• ६ माघ २०८१, आइतबार

पहिचान खोज्दै भुजेल

blog

सेवा, सेवारो, सेवानुङ...

राई, लिम्बू र भुजेल भाषामा अभिवादन गर्ने यी शब्दले केही समानता बोकेको पाइन्छ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा प्रकाशित प्रज्ञा पत्रिकाको ‘भुजेल भाषामा काल, पक्ष र सङ्गति व्यवस्था’ शीर्षक लेखमा डा. दानराज रेग्मीले ‘भुजेल भाषालाई पूर्वी हिमाली उपशाखाको किराँती समूहमा राख्न सकिन्छ’ भनेका छन् । सो लेखमा डा. रेग्मीले लेखेका छन्, “भुजेल भाषा नेपालमा बोलिने एउटा भोट–बर्मेली भाषा हो । तनहुँ, गोरखा, चितवन र नवलपरासी जिल्लाका विभिन्न गाउँमा बस्ने केही भुजेलले मातृभाषाका रूपमा भुजेल भाषा बोल्छन् । २०५८ सालको जनगणनाले भुजेललाई एउटा छुट्टै भाषाका रूपमा मान्यता दिएको हो ।”

उनले अगाडि लेखेका छन्, “भुजेलले आफ्नो भाषालाई ‘पुख्ग्याल् ङुर्’ र आफूलाई पुख्ग्याल् भन्दछन् । यस भाषामा ‘पुख्’ को अर्थ ‘टाउको’ अथवा ‘मुख्य’ र ‘ग्याल’ को अर्थ तिबेतीमा जस्तै ‘राजा’ हुन्छ । त्यस्तै ‘ङुर्’ को अर्थ ‘भाषा’ वा ‘बोली’ भन्ने हुन्छ । भुजेल जटिल क्रियापद भएको भाषा हो ।” कसैले यस भाषालाई घर्ती भाषा र कसैले भुझेली पनि भन्ने गरेको पाइन्छ । 

प्राडा रेग्मीले सम्पदा (२०७१, असार) मा भुजेल भाषा सीमित भाषा प्रयोग क्षेत्रमा सीमित रूपमा बोलीचालीमा प्रयोग रहेको र लोपोन्मुख भाषाका रूपमा रहेको उल्लेख गरेका छन् । भुजेल भाषाको व्याकरण (२०११ इसं) मा डा. रेग्मीले “तनहुँका भुजेल केही पहेँलो वर्णका र मगर जस्तै मङ्गोलियन कदका देखिन्छन् ।” भनेका छन् । बाबुराम भुजेल र अमृत योञ्जन तामाङको भुजेल भाषासम्बन्धी पुस्तकको भूमिकामा (२००१ इसं) पूर्णप्रकाश यात्रीले विभिन्न जिल्लामा फरक फरक थर नाममा भुजेललाई चिनिने उल्लेख गरेका छन् । 

यात्रीले बागलुङ/रुकुमतिर निसेल/भुजेल, बाजुरामा प्रनाल, बझाङमा धुलेल, हुम्लामा लिमेल, मुगुमा मुर्मी, जुम्लामा पावई र कालीकोटमा सिकारी (सहकारी) का रूपमा चिनिन्छन् भनेका छन् । यात्रीका अनुसार नेपालको इतिहासमा भुजेलको गौरवमय स्थान रहेको छ । सङ्ग्रामसुर भुजेल, रुद्रसिंह भुजेल, त्रिभुवन खवास र गगनसिंह खवासको नाम नेपालको निर्माणमा प्रशंसनीय रहेको छ ।

आर्थिक, सामाजिक, शैक्षिक र राजनीतिक दृष्टिले पछाडि परेको सीमान्तीकृत जातिका रूपमा भुजेल रहेका छन् । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन (२०५८) को अनुसूचीमा भुजेल जाति सूचीकृत छ । २०५८ सालको जनगणनामा नेपालका ५७ जिल्लामा भुजेल/घर्ती जाति फैलिएको पाइएको थियो । त्यस समय एक लाख १७ हजार ६४४ भुजेल थिए । राष्ट्रिय जनगणना २०६८ को तथ्याङ्क अनुसार एक लाख १८ हजार ६५० भुजेल रहेको देखिन्छ । तथापि आदिवासी जनजाति महासङ्घले यो तथ्याङ्कलाई अस्वीकार गरेको थियो । राष्ट्रिय जनगणना २०७८ अनुसार भुजेल/घर्ती जातिको जनसङ्ख्या एक लाख २० हजार २४५ रहेको छ । जसमा ५८ हजार ३२८ पुरुष र ६१ हजार ९१७ महिला रहेका छन् । 

