काठमाडौँ, वैशाख ३१ गते । वानीरा फाउन्डेसनले शताब्दी पुरुष डा. सत्यमोहन जोशीको १०७ औँ जयन्ती मनाएको छ । राजधानी काठमाडौँमा आयोजित एक विशेष समारोहका बिच डा. जोशीको जयन्ती मनाइएको हो ।
सोही अवसरमा समालोचक प्राडा. वासुदेव त्रिपाठीले नरेन्द्रराज प्रसाईद्वारा लिखित 'सांस्कृतिक योद्धा पूर्णप्रसाद ब्राह्मण' नामक कृतिको लोकार्पण गर्नुभयो ।
नइ एकेडेमीको १९३ औँ कृतिका रूपमा प्रकाशित यो पुस्तक लेखक प्रसाईले ४२ वर्षअघि पूर्णप्रसाद ब्राह्मणसित लिएको अन्तर्वार्तामा आधारित रहेको छ ।
विमोचित कृति 'सांस्कृतिक योद्धा पूर्णप्रसाद ब्राह्मण' माथि डा. त्रिपाठी र प्रा. केशव सुवेदीले बृहत् समीक्षा गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि डा. त्रिपाठीले सोही अवसरमा पूर्णप्रसाद ब्राह्मण विषयमा विद्यावारिधि गर्नुभएका प्राडा. नुरापति पोखरेललाई सम्मान समेत गर्नुभयो ।
वानीरा फाउन्डेसनका अध्यक्ष इन्दिरा प्रसाईको सभापतित्वमा सम्पन्न उक्त समारोहमा कवेरी जोशी, दिनेश शर्मा, सदस्यसचिव नरेन्द्रराज प्रसाई र कार्यक्रम संयोजक भगवती बस्नेतले शताब्दी पुरुष डा. सत्यमोहन जोशीको योगदान र नयाँ कृतिका बारेमा चर्चा गर्दै आफ्नो मन्तव्य राख्नुभएको थियो ।