अविनाश चौधरी
धनगढी, साउन २४ गते । कैदीबिच झडप भइ एकको मृत्यु भएपछि धनगढीस्थित कैलाली कारागार तनावग्रस्त बनेको छ । शुक्रबार मध्यराति दुई पक्षबिच झडप भएको थियो । झडपमा धनगढी उपमहानगरपालिका –४ का ४० वर्षीय भरत चौधरीको मृत्यु भएको छ ।
झडपमा ४७ जना कैदी घाइते भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो । घाइते कैदीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । दुई जना गम्भीर घाइतेलाई आइसियू र बाँकीलाई कोरोनाकालमा बनाइएको सेतीको कोभिड अस्पतालमा राखेर उपचार भइरहेको छ ।
अस्पतालमा घाइते कैदीका आफन्त र पत्रकारलाई प्रवेश गर्न रोक लगाइएको छ । अस्पताल परिसरमा ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । यसैगरी, राति झडप भएको कारागार तनावग्रस्त छ । कारागारमा नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ ।
कैदीले प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालसहित चारवटै सुरक्षा निकायका प्रमुखलाई कारागार प्रवेशमा रोक लगाएका छन् । उनीहरुले ताला लगाएर प्रवेश गर्न नदिएपछि प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकाय कारागार परिसरबाट फर्किनुभयो । जिल्ला प्रशासन कार्यालयमा सुरक्षा समितिको बैठक जारी छ ।
डेढसय क्षमताको कैलाली कारागारमा सात सयभन्दा बढी कैदी राखिएका छन् । कैदी स्थानान्तरणको विषयलाई लिएर कारागारमा पटक पटक कैदीबिच झडप भइरहेको छ । बिहीबार पनि कैदीबिच झडप भएको थियो । त्यसक्रममा छ जना घाइते भएका थिए । कारागार प्रमुख वसन्त खत्री भने बिदामा बस्नु भएको छ ।