पेशा, संस्कृति, पर्व, धर्म

भुजेल जातिको पेशा, पर्व र धर्मसमेत स्थान अनुसार फरक पाइन्छ । यो जातिले बाजा वा घण्टी, सूर्य, वायु, जल, जमिन र जङ्गलको आह्वान गरी पुज्ने गरेको पाइन्छ । तथापि मगर, गुरुङ, खस जातिको भाषा, धार्मिक, सांस्कृतिक प्रभाव क्षेत्रमा रहेका भुजेल जातिमा उनीहरूकै भाषा, धर्म, संस्कृतिको प्रभाव देखिएको छ । 

डा. रेग्मीका अनुसार तनहुँका भुजेल बाल्यकालदेखि नै नेपाली र भुजेली भाषामा द्वैभाषिक रहेका छन् । केही भुजेलले गुरुङ, मगर र चेपाङ पनि बुझ्ने र बोल्ने गर्छन् । भाषाप्रति उनीहरूको अगाध माया भए पनि सबै क्षेत्रमा नेपाली भाषाको प्रयोगका कारणले भुजेल भाषा प्रयोगको क्षेत्र दिन प्रतिदिन साँघुरिँदै गएको पाइन्छ । यसै कारणले समयको व्रmमसँगै यसका वक्ताको सङ्ख्या पनि घट्दै गएको छ । त्यसैले यस भाषालाई खतरामा परेको भाषाका रूपमा लिइएको डा. रेग्मीको भनाइ छ । तनहुँमा झर्रा भुजेल र घर्ती भुजेल गरी दुई थरी भुजेल पाइने डा. रेग्मीले उल्लेख गरेका छन् । 

भुजेलको परम्परागत पेशाका रूपमा बाँसको चोयाबाट विभिन्न प्रकारका घरायसी सामग्री डोको, मान्द्रो, थुन्से, नाङ्लो बनाउनु नै हो । वर्तमानमा पनि भुजेल जातिले कतिपय स्थानमा यही काम गरेको पाइन्छ । शिकारमा समेत यो जाति निपुण मानिन्छ । अहिले भुजेल जाति खेतीपाती, व्यापार, घरेलु तथा साना उद्योग र अन्य पेशामा समेत संलग्न रहेका छन् ।  

तनहुँका भुजेल जातिले मुख्य धर्मका रूपमा बौद्ध धर्म मान्ने गरेको पाइन्छ । तथापि भुजेल जातिले दशैँ र तिहार जस्ता हिन्दु चाडपर्व पनि मनाउँछन् । डा. रेग्मीका अनुसार परापूर्वकालदेखि नै मगर र गुरुङसँगै बसेकाले यिनीहरूले मगर र गुरुङले मान्ने परम्परा, संस्कृति पनि मान्ने गरेका छन् । त्यसैले उनीहरूको संस्कृतिलाई मिश्रित संस्कृति पनि भनिन्छ ।

यो जातिमा शिशुका लागि आमाको दूध प्रशस्त आओस् भनी शिशु जन्मिएपछि साललाई कपडाले बेरी दूध आउने रूपमा झुन्ड्याइन्छ । तोरीको तेलमा गाईको गोबरलाई पकाएर छानी आमालाई खुवाउने तथा त्यसपछि भाले कुखुराको रगत र मासुको झोल पकाएर खान दिइन्छ । 

बच्चा जन्मिएको छैटौँ दिनमा विशेष मानी मनाइने र नौ दिनको दिन न्वारान गरिन्छ । छोरालाई छ र छोरीलाई पाँच महिनामा भात खुवाइ गरिन्छ । बालकको नाम जन्मदिनको आधारमा राख्ने चलन रहेको यस जातिमा ज्वाइँ वा भान्जाले न्वारन गराउँछन् ।  मामाको हातबाट कपाल कटाइ गरी छेवर गरिन्छ । छेवरका लागि उमेरको कुनै छेकबार रहँदैन । 

यो जातिमा मागी, भागी र जारी विवाह प्रचलनमा रहको पाइन्छ । मागी विवाहका लागि काठको भाँडामा (कथुवा) रक्सी लिएर केटीको घरमा जाने चलन छ । त्यो भाँडोलाई केटी र केटीका बाबुआमाले पूजा गरी खोल्छन् र त्यहाँ उपस्थित सबैले रक्सी पिउँछन् । त्यसपछि विवाहको दिन तोकिन्छ । भागी विवाहमा केटीका बाबुआमाले राखेको माग केटाले पूरा गरेपछि मात्र केटीको माइतीमा बोलाइन्छ । जारी विवाहमा केटीको पहिलो श्रीमान्लाई जारीबापत पैसा तिर्नुपर्ने हुन्छ । 

