जलवायुको परिवर्तित अवस्था बुझ्न ३० औँ वर्षअघिको जलवायुजन्य मौसमको बारेमा बझ्नु पर्छ । छोटो समयको मौसमी अवस्थाबाट जलवायुको स्वभावमा आएको परिवर्तन महसुस गर्न सकिन्न । निश्चित स्थानको वायु, तापक्रम, बर्सात आदिको अवस्थालाई मौसम भनिन्छ । निश्चित स्थानको विगत ३० वर्षको वर्षा, तापक्रम र वायुको अवस्थामा आएको परिवर्तनलाई नै जलवायु परिवर्तन भनिन्छ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय प्रारूप महासन्धि १९९२ का अनुसार मानव क्रियाकलापसँग प्रत्यक्ष वा परोक्ष रूपमा सम्बन्धित भई विश्व वायुमण्डलको संरचनालाई परिवर्तन गर्ने र तुलनात्मक समयावधिभित्र प्राकृतिक रूपमा गरिएको परीक्षणलाई जलवायु परिवर्तन भनिन्छ । जलवायु परिवर्तनमा मानवीय क्रियाकलाप नै मुख्य जिम्मेवार रहने गर्छ । प्रकृतिको नैसर्गिक स्वभावलाई नै दखल दिने मानव क्रियाकलापको लामो प्रभावबाट हामीले जलवायु परिवर्तनको नकारात्मक प्रभाव महसुस गर्न सक्छौँ ।
विज्ञानले मापन गरे अनुसार प्रतिवर्ष ०.०६ डिग्री सेल्सियसका दरले तापक्रममा वृद्धि हुँदै जानु, जसका कारण विगतभन्दा हिमालको हिउँ बढी पग्लिनु, गर्मीमा पनि तापक्रम वृद्धिका कारण मौसम अस्वाभाविक बढी महसुस हुनु सुरुवाती परिवर्तन हुन् । गर्मी मौसममा अत्यधिक तातोपनाको वृद्धिले जनजीवनमा नकारात्मक असर पर्नु, खेतीबालीमा खडेरीको प्रभावले उत्पादनमा ह्रास आउनु साथै जाडो मौसममा विगतभन्दा बढी चिसो महसुस गर्नु र त्यसको प्रभावले हिउँदे बालीको उत्पादनमा गिरावट आउनुले जनजीवनमा सिधै नकारात्मक प्रभाव पर्ने हुन्छ । पृथ्वीको प्राकृतिक प्रतिक्रियाभित्र पर्ने गतिविधिको समग्र रूप नै जलवायु परिवर्तनका रूपमा देखा पर्छ । पृथ्वीमा सूर्यबाट विकीरणको माध्यमबाट प्राप्त तापले नै पृथ्वीको तापक्रमलाई सन्तुलित बनाइराख्छ । सूर्यबाट प्राप्त विकीरण पृथ्वीले पुनःअन्तरिक्षमा फिर्ता पठाउँदा वायुमण्डलमार्फत पठाउँदा वायुमण्डलको वायुको सन्तुलन कायम राख्ने कोसिस गर्छ । मानवीय क्रियाकलापको प्रत्यक्ष वा परोक्ष कारणले पृथ्वी र सूर्यको विकीरण आदनप्रदानमा आउने असन्तुलनले र वायुमण्डलमा हुने तापक्रमको गडबडीले जलवायुमा पनि परिवर्तन ल्याउँछ ।
विशेष गरी विकसित भनिएका देशले गरेको औद्योगिक प्रगतिसँगै वायुमण्डलमा हुने तापक्रमको गडबडी सुरु भएको मानिन्छ । सौर्यमण्डलकै एउटा ग्रहका रूपमा रहेको पृथ्वीको जीवनोपयोगी तापक्रमका कारण पृथ्वीमा जीवन सम्भव भएको हो । अन्य ग्रहको यही गुण नभएका कारण त्यहाँ जीवन असम्भव भएको मनिन्छ । सूर्य र पृथ्वीको प्रकाशसहित आदनप्रदान हुने तापमानको विशिष्ट सम्बन्ध र सन्तुलनले नै पृथ्वीमा जीव र वनस्पतिको अस्तित्व र सन्तुलन कायम रहेको मानिन्छ ।
