रूपमा जित्नु यसैको परिणाम हो । कतिपय ठाउँमा योग्य र लोकप्रिय व्यक्तिलाई उम्मेदवार बनाउन नसक्दा पनि परिणाम स्वतन्त्र (कांग्रेस वागी) का पक्षमा गएको पाइएको छ । यस्तै कतिपय ठाउँमा गुटलाई सन्तुष्ट बनाउने नाममा दोहो¥याउनुपर्नेलाई पनि नदोहो¥याउने र दोहो¥याउन उचित नहुनेलाई पनि दोहो¥याएर उम्मेदवार बनाउँदा जित सुनिश्चित गर्न सकिएन । यस पटक कांग्रेसले पालिका प्रमुखमा राम्रै जित निकालेको मानिए पनि उपप्रमुखको नतिजा सन्तोषजनक छैन । पहिलो त कांग्रेसले जितेका धेरै ठाउँमा गठबन्धनका कारण उपप्रमुख गुमाएको छ भने दोस्रो कांग्रेसले जुन सङ्ख्यामा प्रमुख जितेको छ त्यस तुलनामा उपप्रमुख जित्न सकेको छैन । गठबन्धनका बाध्यताका कारण पनि हुन सक्छ कांग्रेसले यस पटक महिला उम्मेदवार कम प्रस्तुत ग¥यो । मतदातालाई सम्भवतः यो कुरा स्वीकार्य भएन र कांग्रेसले गठबन्धनमा प्रमुखमा जिते पनि उपप्रमुखमा मतदाताको रोजाइमा महिला उम्मेदवार परे । निश्चय पनि यसको लाभ एमालेलाई पुगेको छ । एमालेले प्रमुखको तुलनामा उपप्रमुखमा बढी जित निकालेको छ । कांग्रेसले प्रमुख जितेका धेरै पालिकामा उपमेयर एमालेका जो विशेषतः महिलाले जितेका छन् । यस प्रवृत्तिलाई महिला मतदाताको मनोविज्ञानसँग पनि जोडेर विश्लेषण गर्न सकिन्छ । यस्तै कांग्रेसका तर्फबाट निर्वाचित भएका प्रमुख र उपप्रमुखमा दलितको सङ्ख्या पनि न्यून छ । 

माथि उल्लेख गरिएको प्रवृत्ति निश्चय पनि समावेशी र बहुलवादको कार्यान्वयनसँग पनि सम्बद्ध छ भन्दा अस्वाभाविक हुँदैन । कांग्रेस पार्टी स्थापना गर्दा संस्थापक बीपी कोइरालाको एउटा महान् इच्छा थियो, पार्टीलाई वास्तविक अर्थमा समावेशी बनाउने र सम्पूर्ण नेपालीलाई यसभित्र समेट्ने । उहाँको आकाङ्क्षा थियो, कांग्रेसमा आबद्ध हुन पाउँदा प्रत्येक नेपालीले आफू सम्मानित भएको अनुभूत गरुन् । बीपीले ६४ वर्ष पहिले नै पार्टीको उम्मेदवार बनाउँदा जात, जाति, सम्प्रदाय, लिङ्ग, भाषाभाषी आदिजस्ता पक्षलाई महìव दिनुभएको थियो । आमनिर्वाचनपछि प्रधानमन्त्री बनेपछि उहाँले गठन गरेको मन्त्रिमण्डल हेर्दा नेपालको इतिहासमै आजसम्म त्यस्तो सन्तुलित समावेशी सरकार नबनेको पुष्टि हुन्छ । दुःखद बीपीले आफ्नो अवधारणा कार्यान्वयनलाई आफू स्वयंले निरन्तरता प्रदान गर्न सक्नुभएन । उहाँका उत्तराधिकारीले अक्षरशः उहाँको अवधारणाको अनुशरण गर्न सकेनन् । अब प्रादेशिक र सङ्घीय निर्वाचन आसन्न छ । स्थानीय तह निर्वाचनको प्रक्रिया र परिणामको समीक्षा गरी कमजोरीबाट सिकेर कांग्रेसले अब हुने प्रदेश र सङ्घीय निर्वाचनका लागि आवश्यक रणनीति निर्माणमा जुट्नु अपरिहार्य छ ।