काठमाडौँ, माघ ११ गते । विसं २०४४ मा सङ्गीतकार शम्भुजित बाँस्कोटाले अभिनेता भुवन केसीले गाएको ‘मायालु तिमी टाढा भइदिनाले’ बोलको गीतको भिडियो बनाएपछि नेपालमा औपचारिक रूपमा म्युजिक भिडियो निर्माणले प्रवेश पाएको मानिन्छ । केही दशकअघिसम्म फाट्टफुट्ट म्युजिक भिडियो निर्माण हुँदै आएको नेपाली साङ्गीतिक क्षेत्रमा अहिले छ्यापछ्याप्ती म्युजिक भिडियो निर्माण भइरहेका छन् । कुनै समय म्युजिक भिडियोमा चलचित्रका कलाकारको बिरलै अनुहार देखिने गरेकोमा अहिले स्थापित कलाकाले म्युजिक भिडियोमा अभियन गर्न तँछाडमछाड गरेका पाइन्छ । राजेश हमाल, करिश्मा मानन्धरदेखि लिएर पल शाह, नाजिर हुसेन, पुष्प खड्का, आँचल शर्मा, वर्षा राउत, नम्रता सापकोटा, स्वस्तिमा खड्कालगायतका चलेका कलाकार म्युजिक भिडियोमा देखिँदै आएका छन् ।
म्युजिक भिडियो निर्देशक समाजका अध्यक्ष बबिता श्रेष्ठ म्युजिक भिडियोमा कुनै मापदण्ड नबनेकाले जसले ‘जस्तो’ पनि म्युजिक भिडियो बनाउन सक्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “यहाँ म्युजिक भिडियो निर्माताहरूको चाहना अनुसार चल्छन् ।” कसले के बनायो भन्नेतर्फ कसैको ध्यान नजाने उहाँको भनाइ छ । त्यसैले म्युजिक भिडियोको क्षेत्र त्यति व्यवस्थित हुन सकेको छैन । द्विअर्थी शब्द भएका म्युजिक भिडियो बजारमा प्रशस्त सार्वजनिक भइरहेकाले कतै यसले समाजलाई गलत सन्देश त दिँदैन भन्ने आशङ्का उहाँ गर्नुहुन्छ । नेपाली सङ्घ संस्थाबिच आपसी बेमेल र बढ्दो खुट्टा तान्ने प्रवृत्तिले गर्दा यसलाई व्यवस्थित गर्न नसकिएको उहाँले स्विकार्नुभयो । म्युजिक भिडियोमा पनि सेन्सर लागु हुनु पर्छ भनेर सर्वोच्च अदालतमा रिट जाहेरी दिएको उहाँको भनाइ छ ।
करिब दुई दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका कलाकार सरोज खनालले आफूले अभिनय गर्ने म्युजिक भिडियो कथाप्रधान हुने बताउनुभयो । उहाँले भन्नुभयो, “कथाले मागे अनुसारको चरित्रमा अभिनय गर्छु, जस्तो पायो त्यस्तोमा गर्दिनँ ।” पहिलेको तुलनामा अहिले म्युजिक भिडियोको अवस्था खासै राम्रो नभएको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, “पहिला जुन हिसाबले म्युजिक भिडियोलाई दर्शकले मन पराउँथे, त्यो अवस्था अहिले छैन । नायकनायिकाका गीतका दर्शक पनि कम हुँदै गएका छन् ।” उहाँले म्युजिक भिडियो धेरै बन्न थाल्दा राम्राभन्दा पनि छाडा र बेअर्थी लाग्नेहरू हाबी हुन थालेकाले यसको महत्व घटेको हुन सक्ने बताउनुभयो । “म्युजिक भिडियोमा सेन्सर नलाग्ने भएकाले पनि यो छाडा बन्दै भएको हो कि ?” उहाँको प्रश्न थियो ।
म्युजिक भिडियो निर्देशक देवेन्द्र पाण्डे भने एकपछि अर्को म्युजिक भिडियो बजारमा आउनुलाई राम्रो मान्नुहुन्छ । म्युजिक भिडियो जहाँ बसेर जसरी पनि हेर्न सकिने भएकाले दर्शकले मन पराउने उहाँको कथन छ । “म्युजिक भिडियोमा मात्र होइन, अन्यमा पनि छाडा र बेअर्थी शब्द प्रयोग भएका छन्,” उहाँ थप्नुहुन्छ, “राम्रो भएको ठाउँमा केही हिलो अवश्य हुन्छ ।” उहाँले म्युजिक भिडियो कमाउने माध्यम भएकाले यसलाई आआफ्ना तरिकाले प्रयोग गरिएको बताउनुभयो ।