वातावरणीय ह्रासले निम्त्याउने जलवायु परिवर्तनको असर देखिन बर्सौं लाग्छ । तत्काल नदेखिए पनि इतिहासको गहिरो अध्ययनबाट हिजो र आजको जलवायुको परिवर्तनको असर स्पष्ट देख्न सकिन्छ । नेपालकै उत्तरी भेगको अवस्थामा आएको परिवर्तन पनि महसुस गर्न सकिन्छ । युगौँ युगदेखि पानी नपर्ने मनाङ मुस्ताङका हिमाली क्षेत्रमा पानी पर्न थालेका कारण त्यस क्षेत्रमा फरक किसिमको जीवनशैली अपनाउनुपर्ने अवस्था सिर्जना भएको छ । हिमाल पारीका बस्तीमा घरका छानासम्म हुँदा पनि पानी छिर्दैन थियो भने हाल पानी पर्न थालेपछि भिरालो छाना बनाउनुपर्ने हुन थालेको छ । क्रमशः यो क्रम बढ्ने हो भने बर्सौंदेखि पानीको सम्पर्कमा नआएका कमसल हिमाली क्षेत्रका भिराला जमिनमा रहेका माटो, ढुङ्गा र बालुवाका कण वर्षाको पानीको बहाबसँगै क्रमशः दक्षिणतर्फ बहँदा तल्लो तटीय क्षेत्रका नदी किनारका भौतिक संरचनाले प्रत्यक्ष क्षति बेहोर्नुपर्ने हुन्छ ।
हिमालमा सदियौँदेखि जमिराखेको हिउँ बेमौसममै पग्लेर नाङ्गा चट्टान देखिन थालेका छन् । जसका कारण यी हिमशृङ्खलाका दक्षिणतर्फका तमाम भूगोलमा नै प्रतिकूल प्रभाव पर्दै गएको महसुस गरिएको छ । त्यसको ठिक उल्टो हजारौँ वर्षदेखि जरुवा मूलबाट आएको पानीबाट जीविकोपार्जन गरेका नागरिक आज मूल सुकेको कारण वैकल्पिक उपाय खोज्न बाध्य हुनु परेको छ । अति वृष्टिका कारण अनाहकमा डुबान तथा कटानको चपेटामा पर्ने क्रम वृद्धि हुँदै गएको छ । अनावृष्टिका कारण अति सुक्खा खडेरीले बालीनाली नष्ट हुनुका साथै वनजङ्गलमा हुने डढेलोले बर्सेनि अर्बौंको वन पैदावर नष्ट हुने क्रममा वृद्धि हुँदै गएको छ ।
नेपाल सरकारले नेपालका तराई भूभागमा बर्सातको समयमा समेत पर्याप्त पानी नपरेर समयमा धान रोपाइँ हुन नसक्दा सङ्कटग्रस्त क्षेत्र घोषणा गरी विशेष योजना लागु गर्न प्रतिबद्धता जाहेर गरिरहेको छ । नेपालको तराईमा करिब ३० वर्षपहिलेदेखि नै जमिनी पानीको अवस्था हाल देख्न पाइँदैन भने जमिनमुनिको जलसतह विगतभन्दा धेरै तल गइसकेको छ । कतिपय स्थानमा सरकारको जमिनमुनिको पानी तानेर सिँचाइ गर्ने योजना नै लागु नहुने अवस्था छ । यो अवस्था हुनु हामी सबैको सामूहिक चुनौती हो ।
नेपालमा समय समयमा आउने राजनीतिक परिवर्तनसँगै आउने अव्यवस्थाको फाइदा उठाई चुरे तथा तराईका वन फँडानी तथा निकासी साथै जङ्गल क्षेत्र अतिक्रमण हुने गरेको छ । आजभोलि नै पनि चुरे दोहन रोकिएको छैन । चुरे क्षेत्रको संरक्षण गर्न राष्ट्रपति चुरे संरक्षण आयोजना गठन गरे पनि त्यसको स्थापनाकालमै राजनीतिक भागबन्डाको सिकार भई हाल एउटा निकम्मा संस्थाको रूपमा अस्तित्वमा मात्रै छ । संस्थाले चुरे क्षेत्रमा कठोरतापूर्वक २०/२५ वर्ष मानव अतिक्रमण रोक्न सकेमा चुरे क्षेत्रको पुनस्र्थापना गर्न सकिन्छ ।
