• २४ साउन २०८२, शनिबार

आन्तरिक पर्यटन प्रवर्धन

blog

गत वर्ष दसैँमा दुई परिवार मिली लाङटाङ पद यात्रामा गएका थियौँ । तिहारमा हेलम्बु पदयात्रामा हामी दुई मात्र गयौँ । यी दुवै यात्रामा ५० प्रतिशतभन्दा बढी हामी जस्तै नेपाली पदयात्री थिए । हेलम्बु जाने क्रममा पहिलो रात बास बसेको ठाउँ थोदोङमा ६० वर्ष वरिपरिका पतिपत्नी दुई जनाले चलाएको सानो होटल रहेछ, जसमा अरू कोही पनि स्टाफ थिएनन् । यस व्यवसायबाट उनीहरूको जीविका राम्रैसँग चलेको उनीहरूबाट सुन्न पाइयो । पदयात्राका क्रममा यी जोडी जस्तै होटल वा होमस्टे सञ्चालन गर्ने नेपाली अन्यत्र पनि प्रशस्त भेटिन्छन् ।

पदयात्राकै क्रममा हामी केही वर्षअगाडि मनाङको तिलिचो ताल गएका थियौँ । त्यहाँ जाने क्रममा पनि लाङटाङ र हेलम्बु पदयात्रामा जस्तै व्यवसाय सञ्चालन गर्नेहरू भेटिएका थिए । त्यसै गरी पर्यटकीय गन्तव्यका रूपमा परिचित पोखरा, चितवनको सौराहा जस्ता स्थानमा पनि घुमफिर गर्ने र मनोरञ्जन लिने नेपालीको सङ्ख्या उल्लेख्य देख्न पाइन्छ । अन्य पदयात्रा मार्ग तथा धार्मिक स्थलमा त झन् नेपालीको सङ्ख्या झनै बढेको पढ्न, सुन्न र देख्न पाइन्छ ।

फेरि काठमाडौँको पर्यटकीय क्षेत्र ठमेललगायत अन्यत्रका रेस्टुराँमा पनि नेपालीको जमघट र उपस्थिति सघन देखिन्छ । पछिल्लो समय रेस्टुराँमा गएर खाने र खुवाउने चलन निकै नै बढेको पाइन्छ । यो पनि सुनिन्छ कि खर्च गर्नमा विदेशी पर्यटकभन्दा नेपाली नै अगाडि छन् । नेपाली भएकाले हो वा पदयात्राका त्यति पदयात्राको अभ्यास नभएर हो कि अभ्यस्त नभएर, नेपाली पदयात्रीले छोटो समयमा अलि बढी लामो दुरीको यात्रा तय गर्ने गरेको पाइयो । अर्थात् प्रकृतिसँग रमाउँदै, समय अलि लिएर ढुक्कसँग बास बस्न कञ्जुस्याइँ गरेको पदयात्राका क्रममा सुनिन्छ । यदाकदा बासस्थान र रेस्टुराँटमा अलि बढी मोलमोलाई गर्ने गरेको भनाइ पनि नपाइने होइन ।

पर्यटन वर्ष, पर्यटन दशक, पर्यटक भ्रमण वर्ष यस्तै के–के जाति भन्दै अभियान पनि चलिरहेकै छ हाम्रो देशमा । न राज्यले यस्ता अभियानबाट अपेक्षित लक्ष्य हासिल गर्न सकेको छ न त यस्ता नारा लगाउन नै छाडिएको छ । प्रायः यस्ता अभियानले विदेशी पर्यटकलाई त लक्षित गर्ने नै भयो स्वाभाविक रूपमा । फेरि देशको वैदेशिक मुद्रा आर्जन, बाह्य देशसँगको पहिचान, नागरिकस्तरमा हुने सम्बन्धलाई बलियो बनाउन पनि वैदेशिक पर्यटकको आवश्यकता पर्छ । यस्ता अभियान चलाइरहनु पर्छ । यसमा प्रश्न वा आपत्ति गर्नुपर्ने कुनै कारण देखिँदैन । 

नेपाल प्राकृतिक रूपमा, धार्मिक क्षेत्रका हिसाबबाट, सांस्कृतिक महत्वका हिसावबाट, रहनसहन, खानपिनको विविधताका दृष्टिकोणबाट पर्यटकका लागि आकर्षक देशका रूपमा चिनिएको छ । पटक पटक विश्वका पर्यटनसम्बन्धी विभिन्न सङ्घ संस्थाले नेपाल वा नेपालका स्थानलाई जानै पर्ने स्थानका रूपमा चिनाइरहेका छन् । पर्यटनका क्षेत्रमा नेपालीको निर्भरता दिनानुदिन बढिरहेकै पाइन्छ । 

