• १३ साउन २०८१, आइतबार

फेसनेबल आउटरको लोकप्रियता

blog

काठमाडौँ, जेठ १२ गते । विगत केही वर्षयता लोकप्रिय बनेको फेसनेबल आउटर यस वर्ष पनि फेसनमा निकै अगाडि देखिएको छ । बच्चादेखि पाका उमेरसम्मका सबैलाई सुहाउने भएकाले पछिल्लो समय आउटर निकै प्रचलित बन्दै गएको छ । 

गर्मी मौसमलाई युवापुस्ताले फेसनको मौसमका रूपमा लिने गरेका छन् । युवापुस्ताले बजारमा आएका नयाँ–नयाँ डिजाइनका कपडा तथा आफ्नो इच्छाअनुसार डिजाइन बनाएर कपडा लगाएर आफूलाई स्मार्ट देखाउने मौसम पनि यही नै हो । टिसर्ट, स्यान्डो तथा पातलो पहिरनमाथिबाट विभिन्न डिजाइनका आउटर लगाउँदा जोकोहीलाई स्मार्ट तथा आकर्षक पनि देखिन्छ । घाम या धुलोबाट छालालाई जोगाउन पूरा बाहुलाका आउटर सबैभन्दा उपयुक्त पहिरन बन्न सफल भएको छ । 

फेसन डिजाइनर मनीषा बस्नेतले गर्मी मौसममा फिटिङ टिसर्ट र जिन्स पाइन्टमा लामो आउटर लगाउँदा जोकोहीलाई पनि निकै स्मार्ट देखिने बताउनुभयो । उहाँ भन्नुहुन्छ, “गर्मीमा प्रायः धेरैले सेन्डो र हाफ पाइन्ट लगाउँछन् । त्यसमा आउटर थप्दा सजिलो पनि हुने र स्मार्ट पनि देखिन्छ ।” 

कुर्ता, वान पिस जस्तो कपडा लगाए पनि बाहिर पातलो आउटर लगाउँदा लुक्समा नयाँपन देखिने उहाँको बुझाइ छ । आउटर बनाउन सकिने जानकारी दिँदै बस्नेतले जस्ता कपडासँग पनि मिल्ने भएकाले नयाँ डिजाइनका आउटर बनाउन आउने धेरै रहेको बताउनुभयो । 

हिउँदका बाक्ला ज्याकेट थन्किँदै गर्दा राजधानीका पसल पातला आउटर वेयरले भरिन थालेका छन् । बजारमा थरीथरी आउटर आउटफिटमा देखिएको छ । यता नायिका तथा पूर्वमिस नेपाल मलिना जोशी भन्नुहुन्छ, ‘गर्मीमा आउटर फेसनका रूपमा मात्र नभई यसले छालाको सुरक्षा पनि गर्छ ।’ काठमाडौँको धुलोबाट छालालाई थोरै भए पनि बचाउन आउटर सहायक बनेको उहाँ सुनाउनुहुन्छ । कलाकार तथा निर्देशक दीपाश्री निरौला गर्मी मौसममा अधिकांश समय आउटर छुटाउनुहुन्न । कुनै कार्यक्रममा सहभागी हुँदा होस् या कुनै सोमा पुग्दा, हरेक कपडा बाहिर आउटर सकेसम्म नछुट्ने उहाँ बताउनुहु्न्छ । 

“आउटर गर्मी मौसमको निकै लोकप्रिय कपडा हो मेरा लागि,” निरौला भन्नुहुन्छ, “म मोटी पनि छु, त्यसैले पनि सकभर पूरै शरीर ढाक्ने कपडा लगाउन मन पर्छ । यस्तो बेला आउटर मेरो महत्त्वपूर्ण सहयोगी कपडाका रूपमा रहेको छ । शरीर पूरै ढाकिने, फेसनेबल पनि देखिने भएकाले आउटर मेरो रोजाइमा परेको हो ।” 

नीलम फेसन बुटिकका फेसन डिजाइनर नीलम चन्दले पछिल्लो समय ओभरसाइजका ड्रेस पनि फेसन ट्रेन्डमा रहेको जानकारी दिनुभयो । यो आउटरमा अझ बढी लागू हुन्छ । खासमा साना साइजका आउटर उपलब्ध छन् तर अधिकांश युवतीले शरीरभन्दा बढी साइजको आउटर लगाउन मन पराउँछन् ।

पहिले १५ सोल्डर साइजका आउटर प्रचलनमा थियो तर पछिल्लो समय २५ सम्मको सोल्डर साइजका आउटर खोज्न थालिएको छ । यस्ता आउटर प्रयोग गर्न सजिलो हुनुका साथै आकर्षक देखाउन पनि सघाउ पु¥याउँछ । “यस्तो आउटरमा युवतीले आफूलाई कम्फर्टेबल फिल गर्छन्,” उहाँले भन्नुभयो । १५ देखि ६० वर्ष उमेर समूहका महिलाले आउटर पहिरिन्छन् ।

फेसनेबल देखिन चाहने सबै आउटरको प्रयोग गर्न रुचाउँछन् । चन्दले सारी, कुर्ता, पाइन्टलगायतका ड्रेसमा लङ आउटर प्रयोग गर्न सकिने जानकारी दिँदै रेड, डार्क र ब्राउन कलरको लङ आउटरले मानिसलाई आकर्षक देखाउने पनि बताउनुभयो । कालो, नीलो, रातो, कफीलगायतका कलर पनि प्रचलनमा छन् ।

सबै प्रकारका ड्रेस म्याच गर्ने भएकाले पनि आउटर अत्यधिक रुचाइएको छ । फेसन डिजाइनर बस्नेतका अनुसार होचो शरीर भएकाले सानो प्रिन्ट भएको आउटर छनोट गर्नुपर्छ भने पातलो तथा अग्ली महिलाले ठूलो प्रिन्ट बुट्टा भएको आउटर लगाउँदा राम्रो देखिन्छ । होची तथा मोटी महिलाले लामो आउटर रोज्नुहुँदैन । यस्तो आउटरले उचाइ झन् कम देखाउँछ । त्यसैले फिटिङ आउटर रोज्नु उपयुक्त हुने उहाँको भनाइ छ । अग्ली महिलालाई लामो, छोटो जस्तो पनि सुहाउने भएकाले उनीहरूले आफ्नो रोजाइअनुसार जस्तो आउटर पनि लगाउने बस्नेत बताउनुहुन्छ । आउटर सबै खालको शारीरिक बनावट भएका मोटो, पातलो, अग्लो तथा होचो महिला तथा पुरुषले पनि प्रयोग गर्न सक्छन् । पुरुषले भने सादा आउटर लगाउनु राम्रो देखिने बस्नेतले बताउनुभयो । 

फेसनविज्ञका अनुसार आउटरलाई सबैभन्दा पहिले युरोपियन देशमा फेसनका रूपमा सुरुवात भएको हो । १९५० मा पहिलो पटक सुरु भएको आउटरको फेसन बिस्तारै नेपालमा पनि निकै फेसनमा आएको फेसनविज्ञ बताउँछन् । आउटरको प्रचलन सबैभन्दा बढी कोरिया र थाइल्यान्ड हुँदै विश्वभर फैलिएको छ । नेपालमा आउटर प्रयोग हुन लागेको करिब पाँच वर्ष मात्र भएको छ । हरेक वर्ष मोडिफाई हँुदै आउटरको डिजाइन परिवर्तन हुँदै गए पनि यसको लोकप्रियता भने दिनानुदिन बढ्दै गएको छ । 

Author

यलु जोशी