• ९ माघ २०८१, बुधबार

रङ्गमञ्चमा युवापुस्ताको आकर्षण

blog

काठमाडौँ, माघ ९ गते । नेपाली रङ्गमञ्चमा अहिले नयाँ पुस्ता आकर्षित बन्दै गएका छन् । कुनै समय नगण्य थिएटर हुँदा खासै अवसर नपाएको अवस्थामा अहिले उल्लेख्य मात्रामा खुलेका नाटकघरले गर्दा पनि युवापुस्ता यसतर्फ आकर्षित बनेका हुन् । त्यसमा पनि रङ्गमञ्चबाट उदाएका कलाकारले चलचित्र क्षेत्रमा धाक जमाइरहेकाले पनि युवापुस्ताको रुचि यसतर्फ बढेको पाइन्छ । पछिल्लो समय काठमाडौँ उपत्यकामा सञ्चालनमा रहेका नाटकघरमा नियमित जसो नाटक मञ्चन भइरहेका छन् र त्यसमा पुराना कलाकारभन्दा नयाँ पुस्ताकै वर्चस्व बढी देखिन्छ ।  

रङ्गमञ्चमा लागेका नयाँ पुस्ताको सपना भनेको रङ्गमञ्चमार्फत चलचित्र दुनियाँमा पस्ने नै भएको रङ्गकर्मी बताउँछन् । रङ्गमञ्चबाटै चलचित्रमा स्थापित अनुप बराल, अशान्त शर्मा, दिया मास्के, पशुपति राई, दयाहाङ राई, सौगात मल्ल, विपिन कार्की, बुद्धि तामाङ, नाजिर हुसेन, विजय बराललगायतको अभिनयबाट प्रभावित हुने पनि यहाँ कम छैनन् । 

पुरानाले भन्दा नयाँ पुस्ताले नै रङ्गमञ्चलाई चलायमान बनाइरहेको रङ्गकर्मी सुनील पोखरेलको भनाइ छ । उहाँ भन्नुहुन्छ, “रङ्गमञ्च अहिले नयाँ पुस्ताले नै धानेका छन् । त्यसैले पनि हामीले नयाँ पुस्तालाई ठाउँ दिनु पर्छ ।  अहिलेको पुस्ता सचेत छ र हरेक कुराको ज्ञान छ,” भन्नुभयो ।  युवापुस्तामा राजनीतिक चेत छ कि छैन भन्न अझै पनि गाह्रो छ तर हाम्रो समयको भन्दा अहिलेको पुस्ता विषयवस्तु, मञ्चन र प्रविधिप्रति निकै सचेत छन् । उहाँले थप्नुभयो, “अहिलेको पुस्ताले हाम्रो समयको भन्दा धेरै राम्ररी समाज बुझ्छ  । रङ्गमञ्चमा लागेका नयाँ पुस्ताले आफ्नो समय र समस्यासँग जुध्ने क्षमता पनि राख्छ । नाटक गर्दा कहिलेकाहीँ हामीलाई उनीहरूसँग समायोजन हुनै कठिन हुन्छ ।”

रङ्गकर्मी विजय बरालको भनाइ भने केही भिन्न छ । उहाँ भन्नुहुन्छ, “यसमा नयाँले नै सबै ठाउँ ओगटेको भन्न मिल्दैन । नयाँले पुरानाबाट नै पाठ सिक्ने हो । अहिले विभिन्न थिएटरमा रङ्गमञ्चको कक्षा सञ्चालन गर्दा पनि नयाँ पुस्तालाई रङ्गमञ्चमा छिर्न सजिलो भएको उहाँको तर्क छ । अहिले आएका नयाँ कलाकारमा रङ्गमञ्चमा काम गर्ने जोस जाँगर भने अवश्य बढेको उहाँ स्विकार्नुहुन्छ ।  

रङ्गकर्मी बुद्धि तामाङका अनुसार पहिलेभन्दा अहिले युवापुस्तामा आकर्षण बढेको हो । अहिले युवापुस्तामा सम्भावनासहितको आकर्षण बढेको छ । रङ्गमञ्चबाट चलचित्रको बाटो पनि हुने भयो । सिकाइ र रङ्गमञ्च गरेर जीवन बाँच्छु भन्ने आधार पनि देखिएको हुनाले यसप्रति मोह बढेको हुन सक्ने उहाँको भनाइ छ ।