तराई क्षेत्रको जमिनमुनिको जलसतह कायम राख्न मरिन डाइभर्सन, कालीगण्डकी डाइभर्सन जस्ता ठुला आयोजना तमोर, त्रिशूली, भेरी, सेती, कर्णाली नदीमा पनि क्रमशः लागु गर्दै जानुपर्ने हुन्छ । जसको कारण तराईको सिँचाइको साथसाथै जमिनमुनि र माथिको जलसतह एकैचोटि कायम गर्न मद्दत पुग्छ । चुरे र महाभारत पर्वत शृङ्खलाको अनुकूल स्थानमा चेक ड्याम खडा गरी कृत्रिम जलभण्डार निर्माण गर्ने, त्यसबाट आवश्यक बिजुली निकाल्ने, सिँचाइका लागि नहर निकाल्ने, स्थानीय जलयातायातको माध्यम बनाउने, स्थानीय पर्यटनको विकास गर्ने, स्थानीय र घुमन्ते चराको बासस्थानको संरक्षण गर्ने जस्ता कार्यक्रमले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्ने छ ।
जलवायु परिवर्तनले ल्याएको प्रतिकूल अवस्थालाई नै सदुपयोग गरेर आफूले आफैँलाई वातानुकूलित गर्दै लैजानुमा मानवीय कल्याण छ भन्ने राय पनि केही विद्वान्को रहेको छ । हिजोका दिनमा पहाडका उचाइमा नहुने फलफूलका प्रजाति आजको बढ्दो तापक्रमका कारण खेतीबाली गर्न सम्भव भएको छ । समुद्र तटमा मात्रै हुने प्रजातिका वनस्पति तराईमा सम्भव भइरहेका छन् । कतिपय मरुस्थलमा हुने वनस्पति हाल तराई क्षेत्रमा पनि हुन थालेका छन् । यस्ता हिजोका प्रतिकूललाई आज अनुकूल बनाएर आफूलाई वातानुकूलित बनाउँदै लैजानु पर्छ भन्ने यस मतलाई पनि उपयोग गर्ने नीति समानान्तर रूपमा लिनुपर्ने हुन्छ । हामीले गर्ने भौतिक विकासमा विश्वव्यापी रूपमा स्वीकार गरिएको दिगो विकासको सत्रबुँदे मापदण्डलाई कडाइका साथ लागु गर्दै वातावरणको कम नोक्सानीबाट आजको आवश्यकता परिपूर्ति गर्दै जाने नीति लिनुमा हाम्रो कल्याण छ ।
हाल कायम ०४६ प्रतिशत वन क्षेत्रलाई ६० प्रतिशतमा वृद्धि गर्नु पर्छ । हिमनदीको ड्याम प्रोजेक्टमार्फत बहुउपयोगी पानी व्यवस्थापन गर्ने, चुरे र महाभारत पर्वतमाला बिचमा मानवनिर्मित सरोवर निर्माण गरी ऊर्जा उत्पादन तथा सिँचाइ सुविधा विकास गर्न जरुरी छ । जल यातायात विकास गर्ने, तराईका तालतलैयाको दिगो संरक्षण गरेर सिँचाइ र वातावरणीय सन्तुलनलाई पशुपन्छीको संरक्षण गर्नु पर्छ । नदी डाइभर्सन आयोजनाको द्रुतविकास गरी कृषि उत्पादनमा गुणात्मक फड्को मार्नु पर्छ ।
जलसतहको सन्तुलन कायम राख्ने, वन क्षेत्रको अतिक्रमणमा शून्य सहनशीलता अपनाउने, विकसित देशले गरेको कार्बन उत्सर्जनको क्षतिपूर्तिबापत रोयल्टी असुल गर्ने व्यवस्था गर्न आवश्यक छ । वातावरण संरक्षणसँग सम्बन्धित पाठ्य सामग्री विद्यालय, विश्वविद्यालयमा अध्ययन अध्यापन गराउने र दिगो विकासको विश्वव्यापी मान्यतानुरूप भौतिक विकास गर्ने जस्ता कार्यमा हाम्रो ध्यान केन्द्रित गर्नुमा नै हामी सबैको कल्याण छ ।