यता केही वर्षदेखि नेपाली बिस्तारै रोजगारीका लागि मात्र नभई पर्यटकका रूपमा पनि विदेश जाने क्रम बढ्दो छ । सायद आम्दानी बढ्दै गएर होला । कतिपय औषधी, उपचार तथा धार्मिक पर्यटनमा पनि अरू देशमा निस्कने गर्छन् । राजन दाहालले एक अध्ययनका आधारमा टुरिज्म तथा एड्भेन्चर जर्नलमा प्रकाशित लेखमा लेखेका छन्– नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०१८÷१९ को पहिलो छ महिनामा नेपाली यात्रीले अन्तर्राष्ट्रिय यात्रा बिदामा लगभग ४८ अर्ब रुपियाँ खर्च गरेका थिए भने विदेशी पर्यटकले सोही अवधिमा केवल ३६.५ अर्ब रुपियाँ मात्र खर्च गरेका थिए । यात्रा प्रतिबन्ध हटाइएपछि नेपाली फुर्सदका यात्रीले यात्रा गर्ने प्रवृत्ति हुन्छ । यसबाट विदेशी पर्यटकले नेपालमा गर्ने खर्चभन्दा बढी नेपालीले विदेश जाँदा खर्च गरेको पाइन्छ । तथापि, यो खर्चमा पर्यटनमा गएको मात्र हो कि होइन भन्ने बारेमा छुट्टै विश्लेषण गर्नु पर्ने हुन सक्छ । 

केही वर्षअगाडि मैले भारतको पर्यटनसम्बन्धी तथ्याङ्क हेर्ने अवसर पाएको थिएँ । त्यस अनुसार भारत भ्रमण गर्नेमध्ये नेपालबाट भ्रमण गर्नेहरू सङ्ख्या अनुसार दसौँ स्थानमा नेपाली रहेको पाउँदा खुसी हुनु कि नहुनु भयो मलाई ।

त्यसै गरी सङ्गम प्रसाईले द काठमान्डु पोस्टमा सन् २०२० मै लेखे अनुसार विगत ७० वर्षदेखि नेपालमा आन्तरिक पर्यटनलाई बेवास्ता गरिएको छ । नेपालमा आन्तरिक पर्यटकको अनुमानित सङ्ख्या प्रतिवर्ष ५० लाख छ । २०१९ मा १५ लाख आन्तरिक पर्यटकले लुम्बिनीको भ्रमण गरे, तर २०१९ मा पोखरा, चितवन, अन्नपूर्ण सर्किट, बेनी–जोमसोम क्षेत्र र मुगु जस्ता अन्य आन्तरिक गन्तव्यमा भ्रमण गर्ने आन्तरिक पर्यटकको सङ्ख्याको रेकर्ड फेला परेको छैन । विकसित राष्ट्रमा आन्तरिक पर्यटन निरन्तर बढ्दै गए पनि, नेपालमा तिनीहरू प्राथमिकतामा परेका छैनन् । 

पछिल्लो हप्ता आन्तरिक पर्यटकसम्बन्धी तथ्याङ्क कतै भेटिन्छ कि भनेर सरकारी निकायको वेबसाइट, गुगल चहार्दा र केही उच्च अधिकारीसँग कुरा गर्दा पनि त्यस्तो तथ्याङ्क रहेको अवस्था भएको पाइएन । स्वतन्त्र रूपमा केही अध्ययन र अनुमान गरिएका अङ्क चाहिँ भेटिने पनि रहेछ । पर्यटन बोर्डले कोभिड महामारीपश्चात् वैदेशिक भ्रमण कम हुने अवस्थामा आन्तरिक पर्यटनसम्बन्धी अध्ययन गराएकोसम्म भेटियो तर त्यसपश्चात् के ग¥यो भन्ने विषयमा केही भेट्टाउन सकिन । 

अनुसन्धानकर्ता डेमन्टर र दिमित्राकोपौलोका अनुसार आन्तरिक पर्यटन विश्वव्यापी पर्यटन बजारमा सबैभन्दा बढी योगदान गर्नेमा पर्दछ र यसले विश्वव्यापी पर्यटन खर्चको ७५ प्रतिशत खर्च आन्तरिक पर्यटनले ओगटेको छ । कतिपयको भनाइ अनुसार त विकासशील देशमा आन्तरिक पर्यटनको विकास यसरी भइरहेको छ कि अन्तर्राष्ट्रिय पर्यटनको तुलनामा दश गुणा बढी वृद्धि हुने अनुमान गरेका छन् । 

अहिले आएर नेपालका गाउँ गाउँमा होमस्टे खोल्ने चलन बढेको छ । प्रदेश तथा स्थानीय तहले केही बजेट छुट्याएर कार्यक्रम वा अनुदान दिने व्यवस्था पनि गरेको पाइन्छ । मेरै गाउँ स्याङ्जा जिल्लाको सिरुवारीमा सुरुमा विदेशी पाहुना मात्र हुन्थे भने अहिले लगभग नेपाली मात्र हुने अवस्था छ । कुनै दिन पनि खाली पनि हुँदैन । कतिपय दिन त पर्यटक राख्ने ठाउँको अभावले पर्यटक फिर्ता जानुपर्ने अवस्था पनि रहेको गाउँले मलाई सुनाउने गर्छन् । 

