बाबुराम कार्की
वराहक्षेत्र, साउन २५ गते । गाउँमा अर्मपर्मबाट गरिने परम्परागत खेती प्रणाली हराउँदै गएको छ । गाउँमा बाली लगाउँदादेखि बाली भित्र्याउनसम्म अर्मपर्म, खेतालापात गरेर काम गरिने चलन पछिल्लो समय हराउँदै जान थालेको हो ।
परम्परागत खेती प्रणालीमा बाली लगाउने समयमा आलोपालो गर्दै एकअर्काको खेतीपातीको काम सक्ने, नभ्याउँदा खेताला पनि लगाइने चलन थियो । वराहक्षेत्र–५, कालाबञ्जरका ७९ का शेरबहादुर थापाले अहिले पैसामा गाउँभरि खेताला खोज्दासमेत नपाउने बताउनुभयो । उहाँका अनुसार गाउँमा काम गर्न सक्ने उमेरका जनशक्ति पैसा कमाउन बाहिरिने, गाउँमै भएका पनि अन्य पेसामा आबद्ध हुने हुँदा परम्पारगत खेती प्रणाली हराउँदै गएको छ ।
वराहक्षेत्रका ५६ का डिबी राउतले भन्नुभयो, “गाउँका युवा जति सबै वैदेशिक रोजगारीमा भएकाले गाउँमा खेताला पाउन चर्काे छ ।” कृषि कर्ममा लाग्ने जनशक्ति कम हुँदै जाँदा धान गोड्नदेखि बारीमा पलाएको झार मार्नसम्म रासायिनक विषादीको प्रयोग हुने गरेको छ । हुर्केका उमेर पुगेका युवा गाउँबाट रोजगारीका लागि बाहिरिने हुँदा खेतालाको अभावले रासायनिक विषादीको प्रयोगलाई बढाउँदै लगिएको उहाँको भनाइ छ ।
गाउँबाट आजकाल ‘अर्मपर्म’ को चलनसमेत हराउँदै गएको रामधुनी–८ का कृषक हस्तबहादुर विष्ट बताउनुहन्छ । बाजेपुर्खाको पालादेखि चल्दै आएको पर्मेली परम्परा काम सक्ने मेलो मात्र नभई समुदायमा भावनात्मक सम्बन्ध जोड्दै आएको थियो । उहाँले भन्नुभयो, “युवापुुुस्तालाई त अर्मपर्म भनेको थाहा नहोला जस्तो भइसक्यो ।” पछिल्लो पुुस्ताले पर्मेली परम्परालाई अवलम्बन नगरेकाले गाउँमा एकले अर्काको खेतीपातीको काममा सघाउने पर्मेली परम्पराको चलन लोप भएर गएको उहाँको भनाइ छ ।
विशेष गरी मकै गोड्न, खेतको बाँझो खन्न, रोपाइँ गर्न, कोदो रोप्नदेखि बाली थन्काउनसम्म छरछिमेकमा आलोपालो गरेर काम गर्ने चलन रहेको थियो । यसरी एक जनाको काम सकेलगत्तै अर्काे सदस्यकोमा काम गर्दा सरसहयोगको भावना, भावनात्मक सम्बन्ध बलियो हुन्थ्यो । अर्मपर्ममा तोकिएको निश्चित समयसम्म काम गर्ने, खाजा खाने र समूहमा मिलेर काम उत्साहसाथ मेलामा काम हुने हुँदा जोसजाँगरसहित रमाइलो गर्दै खेतीको काम सकिने राउत बताउनुहुन्छ ।
खेतीपाती गर्दा बलको काम बढी पर्ने भए पनि अर्मपर्म गरेर काम गर्दा रमाइलो हुने डुम्राहाका सबुरलाल चौधरी बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “हामी सानै हुँदा कहिले ठुलो हुने र पर्ममा जानु जस्तो हुन्थ्यो ।” धेरै जनाले काम गर्दा रमाइलो हुने, थाकेको महसुस नहुने र समुदायमा एकता पनि हुने हुँदा पर्म रमाइलो लाग्ने गरेको उहाँ सुनाउनुहुन्छ ।
गाउँ छोडेर सहरिने, युवा गाउँबाट बाहिरिने, विदेशिने र कृषिप्रतिको विकर्षणले गाउँमा खेतालाको अभाव हुन थालेको छ । आधुनिक कृषि प्रणालीमा प्रविधिको विकासले कृषि कार्यलाई सहज बनाए पनि परम्परागत कृषि प्रणालीले सहयोगी भावना जगाउने, समूहमा काम गर्न सिकाउने र समाजलाई नै एकताको डोरीमा बाँध्न सहयोग गर्ने चौधरी बताउनुहुन्छ । कृषिमा जनशक्तिको अभावले खेतीयोग्य भूमिमा पछिल्लो समय यान्त्रिक उपकरण र आधुनिक कृषि प्रणाली अवलम्बन गरिँदै आएको छ ।