गुणबहादुर रोका
सुलीकोट, साउन २५ गते । गोरखाका ११ वटा स्थानीय तहमध्ये दुई वटा पालिका चुमनुब्री र अजिरकोट गाउँपालिका बाहेक अन्य नौ वटा पालिकामा कडा खालको कुपोषणका लक्षण देखिएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाले आर्थिक वर्ष २०८१/०८२ मा जिल्लाभर परीक्षण गर्दा कुल दुई हजार ८०५ जना बालबालिकामा कुपोषणको लक्षण देखिएको हो ।
नौ वटा पालिकामा कुपोषण परीक्षण गर्दा १२ जनामा कडा र अन्य ६१ जना बालबालिकामा मध्यम कुपोषण देखिएको प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाका जनस्वास्थ्य अधिकृत नवराज खड्काले जानकारी दिनुभयो ।
उहाँका अनुसार गोरखा नगरपालिकामा ५७८ जना बालबालिकालाई परीक्षण गर्दा चार जनालाई कडा र चार जनालाई मध्यम प्रकारको कुपोषण देखिएको छ भने पालुङटार नगरपालिकामा ४७२ जना बालबालिकामा कुपोषण परीक्षण गर्दा एक जनालाई कडा र २४ जना बालबालिकालाई मध्यम प्रकारको कुपोषण देखिएको उहाँले बताउनुभयो ।
त्यस्तै, आरुघाट गाउँपालिकामा १९२ जना बालबालिकामा परीक्षण गर्दा तीन जनामा कडा र चार जनामा मध्यम गरी सात जना, भिमसेन थापा गाउँपालिकामा १६० जना बालबालिकामा परीक्षण गर्दा चारजनामा कडा र ६ जनामा मध्यम गरी १० जना बालबालिकामा कुपोषण देखिएको कार्यालयले जनाएको छ ।
जिल्लाका बारपाक सुलीकोट गाउँपालिकामा १०० जना बालबालिकामा परीक्षण गर्दा दुई जना, धार्चे गाउँपालिकामा ९६ जना बालबालिकामा परीक्षण गर्दा तीन जना, शहिद लखन गाउँपालिकामा दुई सय बालबालिकाको परीक्षण गर्दा ८ जना र गण्डकी गाउँपालिकामा १६० जना बालबालिकालाई परीक्षण गर्दा सात जना सिरानचोक गाउँपालिकामा १०० बालबालिकालाई परीक्षण गर्दा तीन जना बालबालिकालाई मध्यम प्रकारको कुपोषण देखिएको जनस्वास्थ्य अधिकृत खड्काको भनाइ छ ।
बालबालिकामा कुपोषणको दर आर्थिक वर्ष २०७८/०७९ मा जिल्लामा १५ जनामा कडा र ६४ जनामा मध्यम, आव २०७९/०८० मा आठ जनामा कडा र ५५ जनामा मध्यम, आव २०८०/०८१ मा १३ जनामा कडा र ६२ जना बालबालिकामा मध्यम प्रकारको कुपोषण भेटिएको कार्यालय प्रमुख यामप्रसाद शर्माले बताउनुभयो ।
‘‘हरेक वर्ष कुपोषणको दर बढ्नु डरलाग्दो अवस्था हो ।,’’ कार्यालय प्रमुख शर्माले भन्नुभयो, ‘‘जन्मिएको अबस्थामा कम तौलको बच्चा जन्मिने, पोषणयुक्त खानाको अभाव, धूमपानको प्रयोग, जङ्कफुडको प्रयोग र कम पानी खाएपछि कुपोषणको दर बढेको हो ।’’
जिल्लामा सबैभन्दा बढी पालुङटार नगरपालिकामा २५ जना बालबालिकामा कुपोषण देखिएको छ । उक्त पालिकामा धेरै कुमाल समुदायको बालबालिकालाई आर्थिक अवस्था कमजोर, चेतनाको अभावले बढी देखिएको कार्यालयले जनाएको छ ।
कडा प्रकारको कुपोषणको भएका बालबालिकाको उपचारका लागि प्रत्योक पालिकामा शीघ्र कुपोषण एकीकृत व्यवस्थापन केन्द्र भएकाले बालबालिकालाई रेडी टु युज थेरापेटक फुड, आरयुटीएफ दिएर दुई हप्तापछि पाखुराको नाप जाँच गरिन्छ ।
यो आरयुटीएफ प्रयोगपछि ६० देखि ९० प्रतिशत बालबालिकामा कुपोषण कम हुने कार्यालय प्रमुख शर्माको भनाइ छ ।