नेपाली पर्यटक सामान्यतः धेरै महँगाभन्दा पनि मध्यम वा निम्न वर्गका होटेलमा बस्ने गरेको कारणबाट साना व्यवसायलाई यसले राम्रै भरथेग गरेको होला भन्ने मान्नुपर्ने हुन्छ । पदयात्रामा रहेका साना व्यवसाय, होम स्टेका रूपमा रहेका साना व्यवसाय, साना सहरमा रहेका होटेल तथा रेस्टुराँ नेपालीले बढी प्रयोग गर्दा त्यस्ता व्यवसायलाई चलायमान गराएको हुनु पर्छ । 

बिस्तारै बढ्दै गइरहेको आन्तरिक पर्यटकलाई लक्षित गरेर नेपाल सरकारले कुनै अभियान वा कार्यक्रम गरेको फाट्ट फुट्टबाहेक चलाएको मेरो जानकारीमा आउन सकेन । नेपालीको बढिरहेको क्रयशक्ति, घुम्न चाहना गर्नेहरूको सङ्ख्यामा आइरहेको वृद्धि, बाहिर देशमा पर्यटकका रूपमा जाने क्रम बढेको तथ्यलाई समेत ध्यानमा राखी नेपाली नागरिकलाई कम्तीमा पनि पहिला आफ्नै देश घुमौँ भन्ने सन्देश दिने अभियान चलाउन आवश्यक छ । 

अद्वितीय पर्यटकीय गन्तव्य नेपाल दूरदृष्टिसहितको पर्यटन नीति २०८२ नेपाल सरकारले भर्खरै घोषणा गरेको छ । खुसीको कुरा नै मान्नु पर्छ, नीतिमा आन्तरिक पर्यटनले स्थान पाएको रहेछ । पर्यटन सेवामा आन्तरिक र बाह्य पर्यटकको पहुँच अभिवृद्धि गर्ने रणनीति नीतिले लिएको पाइन्छ भने कार्यनीतिमा प्रमुख आन्तरिक पर्यटकीय गन्तव्यको पहिचान गरी प्रचारप्रसार गरिने, यात्रा उत्प्रेरणा बिदा, शैक्षिक भ्रमण र अध्ययन–अवलोकन भ्रमण, बुढ्यौली पर्यटन, माइस पर्यटन जस्ता विशेष सहुलियतसहितका ‘स्किम’ कार्यान्वयनमा ल्याइने, आन्तरिक पर्यटकीय वस्तुको प्रवर्धनमा निजी क्षेत्रलाई प्रोत्साहन गरिने, प्राकृतिक, धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक पर्यटकीय स्थलमा नेपाली पर्यटकलाई भ्रमण गर्न प्रोत्साहन गरिने छ तथा स्थानीय कला, संस्कृति, शिल्पकला, हस्तकला र रैथाने खानपान प्रवर्धनका लागि मेला, महोत्सव, प्रदर्शनी जस्ता कार्यक्रम सञ्चालन गरिने उल्लेख भएकोबाट आन्तरिक पर्यटन प्रोत्साहन गर्न आगामी वर्षमा उल्लेख्य कार्यक्रम तथा बजेटको व्यवस्था अपेक्षा गर्न सकिन्छ ।

सरकारी रूपमा मात्र नभई पर्यटन व्यवसायी, साना व्यवसायीका सङ्गठनले यस्तो अभियान चलाउन सक्दा नेपालीलाई नेपालभित्र नै घुम्न प्रोत्साहित गर्न सकिने हुन्छ । यसरी अभियान चलाउँदा आन्तरिक पर्यटनमैत्री नीति अवलम्बन गर्नुपर्ने हुन्छ । आन्तरिक पर्यटक पनि व्यवसायीका लागि आम्दानीको महìवपूर्ण स्रोत भएकाले आन्तरिक पर्यटकलाई उत्तिकै सम्मान दिने व्यवस्था गराइनु पर्छ । आन्तरिक पर्यटनमैत्री स्थानको पहिचान गरी पैदल मार्ग, विश्रामस्थल, खाने बस्ने ठाउँ बनाउन प्रोत्साहित गरिनु पर्छ । यस विषयमा अध्ययन, अनुसन्धान र छलफललाई प्राथमिकतामा राख्न आवश्यक देखिन्छ । साना व्यवसाय र अर्थतन्त्र चलायमान गर्न गराउन महत्वपूर्ण माध्यमका रूपमा स्थापित आन्तरिक पर्यटनलाई प्राथमिकतामा राखिनु आवश्यक छ । साथै पर्यटनका लागि विदेश जाने नेपालीको खर्च नेपालभित्रै गराउन सकिएमा अर्थतन्त्र र साना व्यवसायीलाई थप सहयोग पुग्ने विश्वास गर्न सकिन्छ । यसको अर्थ वैदेशिक पर्यटनलाई कम महत्व दिइनु पर्छ भन्ने पटक्कै होइन ।