डा. रेग्मीले तनहुँका भुजेलमा मामाकी छोरीलाई आफ्नो हक मानी विवाह गर्ने चलन रहेको उल्लेख गरेका छन् । तथापि भुजेल संस्कृति संस्कार अध्ययन मञ्च, नेपालको खोज तथा अध्ययन समूहले तयार पारेको ‘भुजेल जातिको चाड तथा संस्कार विधि’ मा कतिपय भुजेल संस्कार र संस्कृतिलाई समयानुकूल परिमार्जन र सुधार गरेको पाइन्छ । 

सो पुस्तकलाई आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान नेपालले प्रकाशन गरेको छ । सो पुस्तकमा भनिएको छ, “कन्यार्थ जाँदा कन्या पक्षलाई जानकारी हुनु पर्छ । पहिले–पहिले कन्यार्थ जाँदा रक्सीको बोतल वा जोडी कठुवामा रक्सी, कुखुराको भाले पोथी वा दुई ठेकी दही साथै फलफूल सुर्केपुङको रूपमा लैजाने गरिन्थो । अब त्यस्तो समय रहेन समयानुकूल फलफूल र मिठाई लिएर जाँदा नै उत्तम हुन्छ ।”

यो जातिको मृत्यु संस्कार अलि फरक छ । मृत्यु काजकिरियाका १३ दिन दुई महिनामा पर्नु हुँदैन । यस्तो अवस्था आएमा पहिलो महिनामा जति दिन रहन्छ त्यति नै दिनमा काजकिरिया सम्पन्न गर्ने चलन रहेको छ । यो जातिमा नदी किनारमा लगेर शव जलाउने वा गाड्दै दुवै चलन छ । 

भुजेल जाति प्रकृति पूजकका रूपमा समेत रहेका छन् । उनीहरूले खेतीपाती भित्र्याउनुअघि कात्तिक महिनामा भीमसेनको पूजा गर्छन् । घरभित्रै देवताको स्थान बनाई कुखुराको भाले भोग दिने गरेको पाइन्छ । वैशाख महिनामा चन्डी देवीको पूजा गर्दछन् । यस बेला घाटो नाच्ने चलन पनि छ । पुर्खाको सम्झनामा बोका र कुखुराको भाले भोग दिएर हरेक वर्ष वायु (पितृ) पूजा गर्दछन् । 

भुजेल जाति पनि रोदीमा रमाउँछन् । राँसा, भैँसीको मासु, रक्सी र रोटी तयार गरी रोदीमा बस्ने चलन यो समुदायमा पनि छ । यो सायद गुरुङ र मगर संस्कृतिको प्रभाव हुन सक्छ । रोदीमै रमाइलो, नाचगान गरी मन परेका मायालु जोडीबीच माया साट्ने र विवाह गर्ने चलन यो समुदायमा पाइन्छ । कछाड, भोटो र टोपीमा भुजेल पुरुष चिटिक्क देखिन्छन् । गुन्युचोली, पटुका र मजेत्रो लगाएर नाकको देब्रेपट्टि फुली, घाँटीमा पन्नामाला र पाखुरामा थोका लगाएका भुजेल महिला कम्ती राम्रा देखिन्नन् । पछिल्लो समय आफ्नो पोशाक र भाषा, संस्कृति र परम्पराप्रति भुजेल समुदाय सचेत र जागरुक बन्दै गएको पाइन्छ । 

भुजेलको खोजी

भुजेल संस्कृति संस्कार अध्ययन मञ्चले २०६८ सालमा भुजेल जातिको पर्व तथा संस्कार विधि पुस्तक प्रकाशनमा ल्याएको थियो । सोही पुस्तकमा संशोधन तथा परिमार्जन गरी २०७२ सालमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमार्फत प्रकाशन गरिएको पाइन्छ । 

सो पुस्तकको सम्पादक गङ्गादेवी भुजेल छिन् । विषम भुजेल, किसन र प्रदीप भुजेलले भुजेल जातिको जन्मदेखि मृत्यु संस्कार, पितृपूजन र प्रकृति पूजनका विधि समेटेर ‘म्याहङो इम्याहङअ’ प्रकाशन गरेका छन् । त्यस्तै भुजेल समाज सेवा समिति विराटनगर महानगरपालिका समितिले प्हुगाल ङुर एवेत ओहरा (भुजेल भाषा र लिपि) पुस्तक प्रकाशन गरेको छ । भुजेल भाषा, लिपि, संस्कार, संस्कृतिका अध्येता लक्ष्मण थुसिरोङ भुजेलले भुजेल भाषा र लिपि सङ्कलन गरेका छन् । सो पुस्तकमा भाषा र लिपिको इतिहास, वर्ण, चिह्न र चलनचल्तीका नेपाली भाषाका शब्दलाई भुजेल भाषामा रूपान्तरण गरिएको छ । 

