• २४ साउन २०८२, शनिबार

राति देउडा गाउन नपाइने

blog

धामीहरू सामुहिक रूपमा नाच्दै । तस्बिर : राजन रावत

राजन रावत

हुम्ला, साउन २४ गते । यस पटकको जनै (साउने) पूर्णिमाको अवसरमा सधैँ गाउँदै आएको देउडा राति एघार बजेपछि गाउन नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालयले दिएको जानकारी अनुसार सो कार्यालयमा बसेको सर्वपक्षीय बैठकले शान्ती सुरक्षाको कारण देखाउँदै रातभरि देउडा गाउन नपाउने निर्णय गरिएको हो ।

रातभर देउडा गीत गाउँदा शान्ति पुरक्षामा खलल पुग्न सक्ने भन्दै यस पटकको साउने पूर्णिमाको छ दिन राति एघार बजेपछि देउडा गाउन नपाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्येयले बताउनुभयो । 

होहल्ला हुने सम्भावना देखिएको कारण सर्वपक्षीय वैठकले सो निर्णय गरेको हो । संस्कृति संरक्षण पनि गर्नुपर्ने र शान्ति सुरक्षा पनि कायम गर्न यो निर्णय गरिएको हो । साउने पुर्णिमाको चर्तुदशी र पूर्णिमाको दिन दिउसो धामी नाच्ने, पूजापाठ गर्ने र राति देउडा गाउने गरिन्छ । 

यसअघि यी दुई दिन रातभर देउडा गाउने गरिन्थ्यो । तर झै झगडा, चाेरी लगाएतका कार्य हुने सम्भावना देखिएपछि राति एघार बजेपछि देउडा गीत गाउन नपाउने निर्णय गरिएको हो । त्यसैगरी पूर्णिमाका पछिल्लो दिनदेखि पञ्चमीसम्मको पाँच दिन पनि दिनभर देउडा गाउने गरिन्छ । यी दिनमा पनि राति एघार बजेपछि देउडा गाउन नपाइने भएको छ । 

सर्वपक्षीय बैठकमा जिल्ला समन्वय समितिका उपप्रमुख दल फडेरा, सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारी, राजनीतिक दलहरू, वडाध्यक्ष लगायतको उपस्थिती रहेको थियो  ।