भुजेल भाषाका सन्दर्भमा प्राडा दानराज रेग्मीले भृकुटी जर्नलमा भुजेल भाषामा नामपदका व्याकरणात्मक कोटिको व्यवस्था, प्रज्ञा जर्नलमा भुजेल भाषामा काल, पक्ष र सङ्गति व्यवस्था, सम्पदा (२०७१) मा भुजेल भाषाको वर्तमान स्थिति, भुजेल भाषाको व्याकरण (२०११) लेखेको पाइन्छ ।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान नेपालद्वारा प्रकाशित (२०७२, दोस्रो सं.) भुजेल जातिको चाड तथा संस्कार विधिमा मङ्सिरे पूर्णिमा उँधौली र वैशाखे पूर्णिमा उँभौली दुवै पर्वको पूजा विधि भनिएकाले यो जाति यी दुवै पर्व मान्छन् भन्ने थाहा पाइन्छ । सो पुस्तकमा ‘भुजेल, घर्ती, खवास र यससँग सम्बन्धित जातिहरू प्रकृति–पूजक हुन्’ भनिएको छ । 

पुस्तकका अनुसार यी जातिका पुर्खाले प्रारम्भिककालदेखि नै आफ्ना परिवार, गाईवस्तु, बालीनाली र मानवजातिको रक्षाका लागि सूर्य, वायु, जल, जमिन र जङ्गलको पूजा गर्दै आएका छन् । सुरु सुरुमा सामूहिक रूपमा प्रकृति–पूजनको आयोजना गरिन्थ्यो भने पछिल्लो काल (विसं १३७२ पछि) मा आएर एकल पारिवारिक रूपमा यस पूजाको आयोजना गरिन्थ्यो । अझै पनि भुजेल धामीझाँक्री, बुढापाकाले आआफ्नो स्थानमा गोठपूजा, कुल पूजा वा वनभोजका रूपमा प्रकृति पूजा गर्दै आएका छन् तर यो प्रकृति पूजाले भुजेल पर्वको रूप लिन सकेको थिएन । त्यसलाई समयसापेक्ष बनाउँदै, सामूहिक रूप दिँदै २०६६ सालदेखि सुनसरी जिल्लाबाट भुजेली पर्वका रूपमा भव्यताका साथ मनाउने कार्यक्रमको थालनी गरिएको पुस्तकमा उल्लेख छ ।

भुजेल को हुन् ?

बागलुङ जिल्लाको ढोरपाटन क्षेत्रलाई भुजेल जातिको उद्गम थलो मान्ने गरेको पनि पाइन्छ । भुजी उपत्यका आसपासका भुजी खोला वरपर बस्ने समुदाय, त्यहाँ पाइने भोजपत्रको जङ्गल जस्ता कारणले सो क्षेत्रमा बस्ने समुदायलाई भुजेल भनिएको हुन सक्ने धारणा पनि छ । 

घर्ता खोलाको किनार र घर्ताकोटमा बस्ने घर्तीहरू, निसी खोलाको आसपासका निसेलहरू पनि भुजी राज्यमा आई रहन थालेकाले भुजी राज्यमा भुजेल, घर्ती र निसेल थर रहन गएको भनाइसमेत युक्तिसङ्गत देखिन्छ ।

विष्णु घर्ती (भनभनेली) ले हाम्रो गोरेटो (२०२०) मा भुजेल महिलाको सहभागिता र प्रतिनिधित्वको स्थिति लेखमा यस जातिका पूर्वजले सात सय वर्षअघि बागलुङको भुजीखोला तथा रुकुमको घर्ताकोट र घर्ताखोलामा बसोबास गरेको पाइन्छ भनेका छन् । 

उनका अनुसार विसं १३७२ सम्म ढोरपाटनको अर्नाकोट र देउरालीमा भुजेल राजाहरूले २२ पुस्तासम्म राज्य गरेको इतिहास पाइएको छ । यस जातिका भाषा, संस्कार, संस्कृति तनहुँ तथा नवलपरासीमा जीवन्त पाइन्छ । उनले लेखेका छन्, “अहिले अस्तित्वमा घर्ती, भुजेल, खवास, थापाघर्ती, रानाभुजेल, रोका, जिटी, जिसी, शिवभक्ति आदि थर रहेका छन् ।”

भुजेलहरू पशुचरन तथा खेतीपाती गर्दै घुमफिर गरेका स्थान नामहरू– घर्ताकोट, घर्ताखोला, भुजीखोला, भुजी उपत्यका, घर्तीछाप, घर्तीगाउँ, घर्तीकाचौर, खवासटोल, घर्तीटोल, भुजेलटारी, भुजेलधारा, घर्तीफाँट, भुजेलथान, भुजेलपानी, भुजेलमारा, भुजेलखर्क, घर्तीडाँडा, रोकाय गाउँ, रोकाचौर, भुजौली, घर्तीखोर आदिले ऐतिहासिक तथ्यलाई अझ पुष्टि पार्दछ भनी भनभनेलीले लेखेका छन् ।   

–युवामञ्च